सदनको गरिमा उच्च बनाउने सभामुखको प्रण
नेपालबहस संवाददाता
माघ १४, २०७६ बुधबार ४:२:२७
रमेश लम्साल /रासस
१४ माघ काठमाडौं । अग्लो कदका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक संस्थाको गरिमालाई थप सबल बनाउने र कुनै गुनासो आउन नदिने प्रण गरेका छन् । उनले सोमबार पद तथा गोपनियताको शपथ लिएपछि पनि सदनको गरिमा उच्च बनाउने प्रण गरेका थिए ।
आज पनि उनले आफ्नो प्रणलाई दोहो¥याएका छन्। संघीय संसद्को हिउँदे अधिवेशन गत पुस ३ गतेदेखि शुरु भए पनि सभामुख नहुँदा सदन नियमित काम कारबाहीमा प्रवेश गर्न सकेको थिएन । पटकपटक सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभामा आज पहिलो पटक नयाँ सभामुखका रुपमा सापकोटा सदन चलाउँदै थिए । सदन शुरु हुनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे। प्रधानमन्त्रीले भने, “बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको संविधान, त्यसअनुसार कानून निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, आग्रहमा अल्झने गर्नु उपयुक्त हुँदैन, सभामुख चयनमै पनि हामी विलम्ब भयौँ, अब ढिला गरिनु हुँदैन ।”
प्रधानमन्त्रीले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाए । प्रतिनिधिसभाको बैठकमा आज नवनिर्वाचित सभामुखलाई बधाई तथा सफलताको कामना गर्ने कार्यसूची थियो । एक घण्टा २२ मिनेट चलेको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताए । सभामुख सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।”
द्वन्द्वकालका मुद्दा उचाल्न खोजिएकामा आपत्ति
पूर्वप्रधानमन्त्री समेत रहेका संघीय समाजवादी पार्टीका सांसद डा बाबुराम भट्टराईले नवनिर्वाचित सभामुख सापकोटाको सफल कार्यकालको बधाइ दिँदै सभामुखको मर्यादाक्रम माथि हुनुपर्ने बताए। सभामुखको मर्यादाक्रम पछाडि राखिनु त्रुटिपूर्ण भएको उल्लेख गर्दैै उनले भने, “मर्यादाक्रमको हिसाबले राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपति माथि हुनुपर्दथ्यो । त्यसपछि सभामुखको हुनुपर्ने हो ।”
डा भट्टराईले भने, “कार्यकारिणी व्यवस्थापिकाबाट जन्मिने भएपछि जन्माउने आमा ठूलो कि बच्चा ठूलो ?” उनले राष्ट्रिय मुद्दामा सदनमा गम्भीर बहस हुनुपर्नेमा जोड दिए । उनले सापकोटामाथि केही व्यक्तिले अवाच्छित आरोप लगाउँदै मुद्दा मामिला गर्न लागेको विषयमा समेत चर्को प्रतिवाद गरे । उनले द्वन्द्वकालका एकएक मुद्दा उचाल्न खोजिएकामा आपत्ति प्रकट गरे। उनृले भने, “एउटा एउटा मुद्दा उल्ट्याएर कसलाई फाइदा पुग्छ ? व्यक्ति–व्यक्तिको मुद्दामा जाने कि समग्रमा हल गर्ने भन्ने विषय महत्वपूर्ण छ ।”
दौरा सुरुवाल सजिए
सामान्यता कोट र पाइन्ट लगाउने सापकोटा सभामुखमा निर्वाचित भएपछि सोमबार राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने क्रममा राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएका थिए । आज सदन चलाउन पनि उनले त्यही पोशाकमा उपस्थित भए । सापकोटाले राष्ट्रिय पोशाक लगाएकामा सम्मान प्रकट गर्दै बधाई तथा शुभकामना दिनेहरु पनि उत्तिकै भेटिएका थिए । राष्ट्रिय पोशाकको प्रवद्र्धन गरेरै गरिमा बचाएकामा प्रसन्नता व्यक्त गर्दै सामाजिक सञ्जालमा समेत उनको प्रशंसा भइरहेको छ ।
गत पुस ३ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको बैठक सभामुख नहुँदा ‘गुल्जार’ बन्न सकेको थिएन । जनताको दर्जनौँ एजेण्डा सदनमा बहस हुन नसक्दा ओझेल परेका थिए । सरकारको काम कारबाहीमा गुनासो गर्ने प्रतिपक्षीदेखि नागरिकको आवाज सदनमा बुलन्द हुन सकेको थिएन ।
नवनिर्वाचित सभामुखले आज दिएको मन्तव्यले थप ऊर्जा प्रदान गरेको छ । जनताका समस्या सदनमा छलफल हुन्छ, त्यहीँबाट निकास समेत निस्कन्छ भन्ने भावना समेत जागृत भएको छ । सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई उचालेर नियमित कानूनअनसार कारबाहीको माग गर्ने समूहसमेत सभामुख सापकोटाको शालिनापूर्वकको ‘इन्ट्री’ले पक्कै केही सिकाएको हुनुपर्छ ।
सदनको शीर्ष स्थानमा रहेर सापकोटाले आज दिएको अभिव्यक्ति र मन्तव्यले पनि उनको आशनप्रतिको जिम्मेवारी इंगित गर्छ । धेरैले उनलाई दिएको ‘अग्नि सर’ को उपनामलाई समेत सार्थक तुल्याएको प्रतिनिधिसभाको आजको बैठकमा अनुभूत गर्न सकिन्थ्यो ।
सभामुख सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट मात्रै पार्नुभएन आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता पनि जनाए ।
उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । उनले नेपालको परिवर्तनकामी आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहिद, घाइते योद्धा र बेपत्ता नागरिकको स्मरण गरेर आफ्नो धरातलको स्मरण गरे ।
उनले भने, “देश र जनताको सरोकारका विषयमाथि छलफल गर्न प्रयाप्त र समुचित वातावरण बनाई सभालाई जीवन्त र राख्न मेरो ध्यान केन्द्रित हुनेछ ।” उनले जनताको अपेक्षा, राष्ट्रिय चाहना अनुसार सदनलाई जिम्मेवार बनाउने प्रतिबद्धता मात्रै व्यक्त गरेनन संस्थाको गरिमा बचाउने तर्फ पनि लाग्ने उल्लेख गरे । सभामुख सापकोटाले भने, “जननिर्वाचित यस संस्थाको गरिमालाई अझ उँचो बनाउनका लागि म भगिरथ प्रयत्न गर्नेछु ।”
उनले सभाको गरिमालाई कायम राख्नका असल अभ्यास र परम्पराको समेत अनुसरण गर्ने दृढता व्यक्त गरे । उनले जोड दिएर भने, “विगतका असल अभ्यासको अनुसरण गर्दै प्रतिनिधिसभालाई सफलतासम्म पु¥याउने मेरो प्रयत्न रहनेछ । मेरा प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्ने कार्यलाई सबै दलको नेतृत्वगण र माननीय सदस्यबाट पूर्ण सहयोग प्राप्त हुनेमा म पूर्ण रुपमा विश्वस्त छु ।”
विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको निर्वाचन, संविधान निर्माण हुँदै कार्यान्वयनको प्रक्रियासमेत अगाडि बढेको सन्दर्भमा विगतमा जनयुद्धकालीन विषयलाई सम्बोधन गर्न सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोग गठन भइसकेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको सन्दर्भमा युद्धकालीन मुद्दालाई उचालेर केहीले सापकोटाको ‘तेजोबोध’ गर्न खोजेको आरोप पनि लागेको छ । त्यसोतः सापकोटाले सोमबार नै लोकतन्त्रमा सामान्य विरोध हुने भन्दै आफूमाथि उठेका प्रश्नको समयले नै जवाफ दिने स्पष्ट पारिसकेका छन् । सभामुख सापकोटाले सोमबारदेखि नै लागू हुने गरी नेकपाको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइसकेका छन्
सर्वोच्चले दिएन अन्तरिम आदेश
सापकोटालाई लगाइएको आरोपका सन्दर्भमा सर्वोच्च अदालतलेसमेत आज अन्तरिम आदेश दिएन । सर्वोच्चले भनेको छ, “२०६४ साल फागुन २२ को परमादेशको आदेशले मात्र काभ्रेपलान्चोक जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भइ अनुसन्धानको क्रममा रहेको भएपनि निज उपर साधिकार निकाय वा अदालतबाट अभियोग प्रमाणित भैसकेको देखिन आएन ।”
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशले ‘सो मुद्दामा अनुसन्धान सम्पन्न गरी अभियोजन पश्चात अदालतबाट ठहरे बमोजिम भएको अवस्थामा सापकोटा सभामुख पदमा निर्वाचित भइ शपथ लिई पदभार ग्रहण गरिसकेको अवस्थामा सभामुखको पदमा कार्य नगर्नू÷नगराउनू भनी अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन’ भन्ने आदेश दिएको छ । एक कानून व्यवसायीले सापकोटालाई सभामुखको काम कारबाही गर्न रोक लगाउनुपर्ने माग गर्दै रिट परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
झरीका कारण काठमाडौंको जनजीवन प्रभावित
असोज ११, २०८१ शुक्रबार
खुल्लामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउँदै महानगरपालिका [ फोटो फिचर ]
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार