त्रसित भएर खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित नगर्नुस
नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार १:५६:२१
प्रकाश सिलवाल
६ चैत्र, काठमाडौं । सरकारले कोभिड १९– को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ ।
नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिने भन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो ।
कोभिड १९– सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा आज सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सञ्चारकर्मीसँग पछिल्लो वस्तुस्थितिबारे जानकारी दिई कोरोना भाइरसप्रति सचेत भई आम जनतालाई सुसूचित गर्न आग्रह गरे ।
‘नून र चिनीको अभाव छैन’
आपूर्तिमन्त्री भट्टका अनुसार आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको छ । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने पनि जानकारी दिए ।
चीनको वुहान प्रान्तबाट ५७ दिनअघि फैलिएको कोभिड– १९ बाट विश्वका धेरै मुलुक प्रभावित भए पनि नेपालमा हालसम्म यसको सङ्क्रमित भेटिएका छैनन् । तर विश्व स्वास्थ्य सङ्गठन र अन्य निकायको विश्लेषणमा दक्षिण एशियामा सङ्क्रमणको जोखिम हुनसक्ने जनाएपछि सरकारले विशेष सतर्कताका अपनाउन तयारी गरिरहेको छ । सरकारले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय गरेको थियो ।
कालोबजारीलाई कारवाही
मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारवाही गर्न चेतावनी दिएको जानकारी दिए ।
उनले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसूरमा कारवाही गरी रु ५६ लाख जरिवाना असुल गरिएको बताए । मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इण्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने स्पष्ट गरे ।
औषधि पसलहरुले जति माग्यो त्यति मात्रामा दिने प्रक्रियाका कारण सिटामोलको माग बढेको उल्लेख गर्दै आवश्यकतानुसार माक्स र सेनेटाइजरको आपूर्ति बढाइएको जानकारी दिए । मन्त्री भट्टले विपद्को अवस्थामा सञ्चारमाध्यमले आम जनतालाई सुशिक्षित र सुसूचित गराउन भूमिका खेल्नुुपर्नेमा पनि जोड दिए ।
प्रभावित पर्यटन क्षेत्रलाई राहत दिइने
अर्थमन्त्री डा खतिवडाले कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रकिङ तथा हस्तकला जस्ता क्षेत्र बढी प्रभावित भएको जनाउँदै जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिजनमा पनि पर्यटक ल्याएर क्षतिपूर्ति गराउन गृहकार्य भइरहेको जानकारी दिए । उनले पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको स्पष्ट पारे ।
मुलुकको कूल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र भएकाले पर्यटन क्षेत्रमा देखिएको असरका कारण समग्र आर्थिक क्षेत्रमा ठूलो मात्रामा असर नपर्ने स्पष्ट गरे ।
मूल्यवृद्धि घट्दो
मन्त्री डा खतिवडाले भाइसरको जोखिममा मानिसको ज्यान बचाउनुपर्ने भएकाले विश्व श्रम बजारमा जान रोक लगाइएका नेपाली श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आएमा रोजगारी दिने बताए । उनले वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा कमीका कारण तत्काल बैँङ्कििङ क्षेत्रमा नकारात्मक असर नपर्ने पनि बताए । उनले भने, “हामीसँग करिब ७० अर्बको बैँङ्कििङ लगानी गर्नसक्ने स्थिति छ । मूल्यवृद्धि क्रमशः घट्दो दरमा छ । उद्योग क्षेत्रमा चार प्रतिशतले आयात वृद्धि भएको छ । चीनतर्फको नाकाबाट सामान ल्याउनमा केही समस्याका कारण स्याउ र लसुनको भाउ बढेको भए पनि चीनका नाकामा रोकिएका मालसामानका कन्टेनरलाई रोकिएको १४ दिन नेपालतर्फ ल्याउनेतर्फ पहल भइरहेको छ । त्यसकारण विषम समस्या आउँछ भन्ने अवस्था छैन । कुनै भ्रमित हुनुपर्दैन ।”
सरकारी र गैह्रसरकारी स्वास्थ्यकर्मी परिचालित
नेपाल सरकारका प्रवक्ता मन्त्री खतिवडाले कोभिड–१९ को जोखिमप्रति पूर्व तयारीलाई चुस्तदुरुस्त राखिएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तीनबाट सर्न सक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म मुलुकका कुनै पनि व्यक्तिमा भाइरस नदेखिएर नेपाल बच्न सफल भएको बताए । हाल नेपाल र छिमेकी मुलुकका १४१ नाकामा स्वास्थ्य परीक्षणको प्रबन्ध गरिएको छ ।
मन्त्री खतिवडाले सरकारी र गैह्रसरकारी क्षेत्रका स्वास्थ्यकर्मीलाईसमेत स्वम्सेवकका रुपमा परिचालन हुन आग्रह गरिएको र कोभिड– १९ को रोकथाम र उपचारका लागि आवश्यक पर्ने उपकरणका लागि छिमेकी मुलुक र अन्य मुलुकबाट सहयोग लिन थालिएको जानकारी दिए । उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद बिडारीले हाच्छ्युँ आउँदैमा कोरोना जाँच गर्नु नपर्ने जनाउँदै त्यसरी जाँच गर्दा स्रोतको सदुपयोग नहुने बताए ।
उनले हालसम्म नेपालमा आशङ्कितमध्ये करिब ५०० लाई कोरोना भाइरसको जाँच हुँदा नेगेटिभ पाइएको जानकारी दिए ।सो अवसरमा सञ्चारकर्मीले एकीकृत र छिटो सूचना प्रवाह गर्न, स्थानीय तहसम्म समन्वय बढाउन, सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट जनचेतनामूलक समाचार वृद्धि गर्न, जाँच गर्ने स्थल बढाउनेलगायत सुझाव दिएका थिए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार