आजबाट एक महिने माधवनारायण मेला शुरु
नेपालबहस संवाददाता
पुस २५, २०७६ शनिबार ०:११:३२
२५ पुष, भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएका एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको हो ।
हरेकवर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना यो मेला लाग्छ । बिहान हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अद्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिए।
यो मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ । साँखुको शालीनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ थियो । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चरण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पूजारी शर्माले जानकारी दिए।
ने.सं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उनको भनाइ थियो ।
व्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्लपूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ ।
व्रतालुहरु त्रिवेणीघाटमा महिनादिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलशयात्रामा सहभागी जनाउने परम्परा रहेको छ ।
व्रतालुले माघ शुक्लपूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ ।
राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन छ ।
स्वस्थानी व्रत एवं माघस्नानको महिमा
पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महीनासम्म यो विधिबाट व्रत गरी माघ शुक्लपूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।
सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
आफू बसेको स्थानको देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानीदेवी भनी स्कन्दपुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकीदेवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उनले भने ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग नागिनीको समेत पुनःमिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।
यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार श्रेष्ठले भने ।
यसवर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ यसवर्ष पुस २५ गतेदेखि माघ २६ गते आइतबारसम्म ३० लाख भन्दा बढी दर्शनार्थीले सहज रूपमा दर्शन गर्नसक्ने गरी तयारी गरिएको बताए । व्रतालु आज बेलुकीदेखि नै साँखुमा वासबस्न आउँछन् । बेलुकी मामधवनारायणका पूजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस
असोज ४, २०८१ शुक्रबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार