मानवरहित हुँदै बागलुङ सडक
नेपालबहस संवाददाता
चैत १, २०७६ आइतबार ०:३०:३७
१ चैत, बागलुङ । मानवसेवा आश्रम बागलुङका अभियन्ता गत मङ्गलबार राति ‘सडक सेवा’ मा निस्किए । आश्रमका अभिभावकसहितको टोलीले बागलुङ बजारका सडक, चोक र गल्ली चहा¥यो ।
‘सडक सेवा’ को उद्देश्य थियो, सडकमा अलपत्र दिन दुःखीको उद्धार गर्नु । त्यो रात कोही पनि बेवारिसे अवस्थामा सडकमा भेटिएनन् । कसैलाई उद्धार गर्नुपरेन । आश्रमका संयोजक सुमिरा लामाका अनुसार मदिरा सेवन गरेर सडकपेटीमा सुतेका केही मजदूर भने फेला परे । उनीहरुलाई सम्झाइ बुझाइ गरी टोली आश्रम फर्कियो ।
“दुःख पाएर सडकमा बसेको, सहाराविहीन कोही पनि भेटिनुभएन”, संयोजक लामाले भने, “यो हाम्रा लागि सकारात्मक पक्ष हो ।” आश्रमले काठमाडौँ, हेटौडालगायतका ठूला शहरबाट एकै दिनमा दर्जनौँ सडक मानवलाई उद्धार गरेको दृष्टान्त उनले सुनाए । आश्रमले बागलुङलाई ‘सडक मानवरहित’ बनाउन अभियान थालेको सात महिना पुग्यो । आउँदो असारसम्ममा घोषणाको तयारी छ । कालिका भगवती मन्दिर परिसरमा मागेर जीवन गुजारीरहेका सहयोगापेक्षीको उद्धारसँगै अभियान शुरु भएको थियो ।
मन्दिर परिसरलाई पनि ‘सहयोगापेक्षी सडक मानवमुक्त’ क्षेत्र घोषणा गरिएको छ । व्यवस्थापनले मन्दिरमा बसेर माग्न नपाइने नियम बनाएको छ । सडक मानवरहितको लक्ष्यमा पुग्न आश्रमले स्थानीय तह, प्रशासन र सामाजिक सङ्घसंस्थासँग हातेमालो गरेको छ । “दिनभर भारी बोक्ने, सामान झार्ने साँझ रक्सीले मातेर सडकमै सुत्ने दश जना जति बागलुङ बजारमा हुन्छन्”, संयोजक लामाले भने, “उनीहरुलाई व्यवस्थापन गर्नै गाह्रो छ, आश्रममा राख्नै मुस्किल हुन्छ ।” अर्कोपटक ‘सडक सेवा’ मा जाँदा प्रहरी प्रशासनकोसमेत सहयोग लिइने उनको भनाइ छ ।
प्रहरीको डरले मजदूरहरु मदिरा पिएर सडकमै नसुतुन् भन्ने आश्रमको चाहना छ । घरपरिवार भएका र दिनभर कमाउने मजदूर मदिराकै कारण सडकमा पुगेका हुन् । आश्रमले केही वर्षअघि उद्धार गरी पुनःस्थापना केन्द्रमा राखेर सुधारे पनि उनीहरु पुनः मदिराको दुव्र्यसनीमा फसेका छन् । बेसहारा बनी सडकमा पुगेका व्यक्तिको उद्धार र पुनःस्थापनामा आश्रम केन्द्रित छ । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने आश्रमका अभिभावक शिव खड्काले बताए । आश्रमले मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहारा गुमाएकालाई संरक्षण दिँदै आएको छ ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी अहिले ३८ जनाले आश्रय लिइरहेका अभिभावक खड्काले जानकारी दिएको छ । “कोही मानसिक सन्तुलन गुमाएका, कोही परिवार, अभिभावक गुमाएका छन्”, उनले भने “सडकमा बेवारिसे अवस्थामा हिँडेको, मागी रहेको भेटायौँ भने फकाएर आश्रममा ल्याउँछौँ ।” उद्धारका लागि आश्रमले प्रहरी प्रशासनको सहयोग लिने गरेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको संयोजक लामाले बताएका छन् ।
स्थानीय अभियानकर्मी र स्वयंसेवी युवाको पहलमा चार वर्षअघि आश्रम खोलिएको थियो । सोही वर्ष चार जना सडक बालबालिकालाई उद्धार गरी पोखरास्थित बालगृहमा पठाइएको थियो । त्यसयता सडकमा मागेर खाने, सडक पेटीमै सुत्ने कैयौँ बालबालिकालाई आश्रमले उद्धार गरेको छ । आश्रमले सहारा नपाएर अलपत्र परेका बालबालिकालाई उद्धार गरी पढाइमा समेत लगाउने गरेको छ । अहिले आश्रममा रहेका आठ बालबालिकामध्ये पाँच विद्यालय जान्छन् । उनीहरुको खर्च आश्रमले नै व्यहोर्दै आएको छ । सडकबाट उद्धार गरिएका मनोरोगीलाई आश्रममै उपचारको समेत व्यवस्था छ ।
आश्रमभित्रै छुट्टै स्वास्थ्य कक्ष निर्माणको कामसमेत अगाडि बढाइएको छ । “धवलागिरि अञ्चल अस्पतालसँग सहकार्य गरेर महिनाको एकपटक मानसिक रोग विशेषज्ञबाट सेवा दिने व्यवस्था मिलाएका छौँ” संयोजक लामाले भने । उनका अनुसार एक जना स्वास्थ्यकर्मीलाई नियमित रुपमा आश्रममै राख्ने तयारी छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बागलुङलाई सडक मानवरहित बनाउन सबै पक्षको सहकार्य आवश्यक पर्ने धारणा राखे ।
“मानवसेवा आश्रमका केन्द्रीय अध्यक्षलगायतसँग एक चरण कुराकानी पनि भएको छ”, उनले भने, “कार्ययोजना बनाएर अगाडि बढौँ भन्ने छ, यस अभियानमा सहयोग गर्न नगरपालिका तयार छ ।” जिल्ला सदरमुकामलाई सडक मानवमुक्त बनाउन सके जिल्लालाई नै ‘सडक मानवरहित’ घोषणा गर्न महत्वपूर्ण आधार तयार हुने आश्रमको बुझाइ छ । जिल्लाका अन्य बजार क्षेत्रमा सडक मानवको समस्या खासै छैन ।
अभियानमै सघाउन नगरपालिकाले अघिल्लो वर्ष आश्रमको अभिभावकत्वसमेत ग्रहण गरेको थियो । आश्रमको पूर्वाधार विस्तारका लागि नगरपालिकाले गत र चालू आवमा गरी रु आठ लाख बजेट छुट्टाएको थियो । गण्डकी प्रदेश सरकारबाट पनि आर्थिक सहायता ल्याउन पहल भइरहेको आश्रम व्यवस्थापनले जनाएको छ ।
आश्रम सञ्चालनका लागि देश विदेशमा रहेका नेपालीले स्वःस्फूर्त रुपमा आर्थिक सहयोग गर्दै आएका छन् । सरकारी, गैरसरकारी सङ्घसंस्था, निकायले पनि आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन् । जन्मदिनदेखि अन्य विभिन्न अवसरमा आश्रमलाई सहयोग गर्नेको संख्या पनि उत्तिकै छ । यसै महिना ‘गलकोट युथ ग्रुप’ले टिकटमा साङ्गीतिक कार्यक्रम राखी रु तीन लाख आश्रमलाई प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार