उपसभामुख शिवमायाको राजीनामा तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १३:३८:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/sibmaya-tumbahamfe_UJWF2uAqoq.jpg)
६ माघ काठमाडौं । नेकपाले सिन्धुपाल्चोक-१ बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने भएपछि उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् । नेकपाको सचिवालय बैठकले आइतबार स्थायी समिति सदस्यसमेत रहेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
सभामुख दाबी गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको बैठक अगावै राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ। यसअघि नै सभामुख उम्मेदवार तय भएपछि आफूले राजीनामा गर्ने बताउँदै आएकी उनले नेकपाले सापकोटाका बारेमा गरेको निर्णयपछि प्रतिक्रिया लिन खोज्दा उपलब्ध भने भइनन्।
यसअघि नै तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपा सचिवालयले निर्देशन दिएको थियो। तर, उनले नेकपा सचिवालयले आफूलाई निर्देशन दिन नसक्ने जिकिर गर्दै आएकी थिइन्। आफूलाई नै सभामुख बनाउन उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आग्रह गर्दै आएकी थिइन्।
अध्यक्षद्वयले आइतबार बिहान सभामुखमा पूर्वमाओवादीका तर्फबाट सापकोटालाई पठाउने निर्णय गरेपछि उपसभामुख तुम्बाहाङ्फे ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्। उनले त्यहाँ प्रधानमन्त्री ओलीलाई आफूलाई किन उम्मेदवार बनाइएन भन्ने प्रश्न गरेकी थिइन्।
सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ। संसद बैठकको अध्यक्षता गर्ने व्यक्तिले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचनको सूचना प्रकाशित गर्न निर्देशन दिनेछन्।
महन्थ ठाकुर हुनेछन् प्रतिनिधिसभा अध्यक्ष
उपसभामुखले राजीनामा दिएपछि प्रतिनिधिसभाको अध्यक्षता ज्येष्ठ सांसद महन्थ ठाकुरले गर्नेछन्। उनले सभामुख निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्मका लागि प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन्। संसद सचिवालयमा रहेको नागरिकताअनुसार राजपाका सांसद महिन्द्र राय यादव ज्येष्ठ सदस्य भए पनि उनी ठाकुरभन्दा कान्छा हुन्। त्यसैले यादव प्रतिनिधिसभामा अनुपस्थित हुनेछन् भने ठाकुरले अध्यक्षता गर्नेछन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा पनि महन्थ ठाकुरले नै अध्यक्षता गरेका थिए। त्योबेला पनि यादव बैठकमा अनुपस्थित थिए। प्रतिनिधिसभामा नेकपाको झन्डै दुई तिहाइ बहुमत छ। सभामुखमा नेकपाले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पनि नेकपाकै कृष्णबहादुर महरा सभामुख थिए। उनी निर्विरोध निर्वाचित भएका थिए।
सापकोटाका हकमा प्रतिपक्षी कांग्रेसले प्रतिद्वन्द्वी उम्मेदवार खडा गर्छ कि गर्दैन भन्ने निश्चित भएको छैन। कांग्रेस नेता रमेश लेखकले भोलिमात्रै कांग्रेसले यसबारेमा आफ्नो धारणा तय गर्ने बताए। ‘सम्भवतः भोलि संसदीय दलको बैठक बसेर यसबारेमा छलफल हुनेछ’ उनले भने।
प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार एकमात्र उम्मेदवारी परे सभामुखको प्रस्ताव सांसदले राखेको प्रस्तावमा समर्थकले बोलेपछि अध्यक्षले निर्वाचित भएको घोषणा गर्नेछ। एकभन्दा बढी उम्मेदवारी परेको खण्डमा भने उम्मेदवारका समर्थकले बोलेपछि अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नुपर्ने प्रावधान छ।
प्रतिनिधिसभा नियमावलीमा यस्तो छ सभामुख निर्वाचनको प्रक्रियाः
उपसभामुखको निर्वाचन भने नयाँ सभामुखले पदभार ग्रहण गरेपछि हुनेछ। उपसभामुख फरक दलको हुनुपर्ने र सभामुख तथा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुखको निर्वाचन पछि हुने भएको हो।
प्रतिनिधसभा सचिव गोपालनाथ योगीका अनुसार ‘सभामुख र उपसभामुख फरक-फरक दल र एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था भएकाले सभामुखले बैठक सम्हालेपछि उपसभामुखको निर्वाचन हुनेछ।’ यस आधारमा हेर्दा उपसभामुख निर्वाचन माघ १० गतेपछि मात्रै सुरु हुनेछ। तबसम्म सभामुखको निर्वाचन भइसक्ने संसद सचिवालयको अपेक्षा छ। कान्तिपुर दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार