व्यवसायिक बन्दै सूदुरको डेउँडा, छलिया र हुड्के
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २१:२३:१८
११ फागुन काठमाडाैं । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध डेउडा, छलिया र हुड्के नाच हिजोआज आम्दानीको गतिलो माध्यम बन्न थालेको छ । समाजमा हुनेखानेको विवाह, व्रतबन्ध, बढाईं आदिमा देखाइने गरिएका सुदूरपश्चिम प्रदेशका प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यवसायिक बन्न थालेको हो ।
यस क्षेत्रमा आयोजना हुने विभिन्न समारोह, महोत्सव एवं महत्वपूर्ण कार्यक्रममा अहिले यी नाचको माग हुन थालेको छ । प्राचीन कथा, वीरयोद्धाका कथा तथा राजारजौटका गीतमार्फत गाइने यी गीत आधुनिकताका नाममा केही वर्षअघि हराउने अवस्थामा पुगेको भएपनि अहिले भने आकर्षण बन्दैछन् ।
आफ्नो कला देखाएर छलिया र हुड्के नाच्नेले राम्रै आम्दानी गर्न थालेका छन् । पहिले समाजका ठूलाबडा अर्थात् गाउँका मुखिया र हुनेखानेको घरमा विवाह, व्रतबन्ध आदिमा मात्र उक्त नाच देखाइने गरेकामा अहिले भने सबैका घरमा यसको माग हुने गरेको दिपायलका हुड्के नाच नाच्ने गगने नेपालीले बताएका छन् ।
उनले भने, “पहिले नाच देखाएको पारिश्रमिकबापत एक छाक खाना र एक दुई वटा लुगाफाटो पाइन्थ्यो तर अहिले भने नगद नै लिने गरेका छौँ र त्यो नगद पनि हामीले शुरुमै तोकेर जाने गर्दछौँ ।” सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा महोत्सवलगायतका धार्मिक कार्य चलेको ठाउँमा सबैभन्दा बढी छलिया र हुड्के नाचको माग आउने गरेको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताए ।
उनले भने, “विभिन्न चाडबाडदेखि शुभकार्यमा हुड्के नभई शोभा हुँदैन, अहिले त हुड्के नाच्नेलाई पहिले नै ‘बुकिङ’ गर्नुपर्छ ।” यतिमात्र नभई डोटीको दिपायल र तिखाँका हुड्के नाच्नेलाई एक महिना पहिलेदेखि नै बुकिङ गरेर सम्झौतासमेत गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले बताए। दिपायलको हुड्के नाचका लागि दिनको रु १५ हजार र छलिया नाचको दैनिक ज्याला रु १५ देखि २० हजारसम्म रकम लिने गरेका छन् । छलिया नाच प्रायः बैतडी जिल्लाका स्थानीयले नाच्ने गर्दछन् ।
डोटीको शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलेको बताए । उनले भने, “महिनामा चार÷पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए वर्षभरिको खर्च चल्छ ।” रायभानले हुड्के नाच देखाएरै दुई छोराको क्याम्पस पढाई र घरखर्च धान्ने गरेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभर माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्ने पनि व्यावसायिक बन्न थालेका छन् । विभिन्न ठाउँमा छलिया तथा हुड्के नाच्नेले क्लब गठन गरेका छन् भने उनीहरु आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् ।
गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टीकापुर, साँफेबगर महोत्सवमा छलिया नाच देखाएर रु एक लाख ५० हजार कमाएको बैतडी छलिया समूहले बताएको छ । छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाको तालमा नाच्ने तथा नाच्न नजाने चोटपटक पनि लाग्ने गरेको दिपायलका स्थानीय तथा समाजसेवी घनश्याम पाठकले बताए । “हुड्के नाचमा पुराना राजा रजौटा, वीर वीरङ्गना र देवीदेवताका जीवन गाथा गाउने गरिन्छ”, उनले भने, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाच भएकाले नजानेमा चोट लाग्न सक्छ ।”
सुदूरपश्चिममा नाचिने छलिया नाचले युद्धकला झल्काउने गर्दछ । सुदूरपश्चिम प्रदेशमा रहेका छलिया, हुड्के, चौलो भुवाँ नाचलाई व्यवसायिकतातर्फ लैजान सकिए यहाँको कला संस्कृतिलगायत नाच्नेको पनि जीवनस्तर माथि उठ्नसक्ने स्थानीय डम्बर भण्डारीले बताए । उन्ले भने, “सुदूरको संस्कृति जोगाउने र चिनाउने हो भने यी नाचको संरक्षण गर्नु जरुरी छ ।”
हुड्के गीत नेपालको सुदूरपश्चिम क्षेत्रको प्रचलित गीत हो । यसलाई सुरिलो स्वरमा तीनदेखि चार जनाले मिलाएर गाउने गरिन्छ । यो गीत खासगरी सुदूरपश्चिम प्रदेशका बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटी जिल्लामा मुख्यरूपमा गाउने गरिन्छ । हुड्के गीत अरु समयमा नभएर विषेशगरी यहाँका प्रशिद्ध मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य गर्न मिल्ने गीत हो । शिखर नगरपालिका– १ गुठेउडीका हुड्के नाच्ने हरी नेपालीले भने, “हुड्के नाच पञ्चे बाजाको तालमा गाउँदै नाचिने भएकाले यसको आफ्नै पहिचान छ ।”
यो गीत विशेषगरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकामा सिर्जित लोकप्रियता कमाएको यहाँको हुड्केले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । उक्त नाच र गीत खासगरी दशैँ, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदिमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकलरुपमा पनि गाउन सकिन्छ । सुदूरपश्चिमको हुड्के तथा छलिया नाच छिमेकी मुलुक भारतका विभिन्न ठाउँमा गाइने तथा नाचिने गरिन्छ । मान्छेको जीवनमा आउने सुखदुःखका अनुभूति, मिलन विछोड तथा पुराना राजा रजौटाले गरेका काम आदि पक्षलाई उक्त गीतले गाथाका रुपमा प्रस्तुत गर्ने गर्दछ ।
त्यसैगरी सुदूरपश्चिममा हुड्के, छलिया नाचसँगै डेउडा गीत पनि निकै लोकप्रिय बन्दै गएको छ । यहाँका पुराना डेउडा गीतहरुले हिजोआज मानिसको मन लोभ्याउने गरेको छ । यहाँका वनपाखालगायत विभिन्न ठाउँमा गाइने डेउडा गीतले सुदूरपश्चिमको कलासंस्कृति त झल्काउँछ नै यसबाहेक यो गीत यस क्षेत्रको विशेष चिनारी पनि बनेको स्थानीयवासी बताउछन् ।
डेउडा खेलबाट नै डेउडा संस्कृतिको उत्पत्ति भएको पाइन्छ । यसमा गायक गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा रहन्छन् र गीतमा सवाल जवाफ गर्ने गर्छन् । डेउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा प्रायः एक समूह युवा र अर्को समूहमा युवती भएर बस्छन् । युवा युवा र युवतीबीचको सवाल जवाफमा पनि यो खेल हुन्छ ।
यो डेउडा सुदूरपश्चिमका नौ वटै जिल्लामा खेलेको देख्न पाइन्छ । समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढङ्गले गाइने र खेलिने खेल नै डेउडा खेल भएको सुदूरपश्चिमका चर्चित डेउडा गाएका सूर्यवीरही साउदले बताए । बालकदेखि वृद्धवृद्धासम्मले उक्त डेउडा खेल्न मिल्ने र सकिने भएकाले पनि यो खेल सुदूरपश्चिममा प्रख्यात बनेको छ । डेउडा खेल गौरापर्वमा पनि खेल्ने गरिन्छ । डेउडा खेल देउडी पारेर खेलिने खेल (नृत्य) भएको केआइसिंह गाउँपालिका–६ का स्थानीय जगतबहादुर बलायरले बताए ।
झ्याउरेलगायत अन्य गीत गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने डेउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नुपर्ने हुन्छ । एक स्टेपमा खुट्टा पूरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकाले यस खेलको नाम देउडा खेल र यसमा प्रयोग हुने गीतलाई डेउडा गीत भनिएको हो ।
डेउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्तिमध्ये पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पूरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । डेउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकूद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य पनि हो । डेउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतलाका तालमा समूहगतरुपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नुपर्छ । डेउडा खेलका सहभागीले कुममा कुम जोडेर अथवा एकआपसमा पाखुरा समातेर समूहगतरुपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् ।
विभिन्न उमेर समूहका महिला तथा पुरुषले यस गीतमा छुट्टाछुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । डेउडा खेलमा विशेषगरी मायाप्रेम, विरह व्यथा, मानसिक भावको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वर प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यङ्ग्यका साथै सामाजिक उत्पीडन, विषमताजस्ता विषय डेउडामा बडो सुक्ष्मरुपले केलाएर प्रस्तुत गरिएको हुन्छ ।
सामूहिक देउडा खेल्दा डेउडीया ठूलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडा हुन्छन् । गीतको उठान गर्ने व्यक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो ९खुट्टाको ताल० मिलाएर देउडा गायन र नृत्यमा झुम्मिने गर्दछन् ।
यसरी प्रस्तुत गरिने सवाल जवाफलाई यहाँको भाषामा झिट्टा भनिने गरेको जोरायगल गाउँपालिका– ५ का डेउडीया कलाकार धनीराम नेपालीले बताए। दोहरी शैलीमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ । यसरी डेउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ ।
बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिका छुट्टाछुट्टै पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मानिस पनि एकै समूहमा घेरा बनाएर नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छे एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफमार्फत परिचय गर्ने र मायाप्रेमका गीतसमेत गाउने गर्छन् । यसकारण पनि यो गीत रोचक बन्दै गएको यसका पारखी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार