नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १५:३७:५८
विक्रम गिरी / रासस
२२ माघ काठमाडौं । क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो ।
नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुआत गर्दैछ र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ ।
क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसीसी०बाट निलम्बन फुकुवा भएपछि पहिलोपटक सिरिज आयोजना गर्न पाएकामा क्यान अध्यक्ष चतुरबहादुर चन्द मङ्गलबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा निकै हर्षित देखिए। “निलम्नबनबाट फुकुवा भएको छोटो समयमा हामीले सिरिज आयोजना गर्दैछौँ, सबै कुरालाई बिर्सेर विश्वकपको यात्रालाई अघि बढाउँदै छौँ”, उनले भने ।
अध्यक्षसँगै क्यान महासचिव अशोकनाथ प्याकुरेल सहमत देखिए । उनले भने, “यो सिरिज हाम्रा लागि ठूलो परीक्षणका साथै अवसर हो, यसमा हामीले हरेक तरिकाले अब्बल सावित गर्नुपर्छ ।” निलम्बन फुकुवापछि क्यानसित अनेकन चुनौती रहे पनि ती सबैको सामना गर्ने अवसर सिरिजलाई लिएको प्याकुरेलको भनाइ थियो । त्रिकोणात्मक सिरिजलाई क्यान ऐतिहासिक बनाउन चाहन्छ । टिकट बिक्रीको जिम्मा नेपालयले पाएको छ । एउटा खेलको टिकट मूल्य रु २०० तय गरिएको छ ।
ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो ।
ओमानका कप्तान जिसन मक्सुद र अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रूपमा लिएका छन् । “नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्”, पत्रकार सम्मेलनमा दुवै कप्तानले एउटै स्वरमा भने । आइसिसी विश्वकप क्रिकेट लिग दुई सिरिजअन्तर्गत आजको खेलमा झण्डै २० हजार दर्शकले खेल हेर्ने अपेक्षा गरिएको छ । नेपालले २०७४ चैत १ गते एकदिवसीय मान्यता पाएको हो ।
विश्वकपको रोडम्यापको रूपमा रहेको डिभिजन दुईमा हालसम्म अमेरिकाले आठ खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले घरेलु मैदानबाट आफ्नो यात्रा शुरु गर्दैछ । तीनवटै टोलीले यो सिरिजमा चार-चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।
अहिलेसम्म अमेरिका अङ्क तालिकाको शीर्षस्थानमा छ । आठ खेल खेलेको उसले छ खेलमा जीत निकाल्दै १२ अङ्क बटुलेको छ । स्कटल्यान्ड नौ अङ्क जोड्दै दोस्रो स्थानमा, आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा, आठ अङ्कै जोडेको ओमान चौथो स्थानमा, सात अङ्क जोडेको युएई पाँचौँ तथा अङ्कविहीन अवस्थमा रहेको पपुवान्यूगिनी छैटौँ स्थानमा छ ।
नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् । ब्याटिङका लागि नेपाली टोली पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीमाथि निर्भर रहनेछ ।
नेपाली टोली मुख्य बलर शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीबिना मैदानमा उत्रनेछ । यस्तो अवस्थामा लेग स्पिनर सन्दीप लामिछानेमाथि टोली केन्द्रित हुनेछ । ललितनारायण राजवंशी र सुसन भारी पनि भरोसायोग्य बलर हुन् ।उनीहरूलाई पारस खड्का, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर र कुशल मल्लको साथ रहनेछ । सन् २०१७ पछि नेपालले पहिलोपटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेको थियो ।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवान्यूगिनीले आठ÷आठ खेल खेलिसकेका छन् ।
नामिविया र युएईले सात÷सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले पहिलो सिरिज खेल्दैछ । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् ।
उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।
पटवालको राजीनामाले दुखाएको मन
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले प्रतियोगिताको मुखैमा आएर राजीनामा दिएका छन् । उनको राजीनामाले क्रिकेट खेलाडी, क्यान पदाधिकारी मात्र नभएर क्रिकेटप्रेमीको मन दुखाएको छ । पटवालको राजीनामा खेलाडीको मनोबल घटाउने उद्देश्यले आएको क्रिकेट प्रशंसकको बुझाइ छ । पोखरा बन्द प्रशिक्षणकै क्रममा पटवालले राजीनामा दिने बताउँदै आए पनि क्यान पदाधिकारी सो कुरा सिरिजअघि सार्वजनिक नहोस् भन्ने चाहन्थे । “राजीनामा दिए पनि सिरिजअघि सार्वजनिक नभइदिएको भए हुन्थ्यो हाम्रो चाहना थियो, एक्कासि सार्वजनिक भयो, यसले सबैको ध्यान अन्यत्र मोड्यो”, खेल पत्रकारले खचाखच भरिएको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चन्दले भने, “राजीनामाले नेपालको खेल प्रदर्शनमा असर पर्दैन ।”
क्यान महासचिव प्याकुरेलले पटवालको राजीनामाबारे आइसीसी र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने बताउनुभयो । “क्यान निलम्बन हुँदा आइसीसीले प्रशिक्षक नियुक्त गरेका हो, यसबारे आइसीसी र राखेपले बोल्नुपर्छ ।” क्यान निलम्बनका बेला पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो । उनले चार महिनाअघि नै राजीनामा दिए ।
पत्रकार सम्मेलनमा पटवालको राजीनामाबारे प्रश्न तेस्र्याउँदै नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल अकमकिए । उनले पटवालले आफूहरुलाई राजीनामाबारे जानकारी गराएको तर टोलीको ध्यान अहिले पूरै सिरिजतर्फ केन्द्रित रहेको बताए।
नेपाललाई विश्वकपसम्म पु¥याउने लक्ष्य लिएका कप्तान मल्ल ओमान र अमेरिकी टोलीका कप्तानका अघिल्तिर प्रशिक्षक पटवालको राजीनामाले एकछिन अलमलमा परे । “हामी उत्साहित छौँ, घरेलु मैदानको फाइदा उठाउन चाहन्छौँ, समर्थकलाई निरास हुन दिन्नौँ”, कप्तान मल्लले भने । राखेपको पहलमा आइसीसीले पटवाललाई गत जेठमा मासिक सात हजार डलर पारिश्रमिक दिने गरी एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार