सेनाले बनाएको सडकमा जिप व्यवसायी मालामाल, एक किलोमिटरको भाडा ३८ रुपैयाँ
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार १५:२८:१८
गङ्गराज पण्डित
२० कार्तिक, बाजुरा । बाजुराका जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ ।
उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन् । मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा रु एक हजार २०० भाडा रहेकामा कच्ची बाटोका नाममा छोटो दूरीमै खुलेआम रकम असुल्ने गरिएको उनको भनाइ छ ।
मार्तडीदेखि कोल्टीसम्म ४३ किलोमिटर बाटोमा समेत रु एक हजारदेखि एक हजार ५०० भाडा तिर्नुपरेको गुनासो यात्रुको छ । टिकट नदिने र दिए पनि कम लेख्ने तर बाँकी पैसा बाध्य पारेर तिराउने गरिएको यात्रुले बताएका छन् । कसैलाई भने राम्रो नहुने चेतावनी जिप व्यवसायीले दिने गरेका प्रहरीको दाबी छ । प्रहरी वा अरु कसैलाई भाडाबारे जानकारी दिए नबोक्ने धम्की दिने गरेकै कारण यात्रुले बाध्य भएर भनेको भाडा तिर्नुपर्ने अवस्था छ ।
कर्णाली करिडोर नेपाली सेनाले निर्माण जिम्मा लिएको छ । तत्काल यात्रुको सहजताका लागि भन्दै केही जिप सञ्चालन अनुमति दिइएको छ । त्यही मौका पारेर जिप व्यवसायीले प्रहरीलाई समेत छलेर भाडा असुल्ने गरेका छन् । जिल्लाका सबैजसो ग्रामीण सडकसँगै अन्य मार्गमा सञ्चालन हुने जिपले पनि यात्रुबाट मनोमानी भाडा लिने गरेका छन् । सडक समस्या देखाएर यात्रुलाई व्यवसायीले खुलआम ठगी गरेर भाडा असुली गर्ने गरेका छन् ।
सदरमुकाम मार्तडी–कोल्टी, मार्तडी–डोगडी, मार्तडी–घटमुनासहित कर्णाली करिडोर सडकमा पनि व्यवसायीले खुलेआम यात्रुबाट भाडा लिने नाममा बढी पैसा असुली गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र नेपाली सेनाले कर्णाली करिडोरमा प्रतिकिमी रु ११ लिने निर्णयसमेत गरेको थियो । सो मूल्य जोड्दा पिलुचौरदेखि जितेगडासम्मको रु ७१५ हुन्छ, तर यहाँ निर्णयको भन्दा तेब्बर बढी रकम असुली गर्नेकाम जिप व्यवसायीले गर्ने गरेका छन् ।
नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले सडक निर्माणमा खटिएका सेनाका इन्चार्जलाई बुझेर भाडा नियन्त्रण गर्नका लागि निर्देशन दिने बताए । कर्णाली करिडोरमा बाजुरा र कालिकोटका जिप व्यवसायीले यातायात सञ्चालन गरिरहेका छन् । चर्को भाडा असुलीसँगै क्षमताभन्दा बढी जिपको छतमा समेत गरी २० भन्दा बढी यात्रु बोक्ने गरिएका छ ।
जिपको सिटपास पाँच र कसैको नौ जना हुन्छ, तर छत पछाडि र ढोकामा झुण्डिएर बोक्ने गरेको पाइएको छ । उद्घाटनका बेला बाजुराबाट छ र कालिकोटबाट छ जिप सञ्चालनमा ल्याउने प्रशासनले निर्णय गरेको थियो । तर, अहिले उक्त सडकमा जथाभावी र मनोमानीरूपमा यातायात सञ्चालन भइरहेका छन् ।
कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लामा रहेको छ । सेनाले सो सडकको जिम्मा विसं २०७१ चैतबाट शुरु गरेको थियो । अहिलेसम्म १०७ किमीमा काम भइरहेका मध्ये ७२ किमीमा यातायात सञ्चालनमा आएको उपसेनानी शङ्कर सिलवालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार