अप्रेशन नयाँदिल्ली : स्कुल बन्द, जोरबिजोर प्रणाली लागूदेखि केन्द्र सरकारको विरोधसम्म
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ मंगलबार ०:१८:३६
१८ कार्तिक, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण त्यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् ।
जसका कारण यस वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । निर्माण कार्यहरु ठप्प छन् भने अरु दैनिक आवश्यकताका वस्तुहरुको परिपूर्तिका लागि समेत अप्ठेरो परिरहेको समाचारहरु आएका छन् । हरेक चिसो मौसमको शुरुमा जस्तै यस वर्ष पनि नयाँ दिल्लीको आकासको मौसममा खराबी देखिन आएको हो । नयाँ दिल्लीको वायु प्रदुषित भएकोले केही दिनदेखि विद्यालयहरु बन्द गरिएको बताइएको छ ।
नयाँ दिल्लीको आकासमा देखिने तुवाँलोका कारण बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरु बन्द गरिएको हो । त्यसैगरी सर्वसाधारण नागरिकहरु पनि अत्यावश्यकताका आधारमा मात्र सडक बजारमा निस्किएका छन् । यस मौसममा नयाँ दिल्लीको आकासमा यहाँका सवारीसाधनहरुको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदुषण, कृषिजन्य उद्योगहरुबाट निस्किएको प्रदुषित मात्राका कारण यस्तो समस्या उत्पन्न भएको बताइएको छ ।
यो प्रदुषणको मात्रा गएको तीन वर्षयताकै सबैभन्दा खतरनाक अवस्थामा देखिएको बताइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदुषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै यसको मापनका आधारहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार मुख्यमन्त्री केजरिवालले आफ्नो ट्वीटर अकाउन्टमा भिडियो सन्देश दिँदै भनेका छन्– परिस्थिति एकदमै खतरनाक छ, यहाँका बालबालिका मात्र नभएर सबै सर्वसाधारण नागरिकले पनि निकै अप्ठेरो महसुश गरिरहेका छन्, सबैले सहजै सास फेर्न सकिरहेका छैनन् ।
त्यहाँको प्रदुषण धेरै बढेपछि हालैमात्र सरकारले जनस्वास्थ्य संकटकाल नै लगाएको घोषणा गरेको थियो । यसका साथै दिल्लीका मुख्यमन्त्री केजरिवालको सरकारले दिल्लीका सबै विद्यालयहरु ५ नोभेम्बरसम्मका लागि बन्द गरिएको घोषणा गरेका थिए ।
दुई हप्तामात्र अघि वायु प्रदुषणको मात्रा बढ्न लागेको भनेर दिल्लीका विद्यालयहरुमा प्रदुषणबाट बच्न मास्क बाँडिएको थियो । तर मास्कले पनि थेग्न नसक्ने भएपछि यहाँका विद्यालयहरु नै बन्द गराइएको हो । केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको र श्वासप्रश्वास मा नै समस्या हुन थालेको छ । चिसो र श्वासप्रश्वासका विरामीले अस्पतालमा भीड हुन थालेको छ ।
दिल्लीको हावामा प्रदुषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा प्रदुषण हुन लागेको धेरै वर्ष भइसकेको छ ।
त्यहाँका मौसमविद्हरुले त यहाँ सास फेर्न गाह्रो भएको भन्दै दिल्ली ग्यास च्याम्बर बनेको बताएका छन् । प्रदुषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताइएको छ । भारतीय राजधानी नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्येको एक सहर नामले पहिलेदेखि नै चिनिँदै आएको थियो । उदासीन जनमानस साथै अदूरदर्शी सरकारका कारण भारतीय राजधानीका बासिन्दाको आयु वर्षेनी कम हुदै गएको हालै मात्र गरिएका अध्ययनहरुले देखाएका छन् ।
नयाँ दिल्लीमा आगामी वर्षको शुरुआतमै राज्य सभाको निर्वाचन आएको छ । तर त्यस समयका लागि चुनावी एजेण्डा नै नयाँ दिल्लीको प्रदुषणको विषय उठ्न सक्ने बताइएको छ । अहिले पनि नयाँ दिल्लीमा औद्योगिकरणको मात्रा निकै बढेको भन्दै यस प्रदुषणका लागि राजनीतिक दलहरु र सरकारले नै एक अर्कालाई दोषणारोपण गरिरहेका छन् ।
हावार्ड विश्वविद्यालयका पर्यावरणीय अर्थशास्त्रीहरुले संयुक्तरुपमा गरेको उक्त अध्ययनअनुसार देशका यस्ता सम्पूर्ण क्षेत्रमा प्रदुषण कम गर्दै वायुको गुणस्तर कायम गर्नसके त्यहाँका करोडौं बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्ने जनाइएको छ ।
यस विषयलाई गम्भीररूपमा लिन र आवश्यक सुधारका लागि काम गर्न सोमबार केही वातावरणविद्हरुको समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरिएको समाचारहरुमा बताइएको छ । त्यहाँ आगलागीका कारण बढी मात्रामा प्रदूषण देखिएको बताइएको छ । तर पनि यसको कारण आगलागी मात्र पनि नभएको अधिकारीहरुको भनाई छ ।
सवारीसाधन र उद्योगबाट निस्कने धुँवा यसको प्रमुख कारण हो । त्यसैगरी फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि नयाँ दिल्लीको आकासको हावा बढी मात्रामा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ । नयाँ दिल्लीको जनसंख्या चार करोड ५० लाख रहेको छ । भारतीय राजधानी सहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न त्यहाँको सरकारलाई निकै सकस परिरहेको छ ।
नयाँ दिल्ली सरकारले तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरेको थियो । गत वर्षका प्रतिवेदनहरुमा पटाका पड्काउँदा दिल्लीको आकासको हावा प्रदुषित भएको बताएका थिए । तर पनि यस वर्ष पटाका पड्काउन नदिए पनि कुनै प्रभाव नपरेको बताइएको छ ।
दिल्लीमा सोमबारदेखि जोर विजोर प्रणाली लागू
भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा आज बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो । सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ ।
दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदुषणलाई रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरविजोर प्रणाली लागू गर्न नागरिकहरूलाई आग्रह गरेका थिए ।
राष्ट्रिय राजधानीमा प्रदुषण बढेकोले यसमा योगदान पु¥याउन निजी सवारी साधन (कार) प्रयोगकर्तालाई पनि ‘कारपुलिङ’ गर्न पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन् । मुख्यमन्त्रीले नागरिकलाई सरकारले गरेको घोषणालाई मान्न आग्रह गर्दै हिन्दी भाषा प्रयोग गर्दै ट्वीटरमार्फत लेखेका छन्, “प्रिय दिल्लीवासीहरू, आजबाट निजी चार पाङ्ग्रे सवारी साधनका लागि जोरविजोर तथा कारपुलिङ प्रणाली कार्यान्वयनमा आएको छ ।
“आफ्नो, आफ्ना बालबालिका र परिवारको स्वास्थ्यका लागि नियमलाई पालना गरौँ । कार चढ्ने सबैले कारमा आलोपालो गरेर आफ्नो गन्तव्यसम्म पुगौँ । मित्रता, सम्बन्ध बढाऔँ । पेट्रोलको वचत गरौँ र प्रदुषण घटाऔँ ।” नियमअनुसार पालोमा नपरेका कार प्रयोगकर्तालाई पालोमा परेका सवारी धनीले सहयोग गर्न वा ‘कारपुलिङ’ गर्न सरकारले अनुरोध गरेको हो ।
दिल्लीमा ‘आम आदमी’ पार्टी नेतृत्वको राज्य सरकारले घोषणा गरेको यो कार्यक्रम आगामी दश दिन (नोभेम्बर १४) सम्म लागू गरिने छ । तर यो नियम नोभेम्बर १० आइतबारका लागि भने मान्य नहुने बताइएको छ । भारतमा आइतबार साप्ताहिक विदा दिइने भएको र विदाका दिन सवारी साधनको चाप कम हुने हुनाले सो दिन यो नियम लागू नहुने बताइएको छ ।
मुख्यमन्त्री केजरीवालले अक्टोबर १७ गरेको घोषणाअनुसार सोमबारदेखि जोरविजोर प्रणाली लागू भएको हो । यो नियम मोटरसाइकल, सार्वजनिक बस तथा अन्य ढुवानीका साधन तथा आपतकालिन सेवामा भने लागू हुनेछैन । महिलाले चलाउने गाडीलाई पनि नियम लागू नहुने बताइएको छ । सोमबार जोरविजोर प्रणाली लागू हुने तयारी भइरहँदा यसको केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) तथा प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (काङ्ग्रेस–आई) ले विरोध जनाएका छन् ।
बिजेपीका वरिष्ठ नेता तथा राज्य सभाका सदस्य विजय गोयलले दिल्ली सरकारको जोरविजोर प्रणाली आफूहरूलाई मान्य नभएको बताए । उनले प्रदुषण नियन्त्रणका लागि राज्य सरकारले चालेका कदमले नागरिकलाई दुःख हुने र यो प्रदुषण नियन्त्रणका लागि सर्वमान्य आधार नभएको भन्दै साङ्केतिक विरोधका लागि आफूले सोमबार आफ्नो जोर नम्बरको सवारी साधन चलाउने बताए। नेता गोयलले आमआदमी पार्टीको यो कदमलाई निर्वाचनमा मत तान्ने नाटककारूपमा व्याख्या गरेका छन् ।
त्यस्तै एएनआईसँग बोल्दै कांग्रेस नेता जेपी अग्रवालले राज्य सरकार राजधानीमा देखिएको प्रदुषणको समस्यालाई सही तवरले सम्बोधन गर्न विफल भएको बताए । सरकारले प्रदुषणको समस्या अत्यधिक तथा नियन्त्रण बाहिर पुग्नुमा सरकार जिम्मेवार रहेको भन्दै सरकारको आलोचना गरे । उनले समस्या समाधान गर्न अन्य राज्यका सरकारले कस्तो नीति लिएका छन् यसलाई छलफल गर्न छिमेकी मुख्यमन्त्रीहरूसहितका अधिकारीसँग बसेर रणनीति बनाउन सुझाब दिए । एजेन्सीकाे सहयाेगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार