कोरोनाको सङ्क्रमण फैलिन नदिन सबै स्थानीय तहमा क्वारेन्टाइन सञ्चालन
नेपालबहस संवाददाता
चैत १२, २०७६ बुधबार २०:२३:९
१२ चैत, प्यूठान । नौवटै स्थानीय तहले कोरोनाको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले सङ्क्रमणको सुनिश्चित हुने अवधिभर (१४ दिन) छुट्टै राख्नका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन् । गत आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय भएअनुसार सोमबारदेखि क्वारेन्टाइन निर्माणको काम शुरु भएको थियो ।
प्यूठान नगरपालिकाले कालिका विकास केन्द्रको सभाहलमा १० शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नगरका १० वटै वडामा क्वारेन्टाइन सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताएका छन् । त्यस्तै स्वर्गद्वारी नगरपालिका भिग्रीले प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा तीन शय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ । नगरपालिकाले नगरका सबै वडाका विद्यालयमा पनि क्वारेन्टाइन तयार गर्ने नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।
ऐरावती गाउँपालिका बरौलाले मोती माध्यमिक विद्यालयमा चार शय्याको क्वारेन्टाइन मङ्गलबारदेखि सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताएका छन् । त्यस्तै माण्डवी गाउँपालिकाले जस्पुर विद्यालयमा १० शय्याको क्वारेन्टाइन पनि मङ्गलबारदेखि नै सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोख्रेलले बताए । झिमरुक गाउँपालिकाले पनि बालशिक्षा माध्यमिक विद्यालयमा पाँच शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।
यसैगरी मल्लरानी गाउँपालिकाले मङ्गलबार साविक महिला तथा बालबालिका कार्यालयमा सात बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । सरुमारानी गाउँपालिकाले रानीकुवामा १० शय्याको क्वारेन्टाइन निर्माणका लागि तयारी भएको स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताएका छन् । गौमुखी गाउँपालिकाले पनि लोकतान्त्रिक प्रावि रातामाटामा क्वारेन्टाइन निर्माणको तयारी गरेको पालिकाका अध्यक्ष विष्णु गिरीले बताउनुभयो । यससँगै प्यूठानका नौवटै स्थानीय तहले वडास्तरमा पनि क्वारेन्टाइन सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।
जिल्ला प्रवेश गर्नेको दर घट्यो
सोमबारदेखि प्यूठान र दाङको सिमानामा पर्ने ददेरीमा सञ्चालनमा ल्याइएको हेल्थडेक्समा बिहान दुई घण्टाको समयावधिमा २३ पुरुष, १२ महिला हेल्थडेस्कमा जाँच गराएर प्रवेश गरेका छन् । मङ्गलबार ५३४ जना प्रवेश गरेको र बुधबार प्रवेश गर्नेको दर एकदमै न्यून रहेको सरुमारानी गाउँपालिकाका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताएका छन् । सबै पालिकामा भारतसँगै अन्य स्थानबाट आएका व्यक्तिलाई घरमै बस्न आग्रह गरेको समेत उनले बताएका छन् ।
डेस्कमा प्यूठान प्रवेश गर्ने यात्रुको नाम, ठेगाना तथा सम्पर्क नम्बर लिइएको छ । मङ्गलबार केही मोटरसाइकल हिँडे पनि बुधबार मोटरसाइकल हिँड्ने दर कम भएको छ । मोटरसाइकल चालकले अनुमतिपत्र (पास) लिएर मात्र हिँडेको स्वास्थ्य संयोजक रायमाझीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले बुधबार सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै छ वटा मोटरसाइकल नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताएका छन् । बुधबारदेखि पूर्णरुपमा सवारी साधन बन्द, समूहमा काम गरेका कामदारलाई काम नगर्न र मानिसलाई जम्मा नहुन आग्रह गरेको उनले बताएका छन् ।
जिल्लामा कोरोना सङ्क्रमण हुन नदिन जिल्ला विपद् व्यवस्थापन समिति अत्यावश्यक बाहेकका पसल बन्द गरेको छ । स्वास्थ्य कार्यालय, स्थानीय तहको अगुवाइमा कोरोना सङ्क्रमणबाट जोगिनका लागि अभियान जनस्तरसम्म पु¥याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार