अर्बपति व्यापारी रुप ज्योति र छोरी सूरुची हिरासतको चिसो छिंडीमा, आईजीपी खनालले देखाएका थिए सक्रियता
इन्द्र रिजाल
कात्तिक २२, २०७६ शनिबार ०:५१:२१
२२ कार्तिक,काठमाडौं । ठगी आरोप लागेका शाहीकालिन पूर्व सहायकमन्त्री एवं अर्बपति व्यवसायी डा.रुप ज्योति कंसाकारसहित छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
आज शुक्रवार अदालतले तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले सात दिने म्याद मागेको भए पनि अदालतले हाललाई तीन दिनमात्र तोकेको हो ।
नेपालबहस डटकममा ठगीकाण्ड बारे समाचार प्रकाशित भएको ४ घण्टा बित्दा नबित्दै नेपाल प्रहरीले रुप ज्योतिलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनकी छोरी सुरुचीलाई भने प्रहरीले काठमाडाैंबाटै पक्राउ गरेकाे हाे । सिंगापरबाट नेपाल आउदै गर्दा एयरपोर्टबाटै पक्राउ परेका उनीमाथि हाउजिङका नाममा ठगी गरेको गम्भीर आरोप लागेको छ ।
सिल्क एयरको बिजनेश क्लासमा बसेर काठमाडौं अवतरण गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौ प्रहरीले हिजो साँझ ८.३० बजे पक्राउ गरेको थियो । देशबाहिर रहेका उनी हिजो स्वदेश फर्कंदै गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरको टोली साँझ नै विमानस्थल पुगेको थियो ।
नेपालका ठूला व्यवसायिक घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले काठमाडौं महानगरपालिका-२६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्ललाई १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो । त्यसैका आधारमा गत वर्षको मंसिर २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
तर, ज्योति समूहले सर्वोच्च अदालतमा रिट दायर गर्दै ठगी प्रमाणित भएको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई रुप ज्योति पक्राउका लागि बाटो खुलेको थियो ।
यसरी पक्राउ परे रुपज्योति कंसाकार
काठमाडौंको पुरानो व्यवसायिक घराना मात्र नभएर पूर्व अर्थ सहायकमन्त्री रुप ज्योतिलाई पक्राउ गर्नु चानेचुने कुरा थिएन । तर ठगी, गृण्डागर्दी र अपराधीसँग कठोर कदम चाल्दै आएका आईजीपी सर्वेन्द्र खनालले यस मामलामा विशेष चासो देखाएका थिए । पैसा र शक्तिको आडमा दम्भ देखाउदै आएका अर्बपति व्यापारी रुपज्योतिलाई पक्राउ गर्न प्रधानमन्त्री तहबाटै आईजीपी खनालले स्वीकृति लिएका थिए ।
गत वर्ष मंसिर २४ मा रुपज्योतिले दायर गरेको निषेधाज्ञासम्बन्धी रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै २०७५ मंसिर २० मा काठमाडौं जिल्ला अदालतले दिएको पक्राउ अनुमतिलाई कार्यान्वयन गर्ने बाटो सहज बनेको थियो । सोही अनुसार रुपज्योतिलाई पक्राउ गर्न माथिल्लो निकायबाट स्वीकृत लिइएको फैसला कार्यान्वयन निर्देशनालय स्रोतले जनाएको छ ।
‘प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, फैसला कार्यान्वयन निर्देशनालयका उच्च अधिकारी र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसहित बसेर छलफल गर्यौं,’ स्रोतले भन्यो, ‘प्रतिष्ठित व्यापारी भएकाले प्रधानमन्त्री निवास बालुवाटारमा जानकारी गरायौं । उताबाट ग्रीनसिंग्नल पाएपछि पक्राउको योजना बनेको हो।’
माथिल्लो तहमा ब्रिफिङ तथा आदेशलगायतको सबै प्रक्रिया पूरा गरेपछि रुपज्योति कहाँ छन् भन्ने खोजी भएको थियो । खोजबिनपछि उनी सिंगापुर रहेको र बिहीबार नेपाल आउने प्रहरीले जानकारी पाएको थियो । सोहीअनुसार एयरलाइन्स र अवतरण समय थाहा पाएपछि महानगरीय प्रहरी परिसर र फैसला कार्यान्वयन निर्देशनायलको संयुक्त टोली रुपज्योतिलाई पक्राउ गर्न बिहीबार साँझ नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।
‘रुप ज्योति पक्राउ गर्ने सम्बन्धमा प्रहरी र निर्देशनालयको उच्च नेतृत्व मात्र जानकार थियो,’ स्रोतले भन्यो, ‘तलसम्म सूचना पुर्याउँदा सूचना लिक होला भन्ने डर थियो ।
यस्तो थियो नेपालबहसले उनी पक्राउ पर्नु ४ घण्टा अघि लेखेको समाचार…
शाहीकालिन मन्त्री पक्राउको तयारीमा प्रहरी !
२१ कार्तिक,काठमाडौं । ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गरेको आरोपमा शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति ग्रुपका उपाध्यक्ष रूपज्योति कंसाकारलाई प्रहरीले पक्राउ गर्न लागेको छ । काठमाडौं प्रहरी परिसरले उनलाई व्यापक खोजी गरिरहेको जनाएको छ । प्रहरीले पक्राउ गर्ने डरले उनी अहिले फरार भएका छन् ।
ठगीको आरोपमा यसअघि नै पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट हिजो सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको हो ।
यसअघि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रूपज्योतिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।
०७० सालमा कम्पनी दर्ता
नेपालका प्राय सबै ठूला व्यवसायीले घरजग्गामा लगानी गर्ने लहड चलेको बेला नेपालकै ठूलो व्यवसायिक घराना मानिएको ज्योति समूहले पनि हाउजिङमा लगानी गर्ने भन्दै ०७० सालमा ल्यान्डमार्क डेभलपर्स प्रा.लि. नामक कम्पनी दर्ता गरायो ।
चुक्ता पुँजी १० करोड १० हजार रहेको सो कम्पनीमा ज्योति समूहको ५० लाखको शेयर छ । ज्योति समूहकै अटो कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाखको शेयर लगानी छ । कुनैसमय मध्यमवर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेर बदनामी कमाएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रूपैयाँको शेयर लगानी गरेको छ ।
अग्रिम बूकिङका नाममा करोडौं ठगी
देश कै पुरानो र प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहले हाउजिङमा लगानी गर्ने भएपछि काठमाडौंका रैथानेदेखि उपत्यका बाहिरका व्यक्तिहरुले पनि ‘घर’ किन्न १० लाख रूपैयाँका दरले बैना रकम जम्मा गरी ल्यान्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो घर ‘बूक’ गरे । ज्योति ग्रुपद्वारा सञ्चालित ज्योति एन्ड कम्पनी प्रालिका सञ्चालकसमेतको जग्गामा ल्यान्डमार्क डेभलपर्स प्रालिले काठमाडौं महानगरपालिका–३ का आवासीय घरहरू बनाई बिक्री–वितरण गर्नेगरी निर्माण गर्ने सहमति भएको थियो । घरहरू निर्माण हुने भएपछि इच्छुक खरिदकर्ताहरूलाई खरिद गर्न २०७१ वैशाखमा आह्वान गरिएको थियो ।
काठमाडौं महानगरपालिका–३ जग्गामध्ये १९ नम्बर प्लटको ०–६–३–२.१६ को कायम भएको र यसको मूल्य २ करोड १४ लाख १९ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको थियो । बुकिङका लागि विज्ञापनमा बुकिङ गर्दा १० लाख रुपैयाँ दिनुपर्ने र बाँकी राजीनामा पारित गरिदिने समयमा लिने दिने, सो प्लटमा दुवै पक्षको आपसी सहमतिमा घरको डिजाइन गरी दुई वर्षभित्र घरजग्गा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइएको थियो ।
कम्पनीले प्रत्यक घर ७ आना क्षेत्रफलमा व्यवसायिक प्रयोजनसहित निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । २०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया शुरू गरेको ल्यान्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्सट्रक्सनलाई दियो । हाउजिङ तथा निर्माण क्षेत्रमा ख्याति कमाएको सीई कन्स्ट्रक्सनलाई ल्यान्डमार्कले हाउजिङ निर्माण मात्र हैन बिक्रीदेखि बूकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकार पनि दियो ।
सीई कन्स्ट्रक्सन र ल्यान्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने सम्झौता दूवै कम्पनीबीच भएको छ । सीईले हाउजिङमा हात हालेपछि हाउजिङ बूकिङ गरेका मानिसहरूले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रूपैयाँ पनि बुझाए । उक्त पैसा सीई कन्सट्रक्सनले बुझेको देखिन्छ ।
करिब २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर बूक भइसकेका थिए । तर, काम भने निकै सुस्त थियो । यसबीचमा १२ वैशाख २०७२ मा गएको भूकम्पले एक वर्षसम्म काम नै ठप्प भयो । भूकम्पको एक वर्षपछि अघि बढेको काम वि.सं. २०७४ तिर अन्तिम चरणमा पुग्यो । जब घर निर्माण भइसकेर हस्तान्तरण हुनुपर्ने बेला आयो, त्यसपछि शुरू भयो झमेला ।
यसरी भयो ठगीको घटना उजागर
कान्तिपथमा रहेको चर्चित व्यापारिक घराना ज्योति समूहले घरजग्गा कारोबारमा गम्भीर ठगी गरेको भन्दै पीडितले अदालत गुहारेपछि ज्योति समूहको ठगी प्रकरण उजागर भएको हो । काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्ललाई आवासीय घरहरू बनाउने प्लट नम्बर १९ को जग्गा बैना लिएर दुई वर्षमा बनाउने सहमति गरिएको थियो । तर, सहमतिविपरीत चार वर्षसम्म बैना लिएको जग्गामा न त घर बन्यो न त जग्गाको हक हस्तान्तरण भयो ।
ज्योति ग्रुपले आफूलाई ठगी गरेको थाहा पाएपछि घर किन्ने विज्ञेन्द्रकृष्ण मल्लले कानुनी उपचारको बाटो खोज्न थाले । सीई कन्ट्रक्सन र ज्योति समुहको विश्वासमा परेका विज्ञेन्द्रकृष्ण मल्लले सीई कन्सट्रक्सनका महाप्रबन्धक शम्भुप्रसाद फुयाँललाई बुकिङ रकम बैना बुझाएका थिए। फुयाँलले यो क्षेत्रका सबै प्लटको यसरी नै बैना लिएर घर निर्माण गरेर सुम्पेका थिए । सो प्लटमा घर बनाई दुई वर्षमा घर दिनुपर्नेमा सो जग्गामा घर नबनाई बसेपछि मल्लले पटक–पटक रूपज्योति र सीई कन्सट्रक्सनसँग घर पास गरिदिन माग राख्दै आएका थिए । कहिले नक्साको डिजाइन फाइनल हुन बाँकी त कहिले ठेकेदारसँगको सहमति हुन बाँकी भएको भन्दै रुपज्योतिले आलटाल गरिरहेको मल्लले बताए ।
चार वर्ष बितिसक्दा पनि घर निर्माण गरी नगरेपछि र हक हस्तान्तरणसमेत नभएपछि विज्ञेन्द्रकृष्ण मल्ल आफू अन्यायमा परेको भन्दै गुनासो गर्दै हिँडेका थिए । रूपज्योतिले आफू नेपालको सबैभन्दा धनाढ्य व्यापारी भएको र धेरै हल्ला गरे ठीक गरिदिनेसम्मको धम्की दिएपछि आफू उजुरी दिन बाध्य भएको उनले बताए ।
यसरी रूपज्योतिले आफ्नो जग्गामा ल्यान्डमार्कलाईसमेत झुक्याएर ठगी गरेको यकिन भएको हुँदा विपक्षीहरूलाई कारबाहीको माग गरी काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर भएको थियो । तर रूपज्योति ग्रुपले ठगी गरिसकेपछि मुद्दाबाट बच्न सर्वोच्च अदालतलाई समेत गुमराहमा राखी तथ्य लुकाएर देवानी प्रकृतिको भन्दै अदालत पुगेकोमा सर्वोच्चले उनलाई पक्राउ गर्न सक्ने गरि रिट खारेज गरिदिएको हो ।
अरू जग्गामा घर बनाउने सहमति फुयाँललाई दिने तर १९ नम्बर प्लट मात्रै बैना हुँदा आफु अनविज्ञ भएको र बेच्न नचाहेको दाबी सीई कन्सट्रक्सनले गरेको छ । तर २०७१ सालमा भएको विज्ञापनमा प्रस्टसँग फुयाँलसँग कारोबार गर्न सकिने खुलाइएको छ ।
फुयाँलले उच्च अदालतमा ज्योति ग्रुपको बदमासीका कारण समस्या भएको र विज्ञेन्द्रकृष्ण मल्ललाई अन्याय परेको बताएका छन् । फुयाँलले कम्पनीले ती सबै जग्गामा घर बनाएर बेच्ने गरी बैना गर्न अधिकार दिएको अदालतमा स्विकारेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार