विश्वव्यापी लकडाउनका बिच सेवा दिँदै प्रसूति गृह
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार २०:४:३४
१३ चैत, काठमाडौं । सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम भएको छैन । ‘लकडाउन’का कारण यातायातको असुविधा भए पनि एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेकाले अहिले पनि दैनिक झन्डै सय महिलाले सन्तानलाई जन्म दिएका छन् ।
बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामी नियमित जति नै भएको अस्पतालका निर्देशक डा जगेश्वर गौतमले बताएका छन् । अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उहाँले बताएका छन् ।
कुरुवा र बिरामीलाई अस्पताल हाताभित्र छिर्दा साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ । कुरुवालाई भीड नगर्न भनिएको र एक बिरामीलाई एक कुरुवा बस्न भनिएको छ । अस्पतालले पहिले एउटै सेवा दिने गरेकामा अहिले तीन छुट्टाछुट्टै स्टेशनको व्यवस्था गरेको छ । पहिलोमा सामान्य, दोस्रोमा रुघा खोकी र तेस्रो वार्डमा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ ।
प्रसूति सेवा लिन आएका महिलालाई सङ्क्रमण भए पनि प्रसूति सेवा लिनका लागि अरु बिरामीभन्दा टाढा तीन श्ययाको स्टेशन बनाइएको छ । उनले भने, “कोभिड–१९ का सङ्क्रमित महिला आउँदा पनि उबाट अरुमा सर्न नपाओस् भनी छुट्टै श्ययाको व्यवस्था गरिएको हो ।”
जुनसुकै गर्भवती सङ्क्रमित पाइएमा पहिले टेकु नै पठाइने निर्देशक डा गौतमले बताएका छन् । नौ महिनाको र सुत्केरी हुने अवस्थामा पुगेका महिलालाई भने यहीँ छुट्टै श्ययामा राखेर प्रसूति सेवा दिइनेछ । उनले भने, “आठ महिनासम्मका महिलामा सङ्क्रमण देखिएमा समस्या गर्भभन्दा पनि रोग भएकाले त्यसको पहिले उपचारका लागि पठाइनेछ ।
”अस्पतालमा कुनै पनि समयमा कोभिड–१९ सङ्क्रमित आउन सक्ने भएकाले आवश्यक तयारी गरिएको अस्पतालका निर्देशक गौतमले बताएका छन् । हालसम्म तीन श्ययाको मात्रै व्यवस्थापन गरिए पनि आवश्यकतानुसार आगामी दिनमा थप गर्न सकिने अस्पतालले जनाएको छ ।
थापाथलीमा ‘आइसोलेसन’ मा राख्न पर्याप्त स्थान नभएकाले अस्पतालको कुपण्डोलस्थित नयाँ भवनमा व्यवस्था मिलाइने उनले बताएका छन् । त्यसका लागि आवश्यक स्थानसँगै जनशक्ति र स्रोत व्यवस्थापनको तयारी भइरहेको छ । उनले भने, “आवश्यक भएमा नयाँ भवनमा १५० जनासम्म व्यवस्थापन गर्न सकिनेछ ।”यो रोग विश्वमा नै नयाँ भएकाले गर्भवती महिलामा कत्तिको चाँडो असर गर्छ भनी अध्ययन भइसकेको छैन । तैपनि ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई जस्तै गर्भवतीलाई असर गर्ने सम्भावना रहेको बताइएको छ । उनले भने, “नयाँ रोग भएकाले बच्चा र आमामा पार्ने रोगको विस्तृत अध्ययन भने हुन सकेको छैन ।”
‘लकडाउन’ शुरु भएको दिनदेखि नै नियमित जाँच रोकेर अरु सेवा दिइएको अस्पताल प्रशासनले जनाएको छ । नियमित जाँचका लागि आउने गर्भवती महिलालाई पहिले खाँदै आएको औषधि नियमित खाएर अप्ठ्यारो पर्दा मात्रै आउन भनिएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताएका छन् ।
आकस्मिक कक्षमा बिरामीलाई आवश्यक सेवा दिइरहेको र भर्ना लिनुपर्ने बिरामीलाई लिने गरिएको उनले बताए । उनले भने, “गर्भवती महिलालाई एकातिर सवारी साधन नहुँदा आउन कठिन र अर्कातिर सङ्क्रमण हुने खतरा भएकाले अप्ठ्यारो नहुँदासम्म नआउनु भनिएको हो । ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार