प्राधिकरणले दिने अनुदान नपाउँदा : भूकम्प पीडितको काँधमा ऋणको बोझ
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १८:४३:५८
२८ फागुन, काठमाडौं । वर्षौ बित्दासमेत यहाँका भूकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचीकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताएका छन् ।
एकमुष्ट रु तीन लाख अनुदान पाउनुपर्नेको सङ्ख्या जैमिनी नगरपालिका वडा नं १ र २ मा धेरै छ । त्योबाहेकका ६८ बनिसकेका घरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदान पाउन कठिन भएको छ । विशेष गरेर प्राधिकरणले प्राविधिक पठाउनुअघि बनेका घरले अनुदान पाएका छैनन् । सूचीकृत भएर पहिलो किस्ता पाएका केही र दोस्रो किस्तासमेत पाएका धेरैको तेस्रो किस्ताको रकम रोकिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङले जनाएको छ ।
अनुदान नपाउनेले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । “पालमुनी कहिले पानी कहिले चिसो, केटाकेटी त जोगाउनै प¥यो भनेर ऋण गरी घर बनाइयो”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम लम्सालले भने, “कसैको आशा थिएन्, सरकारले हेर्ला भन्ने त थियो ।” सरकारले उनीहरुको घर निर्माण गर्ने बेलासम्म पुनःनिर्माण प्राधिकरण गठन गरिएको थियो तर काम शुरु भएको थिएन ।
घर बनाएर सकेको भोलिपल्टै मजदुरी गरी ऋण तिर्ने काममा लागेका लम्साल र नेपाली जस्ता कयौँले अझै ऋणको भारी बोकिरहेका छन् । सरकारले निजी निवास पुनःनिर्माणको लागि अनुदान दिने घोषणा ग¥यो । सोहीअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएर काम चलिरहेको छ । तर उनीहरु जस्तै कयौँ पीडितले भने राहतभन्दा धेरै पीडा भोग्दै आएका छन् । पहिले सरकारले खटाएका प्राविधिकले जाँच गरेर सिफारिस भएका घरलाई मात्रै अनुदान दिने भनिएकाले उनीहरुका घर सरकारले बनाएको कार्यविधिमा परेका थिएनन् ।
वास्तविक भूकम्प पीडित भएकाले पीडितको सूचीमा सूचीकृत भएर पहिलो किस्ताको रकम मात्रै त्यस्ता घरले पाएका थिए । “प्राविधिकले सिफारिस गरेअनुसार घर बनाउनुपर्ने भन्ने कुरा आयो, हाम्रो घर त बनिसकेको थियो”, लम्सालले भने, “पछि पहिलै बनेका घरले पनि एकमुष्ट पाउने भन्ने सूचना आएकाले प्रक्रिया पूरा गरेर गयौँ तर रकम पाइएको छैन ।” निजी आवास पुनःनिर्माणको अनुदानका लागि धाउदा समयको बर्बादी मात्रै भएको लम्साल बताउछन् । उनीहरुले अहिलेसम्म दोस्रो र तेस्रो किस्ताको रकम पाएका छैनन् । जैमिनीमा मात्रै ४२ परिवारले प्राविधिक आउनु पूर्वनै घर बनाएको भनेर निवेदन दिएका छन् तर एकमुष्ट आउने भनिएको रकम अहिलेसम्म आएको छैन ।
राष्ट्रिय पुनःनिर्माण निर्देशक समितिको विसं २०७५ माघ ३ गते बसेको बैठकले पहिले नै घर बनाएकालाई थप समस्यामा पारेको छ । निर्णयको १ नम्बर बुँदामा उल्लेख भएको व्यवस्थाअनुसार जिल्लाभरका ६८ पीडित परिवारलाई रकम उपलब्ध गराउन नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइका स्रोतव्यक्ति विक्रम सापकोटा बताउछन् ।
उनका अनुसार, प्राविधिक आउनुपूर्व घर बनाइसकेका ३७७ परिवारले एकमुष्ट रु तीन लाख भुक्तानी पाएका छन् । “निर्णयअनुसार कार्यविधि बनेको छ, कार्यविधिले रोकेको कुरा हामीले गर्न मिलेन”, सापकोटाले भने, “बाँकी पीडितको अवस्थाबारे रिपोटिङ भएको छ, माथिबाटै निर्णय होला ।” अनुदानको भुक्तानी लिएकामध्ये अधिकांश प्राविधिक पुग्नु अगावै घर बनाएका तर प्राविधिककै सिफारिसमा दोस्रो किस्ताको रकम पाएका छन् ।
पीडितहरु प्राविधिकको लापरवाहीका कारण आफूहरुले पाउने रकम रोकिएको बताउछन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले भने, “प्राविधिक र जनप्रतिनिधिले मनलाग्दी गरेका कारण हामीलाई थप पीडा आइलाग्यो ।” आशा देखाएको अनुदान नपाउदा आफूहरुलाई थप पीडा भएको उनीहरुको गुनासो छ । जिल्ला कार्यान्वयन एकाइले भने प्रक्रिया पूरा भएका कसैको पनि अनुदान नरोकिएको जनाएको छ । “यसवर्ष बजेट नपुगेकाले प्रक्रिया पुगेकाको पनि रकम पठाउन सकिएको छैन”, एकाइका सूचना अधिकारी चुर्णबहादुर कार्कीले भने, “दोस्रो किस्ता पाउनुभनेको प्राविधिक हिसाबले पास भएरै पाउनु हो, भवनले के कसरी काम गरिरहेको छ थाहा भएन ।”
चालू आवमा बागलुङमा निजी निवास पुनःनिर्माणको लागि मात्रै रु १२ करोड बजेट थियो । जिल्लामा सूचीकृत भएका दुई हजार ६३१ पीडित छन् । पीडितमध्ये दुई हजार २२६ ले पहिलो किस्ता, एक हजार ५९९ ले दोस्रो किस्ता र एक हजार ३२९ ले तेस्रो किस्ताको रकम पाएका छन् । पूर्णक्षति नभएर प्रवलीकरण गर्नुपर्ने १६१ परिवारमध्ये हालसम्म ८७ परिवारले सम्झौता गरेर पहिलो किस्ता लगिसकेको कार्कीले जानकरी दिएका छन् । दुई जनाले दोस्रो किस्ताको रकम पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार