मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँने सरकारको निर्णय
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २३:०:१९
नारायण ढुङ्गाना
२२ फागुन काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ ।
विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
सिंहदरबारमा आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको दोस्रो बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोभिड–१९ नेपालमा भित्रिनसक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाइने समितिका संयोजक पोखरेलले जानकारी दिए ।
रक्षामन्त्री पोखरेलले भने, “बाहिरबाट आएकाहरुलाई व्यवस्थित र ठीक ढङ्गले जाँच गर्ने, सङ्क्रमण प्रभावित व्यक्ति भरसक आउन नदिने र जनसचेतना कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइनेछ ।” उनले बैठकमा यसअघि गरिएका प्रयासका विषयमा समीक्षा गरिएको जानकारी पनि दिए ।
छिमेकी मुलुकसहित विश्वका ८४ देशमा कोभिड–१९ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ जनामा रोग देखिएकामा तीन हजार २८५ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० जना उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी सङ्क्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा सङ्क्रमण देखिएको थियो । उनी अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनासँग सम्बन्धित काममा बढी ध्यान दिनसमेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले यसअघि नै धेरै सङ्ख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।
बजारमा मास्क अभाव हुने सम्भावना रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको समन्वयमा तत्कालै उत्पादन गर्ने विषयमा सरकार गम्भीर रहेको उपप्रधानमन्त्री पोखरेलले बताए । “सस्तोमा मास्क उत्पादन गर्न छलफल भइरहेको छ, अनुदान दिनुपर्ने विषयमा पनि राज्य गम्भीर छ”, समितिका संयोजक पोखरेलले बैठकपछि पत्रकारसँग भने, “राज्यले कुनै पनि वस्तुको अभाव हुन दिँदैन, अभाव नहोस् भन्नेमा सावधानी अपनाएको छ ।”
भारतले केही औषधि र कच्चापदार्थ निर्यातमा प्रतिबन्ध लगाएको भन्ने विषयमा पत्रकारले सोधेको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई अत्यावश्यक औषधि उपलब्ध गराउन भारत सहमत रहेको स्पष्ट गरे । महत्वपूर्ण घडीमा आपूर्तिका विषयमा केही समस्या देखिने उल्लेख गर्दै उनले आपूर्ति व्यवस्था मिलाउने र अनुगमन गर्ने विषयमा सरकार गम्भीर छ भने ।
बजारको अवस्था मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने विषयमा सरकारले यसअघि नै मुख्य सचिवको नेतृत्वमा एक्सन कमिटी गठन गरिसकेको छ । उच्चस्तरीय समन्वय समितिलाई नीतिगत निर्णय गर्ने अधिकारसमेत छ । समितिले निर्णय गरेर कार्यान्वयन गर्न एक्सन कमिटीलाई निर्देशन दिनसक्छ । चीनबाट सङ्क्रमण फैलिएको कोरोना भाइरसबाट विश्वका कुनै पनि मुलुक सुरक्षित नभएको विश्व स्वास्थ्य सङ्गठनले बताइसकेको छ । सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेको छ । विकासोन्मुख र उच्च जोखिममा रहेका मुलुकलाई विश्व बैंकले सहयोग गर्ने घोषणा गरिसकेको छ । आजको बैठकले विश्व बैंकले गर्ने सहयोग लिने निर्णयसमेत गरेको छ । बैठकले विमान कम्पनीलाई डिक्लेरेशन फाराम भर्न लगाउने, सीमा आवागमन घटाउने, थप स्वास्थ्य टोली परिचालन गर्ने तथा प्रदेश र स्थानीय तहलाई आपूर्ति व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै निकासी नियन्त्रण गर्ने, लागत सहभागितामा मास्क उत्पादन गर्ने, क्रस बोर्डर बैठक बस्ने, सीमा नाकामा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, सङ्क्रमित मुलुकमा स्वास्थ्य चेतना बढाउने, क्वारेन्टाइन भवन कायम राख्नेलगायत निर्णय भएको रक्षा मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार