गोरखनाथ मठको जग्गा पहुँचकै आधारमा अतिक्रमण, महानगरपालिकाले रोक्ने पहल गरेन
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २१:४१:४८
पूर्णप्रसाद मिश्र
२३ फागुन काठमाडौं । काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा मृगस्थली गोरखनाथ मठ गुठीबाट तैनाथी जोगीकुटी भनेर चिनिने जग्गा अतिक्रमण भएको छ ।
वरिपरिबाट मिचेर बाँकी रहेको दुई रोपनी पाँच आना जग्गामा पछिल्लो समय पाँच आना जोगीकुटीको उत्तरतर्फको जग्गा स्थानीय सुनिल कार्कीले अतिक्रमण गरी घर बनाउन थालेको मठले जनाएको छ । राजा रणबहादुर शाहको समयमा नाथ सम्प्रदायका योगीलाई बस्नका लागि जोगीकुटी नामको मठ पञ्चेधाराको उत्तरतर्फ स्थापना भएको थियो ।
शैवमार्गी नाथ सम्प्रदायका योगीलाई ध्यान, साधना गर्ने स्थलका रुपमा स्थापित गर्न गोरखनाथको मूर्तिसमेत राखिएको थियो । यहाँ पहिलोपटक नाथ सम्प्रदायका विशाखानाथले साधना गरेका थिए । जसलाई नाथ सम्प्रदायले पवित्र तीर्थस्थलका रुपमा मान्ने गरेका छन् ।
महानगरपालिका–५ हाँडीगाउँ सिट नं १०२६ को २४ को कित्ता नं ३६९ मा पछिल्लो समय दुई रोपनी पाँच आना अर्थात् ११७३.४३ वर्ग मिटर जग्गा कायम रहेको थियो । यही जग्गा पनि मिचिन थालेपछि जोगीकुटी भनेर चिनिने यस क्षेत्रको इतिहास मेटिन सक्ने खतरा देखिएको मठका महन्त योगी विश्वनाथले जानकारी दिए ।
“आनाकै रु एक करोडभन्दा बढी पर्ने जग्गा पहुँचकै आधारमा मिचिन थालेको छ, जग्गा मिच्नेलाई पटकपटक मठमा बोलाएर जग्गा नमिच्न अनुरोध गरिए पनि वास्ता नै नगरी घर बनाउन थालेका छन्, अब हामी अदालत जाने तयारी गरिरहेका छौँ”, उनले भने ।
विसं २०६७ सम्म मठको पूर्वतिरको सडक सानो थियो । २०६८ सालमा पर्खाल लगाएर सडक ठूलो बनाउँदासमेत मठको जग्गालाई एकतर्र्फी पेलिएको छ । मठको पाँच आना जग्गा मिच्ने कार्कीको घरको उत्तरतिर सडक भए पनि बाटोका लागि भन्दै मठ अतिक्रमण गरेको स्थानीयवासीले बताए ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको योगीकुटीको जग्गा अतिक्रमण हुँदा महानगरपालिका–५ ले रोक्न पहल नगरेको महन्त विश्वनाथले बताए । वडाध्यक्ष रमेश डङ्गोल आफूले जग्गा मिचिएको स्थलको स्थलगत अनुगमन गरी कानूनी सल्लाहको प्रक्रियामा रहेको बताए ।
“कार्कीले गुठी संस्थानसँग किनेको भनी भर्पाई देखाए, संस्थानसँग किनेको भने पनि स्थलगतरुपमा कित्ताकाट नगरिएकाले कानूनीरुपमा जग्गा उनको हुन सक्दैन, त्यो जग्गा मठकै हो, कानूनी सल्लाहपछि यस विषयमा हामी अघि बढ्छौँ”, उनले भने ।
यही स्थलको रेखदेखका लागि भनी विसं २०६७ मा स्थापना भएको श्री गोरखनाथ मठ तथा पञ्चेधारा संरक्षण समिति नेपालले समेत यस विषयमा नबोल्दा उदेक लागेको महन्त विश्वनाथले सुनाउछन् । समितिका अध्यक्ष महेन्द्र रेग्मी पनि त्यो जग्गा गुठीकै भएको बताउछन् ।
मठको पाँच आना जग्गा मिचेर घर निर्माण शुरु गरेको आरोप लागेका कार्की भने आफूले घर बनाउन लागेको नभई फलामको खम्बा राखेर तार जालीले घेर्न लागेको बताउछन् । “विसं २०३० मा मेरी आमा उमादेवी कार्कीले योगी नरहरिनाथसँग पाँच आना जग्गा किन्नुभएको हो, यो कागजात मैले गुठी संस्थान शाखा कार्यालय काठमाडौँ शाखा र वडा कार्यालयमा पनि पेश गरेको छु”, उनले भने ।
रणबहादुर शाहको पालामा बनेको कुटी कमाण्डर इन चिफधीरशम्शेरका पालामा जीर्णोद्धार गरिएको मठमा रहेको शिलापत्रमा उल्लेख गरिएको ‘हाँडीगाउँ ः एक परिक्रमा’ पुस्तकमा लेखक डा यज्ञनाथ आचार्यले उल्लेख गरेका छन् । कुटीको अचल सम्पत्तिका रुपमा वरिपरि धेरै जग्गा भए पनि मिचिएर सीमित हुन पुगेको प्रसङ्ग पनि उनले पुस्तकमा लेखेका छन् ।
नाथ सम्प्रदायका योगी नरहरिनाथ विसं २०१५ र २०१६ मा यही कुटीमा बसेका थिए । यहाँपछि उनि पशुपतिस्थित मृगस्थलीको गोरखनाथ मठमा गएर बसेका हुन् । यसै कारण हाल पनि मृगस्थलीस्थित गोरखनाथ मठ र यहाँको कुटीबीच राम्रो सम्बन्ध छ । कुटीको रेखदेख एवं योगीको व्यवस्था मृगस्थलीस्थित गोरखनाथ मठबाट नै हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार