ग्वाङ्जाओ उडान निश्चित भएपछि निगमलाई ठूलो सफलता
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ बुधबार ०:८:४८
१७ मंसिर काठमाडौं । छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको छ ।
लामो समयको अन्तरालपछि अन्तत: राष्ट्रिय ध्वजावाहक नेपाल ‘नेपाल एयरलाइन्स’ले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको हो । निगमले सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाङ्जाओ सिधा उडान गर्ने तयारी गरेको छ । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पुरा गरिसकेको छ ।
चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको बताइएको छ ।
निगमको ग्वाङ्जाओ उडान निश्चित भएको निगमका सह–प्रवक्ता सुलेख मिश्रले बताए । “लामो समयपछि निगमलाई ठूलो सफलता हात परेको छ, अब निगमको जहाज चीनको ग्वाङ्जाओ शहरमा उड्ने निश्चित भएको छ । चिनियाँ सिभिल एभिएसनले आजै फोन गरेर उडानको सङ्केत दिएको छ, आज साँझसम्म इमेलमार्फत औपचारिक पत्र पनि आउनेछ”, उनले भने ।
चिनियाँ सिभिल एभिएसनको सुरक्षा चासोलाई निगमले सम्बोधन गरेको थियो । चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्ष र ‘अपरेसनल मेनुअल’ लाई प्राथमिकतामा राखेर निगमलाई आन्तरिकरूपमा प्रश्न उठाएको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड र स्वीकृतिबमोजिम यी दुवै चासोको सम्बोधन गर्दै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएको थियो ।
उक्त प्रश्नको चित्तबुझ्दो जवाफ पाएपछि चिनियाँ एभिएसनले निगमलाई उडान अनुमति दिएको निगमको भनाइ छ । निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वाङ्जाओ उडानका लागि ‘स्लट’ पाएको बताइएको छ ।
यसअघि निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।
ग्वाङ्जाओ व्यवसायिक उडानका लागि निगमको कार्यकारी समितिले छिट्टै निर्णय गर्नेछ । उक्त गन्तव्यको उडानबारे निगमको सञ्चालन र आर्थिक विभागको समन्वयमा निगम कार्यसमितिले केही दिनभित्रै निर्णय लिने निगमका सह–प्रवक्ता मिश्रले बताए ।
एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि पछिल्लो समय चीन र नेपालबीच हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वाङ्जाओ उडान सुनिश्चित भएको जनाएको थियो । यो गन्तव्यमा निगमले सातामा तीन दिन उडान गर्नेछ ।
निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको छ । यसअघि निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको बताए । उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।
नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । चीनमा गन्तव्य विस्तार गर्ने क्रममा हिमालयले यही मंसिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान शुरु गरिसकेको छ । कम्पनीले चीनका अन्य थप चार गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।
निगमले जापानको नारिता उडान अनुमति पायो
निगमले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति पाएको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ सेवा पाएको छ । ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको सह–प्रवक्ता मिश्रले जानकारी दिए । निगमले नारिता उडान गर्न ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको छ । नारितामा उडान गर्ने योजना बनाएको निगमले ग्राउण्ड ह्याण्डिलिङ सेवा नपाउँदा नारिता उड्ने योजना अनिश्चित बनेको थियो ।
निगमले अहिले जापान सिभिल एभिएसन ब्यूरो ‘जेक्याब’ अन्तर्गतकै ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको जनाएको छ । धेरै व्यस्तताका कारण निगमलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिन असमर्थता जनाएको उक्त संस्थाले नेपालस्थित जापानी दूतावासको समन्वय तथा जापानस्थित नेपाली दूतावासको सक्रियतामा यो सेवा दिन सहमत भएको सह–प्रवक्ता मिश्रले बताए । उनले निगम र जेक्याबबीच हालै भएको सम्झौताले निगमले तोकेकै समयमा नारिता उडान गर्ने बताए।
नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।
गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार