वाग्मतीको उद्गमस्थलमा लाग्ने वाग्द्वार मेला स्थगित
नेपालबहस संवाददाता
चैत २९, २०७६ आइतबार २:३३:२४
२९ चैत्र, काठमाडाैं । प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा वैशाख १ गते वाग्मतीको उद्गमस्थल वाग्द्वारमा लाग्ने मेला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण यसपटक स्थगन गरिएको छ ।
मेला चलाउँदा भीड जम्मा भई कोरोनाको सङ्क्रमण फैलनसक्ने भएकाले यस वर्ष स्थगन गरिएको वाग्द्वार उपभोक्ता समितिका अध्यक्ष अरुण ठकुरीले जानकारी दिए । मेला स्थगन गरिए पनि पुजारीबाट वैशाख १ गते हुने विशेष पूजा भने गरिनेछ । यहाँको मेला चलाउन गुठी संस्थानले पनि सहयोग गर्दै आएको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने वाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ ।
मेलाका लागि धेरै भक्तजन चैतको अन्तिम दिन नै वाग्द्वारमा गएर बस्ने गर्छन् । चैत मसान्तमा वाग्द्वार पुग्ने भक्तजनले नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा बत्ती बाल्ने गरेको समितिका अध्यक्ष ठकुरीले सुनाए । वैशाख १ गते बिहान वाग्द्वार स्नान गरी शिवलिङ्ग र शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गर्छन् । शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ । यस वर्ष वाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं भक्तपुरको बिस्केट जात्रा पनि स्थगन गरिएको छ ।
यस वर्ष वैशाख १ गतेको मेलाअघि नै निर्माण सक्ने गरी दुवै नगरपालिकाको रु १०÷१० लाख गरी रु २० लाखको लागतमा वाग्द्वारमा कुटीसहित शौचालय निर्माण भइरहेको थियो । कोरोनाको त्राससँगै एक महिनाअघि काम रोकिएको समितिले जनाएको छ । बन्दाबन्दी खुलेसँगै बाँकी काम पुनःशुरु गरिनेछ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँ निर्माण गरिएका शौचालय भत्किएपछि त्यसपछिका वर्षमा पालको अस्थायी शौचालय निर्माण गरेर काम चलाइने गरेको छ ।
मेलामा विशेष गरी उपत्यकाका साथै सिन्धुपाल्चोक र नुवाकोटका भक्तजनको पनि उल्लेख्य सहभागिता रहने गर्छ । वाग्द्वारबाट दुवै जिल्लाको सीमा नजिकै पर्छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष वैशाख महिनामा आयोजना गर्ने वाग्मती तीर्थ यात्राका यात्रु पनि एक रात वाग्द्वारमा बास बस्ने विधि छ ।
वाग्द्वार गोकर्णेश्वरको सुन्दरीजल र बूढानीलकण्ठको नारायणस्थान दुवैतिरबाट जान सकिन्छ । सुन्दरीजलबाट तीन घण्टा र नारायणस्थानबाट करिब दुई घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जभित्रको सौन्दर्यमा रमाउँदै रमणीय यात्रा गरी वाग्द्वार पुग्न सकिन्छ । विगत ३२ वर्षदेखि वाग्द्वारमा तपस्या गर्दै आएका टोड्के बाबा वैशाख १ गतेको मेलामा बस्तीबाट टाढा रहे पनि हजारौँ मानिस सहभागी हुने गरेको स्मरण गर्छन । यहाँ यसअघि शिवपुरी बाबा, स्वामी चन्द्रेशलगायतले पनि तपस्या गरेका छन् ।
देवादिदेव महादेवको पुर भएकाले शिवपुरीसमेत भनिने यस स्थानलाई साधनाका लागि तपोभूमि मानिन्छ । यहाँ तपस्यका लागि विशेषगरी भारतका साधु आउने गरेका छन् । शिवपुरीबाट उत्पत्ति भई बग्ने वाग्मती समुद्रमा नमिसिएसम्म अरु नदीमा नमिसिने र पहिचान नमेटाउने भएकाले यसको विशेष महत्व रहेको जनाइएको छ ।
दुई ठाउँमा वाग्मती सफाइ
वाग्मती सफाइ महाअभियानका ३६१औँ हप्तामा दुई स्थानमा केही मानिस जम्मा भएर सफाइ गरिएको छ । वाग्मती किनारमै घर भएका दुई जना अभियानकर्मीको नेतृत्वमा पशुपतिको राजराजेश्वरी र शङ्खमूलमा नदी सफाइ गरिएको हो ।
राजराजेश्वरीमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेल र शङ्खमूलमा अभियानकर्मी लक्ष्मी पौडेलको नेतृत्वमा नदी सफाइलाई बन्दाबन्दीका बाबजुद निरन्तरता दिइएको हो ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । शुरुदेखि चाड पर्व, जाडो, गर्मी, शीत, वर्षा जस्तोसुकै अवस्थामा पनि जारी अभियान चैत १५ गते पहिलोपटक बन्दाबन्दीका कारण हुन सकेको थिएन । बन्दाबन्दी लामो समय जाने भएपछि चैत २२ गते पनि खरेल एक्लैले तिलगङ्गाको नदी किनारमा एक्लै अभियानलाई जारी राखेका छन् । आज दुवैतिर गरी १५ जना सफाइ अभियानमा सहभागी भएका थिए ।
सहभागीले एकअर्काका बीच तीन मिटरभन्दा बढी दूरी राखी सुरक्षाका उपाय अपनाएर सफाइ अभियानलाई निरन्तरता दिएको जनाइएको छ । वाग्मतीका सहायक नदी र चक्रपथका विभिन्न स्थानमा गरिने सफाइ अभियान भने बन्दाबन्दीका कारण हुन नसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार