मेगा बैंकमा लगानीयाेग्य रकमकाे अभाव, खराब कर्जामा बृद्धि, लाभांश अन्तिम चाैथाेमा
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
चैत १०, २०७६ सोमबार १९:३१:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/mega-bank-ceo-chairman_iKT0b3Dxai.jpg)
१० चैत्र, काठमाडौँ । मिडियामा आफु र आफ्नो बैंकलाई प्रशंसा गर्दै आएको मेगा बैंकको उच्च व्यवस्थापनले बाहिर देखाउने र चपाउने दाँत भने फरक पाइएकाे छ । राष्ट्र बैंकको नियम अनुरुप बैंककाे स्प्रेडदर घटाउदै लानुपर्नेमा उल्टो बैंकले स्प्रेडदर वृद्धि गर्दै मुनाफा कमाउनमा केन्द्रित भएको उसैले सार्वजनिक गरेकाे वित्तीय विवरणमा देखिन्छ ।
बैंकको सीसीडी रेसियाे (पुँजी तथा निक्षेपमा कर्जाको अनुपात) ८० प्रतिशतकै नजिक रहेको छ । यसबाट बैंकलाई थप कर्जा प्रवाह गर्न समस्या पर्ने देखिएकाे छ । बैंकको खराब कर्जा पनि वृद्धि भएकाे छ । असार मसान्त र दोश्रो त्रैमासको तथ्याङ्क दाँजेर हेर्दा बैंकले साधारण ग्राहकबाट गरिने निक्षेप संकलन र साधारण ग्राहकतर्फको कर्जा प्रवाह एकदमै सुस्त छ। वित्तीय हिसाबमा निकै सबल रहेको गण्डकी विकास बैंकलाई मेगा बैंकमा गाभ्ने प्रक्रिया चलिरहँदा गण्डकी विकास बैंकका साधारण शेयरधनी भने खासै खुशी छैनन् ।
बेला बेला विवाद र चर्चामा आइरहने यो बैंकको संचालक समितिको अध्यक्षमा भोजबहादुर शाह रहेका छन् । उनी प्याव्सनका पूर्वअध्यक्ष पनि हुन् । त्यस्तै संचालक समितिको सदस्यहरुमा गोपाल खनाल, मदनकुमार आचार्य, मुक्तिनाथ पाण्डे, डा. इन्द्रबहादुर मल्ल ठकुरी, बालकृष्ण शिवाकोटी रहेका छन् । त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली रहेकी छन् । त्यस्तै रविना देशराज श्रेष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र तुलसीराम पोखरेल बैंकको नायब महाप्रबन्धककाे रुपमा कार्यरत छन् ।
बैंकका ठुला शेयरधनीहरु:
मेगा बैंकमा ठुलो शेयर हिस्सा भएका निकै थोरै शेयरधनी रहेका छन् । कम्पनीको २०७६ साल असार मसान्तसम्मको तथ्याङ्क अनुसार ० दशमलव ५ प्रतिशत वा सो भन्दा माथि शेयर स्वामित्व भएका जामा ५ शेयरधनी रहेका छन्। जसमा नागरिक लगानी कोषको नाममा १० लाख ४९ हजार ४२ कित्ता शेयर रहेको छ । जुन १ दशमलव ०१ प्रतिशत शेयर स्वामित्व मात्र हो । यसरी बैंकमा धेरै शेयरधनी भएपनि शेयर हिस्सा भने निकै थोरै रहेको छ।
बैंक उच्च व्यवस्थापनले बाहिर जति नै हल्लाखाेर मार्केटिङ्ग गरेपनि मेगा बैंकका लगानीकर्ताले भने खासै आकर्षक लाभांश प्राप्त गर्न सकेका छैनन् । बैंकले आर्थिक वर्ष ०७५/७६ को साधारणसभा सम्पन्न गर्दै जम्मा ११ दशमलव ७५ प्रतिशत नगद लाभांस वितरण गरेको छ । बैंक उच्च व्यवस्थापनले मेगा बैंक ठुलो बैंकसँग प्रतिष्पर्धा गर्दैछ जस्ता अभिव्यक्ति सार्वजनिक भएपनि लगानीकर्ताले भने अन्य बैंकको तुलनामा निकै थोरै लाभांश प्राप्त गरेको देखिन्छ । देशका २७ वटै वाणिज्य बैंकले आर्थिक वर्ष ०७५/७६ को लाभांश घोषणा गरेको अवस्थामा मेगा बैंक अन्तिमबाट चौथो स्थानमा आउँछ । अर्थात मेगा बैंक २७ मध्ये २३ औं स्थानमा रहेकाे छ ।
लगानीकर्ताले खासै आकर्षक लाभांश प्राप्त नगरेपनि प्रमुख कार्यकारी अधिकृतले भने करोड माथि तलब खादै आएको तथ्य देखा परेको छ । प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले वार्षिक तलव १ करोड २ लाख, दशैँ भत्तामात्र ८ लाख ५० हजार र इन्धन शुल्क वापत ३ लाख ९३ हजार बैंकबाट लिएकाे देखिएको छ ।
कस्तो आयो दोश्रो त्रैमासकाे वित्तीय प्रतिवेदन ?
खुद मुनाफामा सामान्य वृद्धि :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ९५ करोड २ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको साेही अवधिमा कम्पनीले ७३ करोड २० खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा ३० प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा २० प्रतिशतको वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ७८ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १३ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा २० प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै, संचालन मुनाफा ३१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ३ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी १९ रुपैया नजिक:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ २९ पैसा हुन् आउँछ ।
नोट : चैत्र ९ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १२७ रुपैयाँ २५ पैसा आउँछ ।
निक्षेप, कर्जामा कस्तो ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८० अर्ब २१ करोड निक्षेप संकलन गरी ७४ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन २ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि भएको छ । यसरी व्यक्तिगत ग्राहकबाट निक्षेप संकलन र कर्जा प्रवाहमा बैंक निकै सुस्त रहेको छ ।
नोट : निक्षेप र कर्जाको तथ्याङ्क लिँदा साधारण ग्राहकको तथ्यांक मात्र लगिएको ।
जगेडा कोष स्थिर, संचित मुनाफा घट्यो :
जगेडा कोष थोरै घट्दै १ अर्ब ८९ करोड छ भने संचित मुनाफा २३ प्रतिशतले कम हुँदै ९३ करोड ५५ लाख पुगेको छ ।
स्प्रेडदर ५ प्रतिशत माथि :
व्याजदर अन्तर ५ प्रतिशत भन्दा माथि छ । बैंकको प्रकाशित स्प्रेडदर ५ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षकाे सोही अवधिमा स्प्रेडदर ५ दशमलव २५ प्रतिशत थियो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई असार मसान्त सम्म ४ दशमलव ४० प्रतिशत स्प्रेडदर कायम गर्ने नियम आएसँगै अब मेगा बैंकलाई स्प्रेडदर घटाउन चुनौति थपिएको छ। स्प्रेडदर वृद्धि गरेर मुनाफामा आकर्षक वृद्धि गरेको बैंकलाई स्प्रेडदर कम गर्दै लाने चुनौती थपिएको छ।
सीसीडी अनुपात ८० नजिकै :
बैंकको सीसीडी अनुपात ७९ दशमलव ८५ प्रतिशत रहेको छ। यसबाट बैंकसँग थप कर्जा प्रवाह गर्ने अतिरिक्त रकम नभएको देखिन्छ। बैंकमा लगानी गर्ने रकमकाे तरलता अभाव भएपछि मुनाफा झन् कमजाेर हुदै जाने दखिन्छ । यस अतिरिक्त डिपाेजिटरले पनि बैंकलाई नपत्याएकाे रूपमा बुझिन्छ ।
खराब कर्जामा वृद्धि :
खराब कर्जा केही वृद्धि हुँदै १ दशमलव ४९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म खराब कर्जा १ दशमवल २१ प्रतिशत थियो।
निष्कर्ष : मेगा बैंकले आफुले आफुलाई ठुलो बैंकसँग प्रतिस्पर्धा गर्दै गरेको दावी गरेपनि तथ्यांकले त्यो कुरालाई गलत सावित गरेको छ।
बैंकको साधारण ग्राहकतर्फको निक्षेप संकलन सामान्य वृद्धि भएको छ । आधारभूत हिसाबमा पनि बैंक केही कमजोर भएको अनुमान लगाउन सकिन्छ। जगेडा कोष सामान्य घटेको छ भने संचित मुनाफामा पनि गिरावट आएको छ र खराब कर्जामा पनि वृद्धि देखिएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार