कठै ! यी मुसहरका बलिन्द्र आँशु धाराले छुन सकेन भूमाफियाहरुकाे मन
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १९:३९:५९
गोपालप्रसाद बराल
४ चैत, महोत्तरी । आफ्ना पराले झुप्रा रहेका बस्तीको जग्गा खाली गर्न दिनदिनै उर्दी सुन्नु परेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर चिन्तामा परेका छन् । पुस्तौ देखि बस्दै आएको जग्गा आफ्नै छिमेकका टाठाबाठाले मेरो जग्गा हो भन्दै खाली गराउन दिनदिनै उर्दी गरेपछि यस मुसहर बस्तीमा रुवाबासी चलेको छ ।
“हजुर हमर बाप दादा अही ठाम गुजरबसर कैलक, हमसभ अही ठाम जवान भेली, आब कत्त जाउ ?” (हाम्रा बाउबाजेले यसै ठाउँमा गुजारा गरे, हामी यसै ठाउँमा हुक्र्यौं, बढ्यौं, अब कहाँ जाउँ ?) सकरी पुगेका सञ्चारकर्मीको टोलीसँग बिलौना गर्दै सो बस्तीका ५० वर्षका चन्देश्वर मुसहरले भने, “हमरासबके परल ई बिपत्तिके के देखदेत ?” (हामीलाई परेको यो आपत्मा कसले मद्दत गरिदेलान् ?) ।
वर्षौवर्षदेखि मुसहरका पराले झुप्रा रहेका जग्गा सो बस्तीकै जगतनारायण मण्डल र उनका परिवारले आफुले किनेको भन्दै जग्गाधनी प्रमाण पूर्जा देखाउँदै तत्काल खाली गराउन दिनदिनै उर्दी दिन थालेपछि मुसहर बस्तीमा अब कहाँ जाने भन्ने पिरोलो बढेको हो । “हमरा गरीबके कोनो सहारा नइभेल हजुर।।।!” (हामी गरीबका कोही सहारा भएनन् हजुर।।!) सोमबार दिउँसो आफ्नै बस्तीभित्रको खाली चउरमा जम्मा भएका मुसहरको सामूहिक रोदन थियो । पछिल्ला दुई वर्षयता आफ्नै बस्तीका जगतनारायण मण्डलले झुप्रा खाली गराउन दबाब दिँदै आएपछि उठिबासको चिन्ताले पिरोलिएका मुसहररूले सञ्चारकर्मीको टोलीसँग आफ्नो व्यथा ठाउँठाउँमा पु¥याइदिन आग्रह गरेका छन् ।
“हमसभ पढलिख नईसकल मुरख छि हजुर” (हामी लेखपढ गर्न नजान्ने मुर्ख छौं हजुर) भेलामा बलिन्द्र धारा आँशु काढ्दै रामराजी सादा मुसहरले सञ्चारकर्मीसँग भने, “आब हमरासभके वात अहाँसभ ठामठाम पहुँचा दिय” (अब हाम्रा कुरा ठाउँठाउँमा तपाइँहरु पु¥याई दिनोस्) । बस्तीका मालिक (अन्य जाति समुदायका आपूmले काम गर्ने धनीलाई मुसहर मालिकको सम्बोधन गर्छन्) हरुले जवानीभरि काम खाएर बुढेसकालमा लघार्न खोजेका त्यहाँका पाका मुसहर महिलाको गुनासो छ ।
छिमेककै लोहारपट्टी (भङ्गाहासँगै सीमा जोडिएको जिल्लाकै लोहारपट्टी नगरपालिकाको लोहारपट्टी बस्ती) का जिम्दार (तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन) सुनरलाल साह र रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा (खेती गरिने ठाउँ) मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए । अहिले साहका सन्तान र नातेदारले झुप्रा रहेको जग्गा अर्कैको नाउँमा रजिष्ट्रेशन गरिदिएर घर भत्काइ दिने धम्की दिन थालेपछि सकरीका मुसहरको बसोबास सङ्कटमा परेको हो ।
आफ्नो जवानीको सारा जोश र जाँगर जिम्दारको खेतमा काम गरेर बिताएका मुसहर यतिखेर साहका सन्तान र नातेदारले झुप्रा घर भएको ठाउँ अर्कैलाई रजिष्ट्रेशन गरिदिएपछि छाँगाबाट खसेजस्ता भएका छन् । “कि करु हजुर जिम्दार साहब त अई दुनियाँ सऽ चैल गेला” (के गरुँ हजुर, जिम्दार साहब त यो दुनियाँबाट बिदा भए) सो बस्तीका श्रीकिशुन मुसहर बिलौना गर्दै भन्छन्, “आब् अखैन् हुनक् रिस्तेदारसब् हमरा सबके उठ्व चाहैछैथ ।’(अहिले आएर उनका नातेदार हाम्रो उठिवास गराउन लागिपरेका छन्) ।
लोहारपट्टीका जिम्दार स्व सुनरलाल साह र रामखेलावनले बसाएका मुसहरले घर झुप्रा बनाउँदा आफ्नो बढी जग्गा चर्चेका भन्दै सुनरलालका छोरा रामकिशोर साहले २०६५ सालमा आफ्नै जनकपुरस्थित घरमा सामाजिक छलफल गराएका थिए । छलफलपछि २५ घर आपूहरुलाई रामकिशोरकै सहमतिमा छुट्याइएको पाँच कठ्ठा घडेरीभित्र बनेका २५ घरको जग्गा अहिले अर्कैको नाउँमा पास गरिदिएपछि बिल्लीबाठको स्थिति बनेको सो बस्तीका मुसहरको भनाइ छ ।
विसं २०२२ तिर भूमिसुधार लागू भएर जग्गाको हदबन्दी लगाइएपछि साहले जग्गा बचाउन जिल्लाकै बनौलीदनौलीका नातेदारका नाउँमा नामसारी गरिदिएका सकरीका बुढापाका बताउँछन् । २०६५ सालमा भएको छलफलमा जग्गा नाउँमा हुने बिमलप्रसाद साहकै रोहबरमा पाँच कठ्ठा जग्गा आफुहरुका घर झुप्राका लागि छुट्याइएपछि बढी जग्गा छोडिदिएको सो बस्तीका मुसहर बताउँछन् ।
अहिले बिमलप्रसादले आफ्नै बस्तीका जगतनारायण मण्डललाई आफुहरुको घर झुप्रो भएको जग्गा पास गरिदिएपछि जगतले जग्गा खाली गर्न दिनहुँ हुलहुज्जत गर्न थालेका सिर्वती सादा मुसहरको भनाइ छ । “बापदादा बैसल ठाम स घर हटावलेल मण्डल कहैछैथ” (बाउबाजे बसेका ठाउँबाट झुप्रा हटाउन मण्डलका परिवार भन्छन् ।) सिवर्ती भन्छन्“थाना, चौकी आ बड्का हाकिमसभ ओसभ्के वात देखाक डटैछैथ, आब हमसभ कत्त जाउ ?” (थाना, चौकी प्रहरी र अन्य हाकिम पनि उनीहरुकै बोली टिप्छन् हजुर।।,अब हामी कहाँ जाउँ ?)
लामो समयसम्म रामकिशोरका कारिन्दा भएर सकरी बसेका बिमलप्रसाद र अहिले जग्गा आफुले किनेको भन्ने जगत मण्डल यी सबै कुराको साक्षी भएर पनि बुझ पचाउन थालेका मुसहरहरुको भनाइ छ । मुसहरको भनाइबारे जिज्ञासा माग्दा बिमलले आफ्नो नाउँमा भएको जग्गा पास गरिदिएको र जगतले पैसा तिरेर जग्गा किनेको छोटो प्रतिक्रिया दिएका छन् ।
मुसहरले अब घर खाली गरी दिनुपर्ने वा चलनचल्तीको मूल्य तिर्नुपर्ने बिमल र जगतका परिवारको एउटै भनाइ छ । जगत अहिले अवैध मदिरा भट्टी सञ्चालन गरेको आरोपमा पक्राउ भएर प्रहरी हिरासतमा भए पनि उनका परिवारजनले दिनहुँ धम्की दिने गरेको रामनारायण सादा मुसहर बताउछन् ।
यता जग्गाका वास्तविक धनी भनिएका रामकिशोर साह आफुले सहमतिमा पाँच कठ्ठा मुसहरका लागि छुट्याइदिएको भए पनि अहिले जग्गा नाउँमा हुने बिमलले अर्कैको नाउँमा पास गरिदिएकाले आफ्नो केही भन्ने, गर्ने स्थिति नभएको बताउछन् ।
सकरीमा २०२० सालताका २५/३० वर्षको उमेरमा बसेका मुसहरहरुको अहिले चौथो पुस्ताका सन्तान छन् । खेतबारीको माटो काट्ने, पुर्ने र अन्य कृषि कार्यमा पोख्त मानिने मुसहरसँग आफ्नो सम्पत्ति भन्ने केही देखिदैन । पछिल्लो समय सकरीका मुसहरविरुद्ध जग्गाको खेलो गर्ने भूमाफियाहरुको षड्यन्त्र भएको जिल्लाकै बर्दिवास–५ चेरुका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता तेजप्रसाद अधिकारी बताछन् ।
अधिकारीले भने,“२०६५ सालतिर जग्गाधनी रामकिशोरजी, जग्गा नाउँमा हुने बिमलजी र अहिले जग्गा लिने जगतजीसहितको सहमतिमा २५ घर मुसहरलाई पाँचकठ्ठा जग्गा छुट्याइएको हो ।” आफ्नो जग्गामा बसाएबापत चार पुस्तादेखि मुसहरलाई काम गराएर अहिले षड्यन्त्रपूर्वक उनीहरुको बस्ती उठाउन खोज्नु सामाजिक न्यायविपरीत भएको अधिकारीको थप भनाइ छ ।
आफुहरुको दुःख पुकारा सुनेर पराले झुप्राका ठाउँमा पक्की घर बनाइ दिने पहलकदमीका लागि कतिपय संस्थाका प्रतिनिधि आए पनि झुप्रेबस्ती भएको ठाउँ अर्कैको नाउँमा दर्ता रहेको बुझेपछि त्यत्तिकै फर्कने गरेका सकरीका मुसहर बताउँछन् । बेसहारा आफुहरुको अवस्था बुझेर पहलकदमी लिइदिन त्यहाँका मुसहरको सबैसँग पुकारा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार