स्थायी कमिटीको औचित्य खै ?
इन्द्र रिजाल
बैशाख २६, २०७७ शुक्रबार १७:३७:३९
समाचार विश्लेषण
२६ वैशाख, काठमाडौं । सत्ताधारी नेकपाको शक्तिशाली भनिएको स्थायी कमिटी अहिले बेकम्मा मात्र होइन, नेताहरुको हाउगुजी नै बनेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली यथास्थितिमा स्थायी कमिटी कुनै हालतमा सामना गर्न चाहँदैन । तर, उनका विरोधी भने जसरी भएपनि बैठक राखेर ओलीको झाँको झार्न खुट्टा उचालेर बसेका छन् ।
दुईथरी नेताको तानातानमा परेको स्थायी कमिटीको हैसियत के होला त भनेर धेरैले चासो देखाएका छन् । प्रधानमन्त्री ओली पक्षधर स्थायी कमिटी औचित्यहिन भन्ने तहमा पुगिसकेका छन् भने विरोधी खेमाका नेताहरु भने कुनै निर्णय लिन नसक्ने सचिवालय नै बिघटन गर्नुपर्ने तर्क गरिरहेका छन् । २० जना स्थायी कमिटी सदस्यहरुले लिखित निवेदन दिएकाले हिजोका लागि बैठक गर्ने मिति तय भएको थियो । तर स्थायी कमिटीले प्रधानमन्त्री ओलीको टाउको अझै दुखाउने ठानेर बैठक राख्न चासो दिएनन् ।
विधानले स्पष्ट रुपमा स्थायी कमिटीका एक चौथाई सदस्यले लिखित निबेदन दिएको १५ दिनभित्र बैठक राख्नुपर्ने व्यवस्था गरेको छ । हिजै १५ औं दिन थियो । ओली बैठक राख्न अनिच्छुक भएकाले निवेदन गर्ने २० मध्ये १७ भाइ हिजो पार्टी कार्यालयमा भेला भए । भेलाले यथाशिघ्र स्थायी कमिटी राख्न पुन माग गरेको छ । भेला लगत्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी उनीहरुले यस्तो माग फेरि दोह¥याए । उता, प्रचण्डले एक दुई दिनभित्रै स्थायी कमिटी बैठक बस्ने बताएका छन् । कोरोना संक्रमण परीक्षण गर्न हिजो संसद सचिवालय पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।
ओली किन हच्के ?
पार्टी संरचनामा अहिले प्रधानमन्त्री ओली अल्पमतमा छन् । सचिवालयमा बामदेव गौतमको साथ पाएपछि एकाएक बहुमतमा पुगेका ओली फेरि तल परेका छन् । वामदेवले ओलीबाट धोका हुनसक्ने छनक पाएकाले भैंसेपाटी गठबन्धनबाट कित्ताकाट नगर्न प्रचण्ड-नेपाललाई आग्रह गरिसकेको अवस्था छ ।
स्थायी कमिटीमा त उनी ज्यादै कमजोर छन् । ४४ सदस्यीय कमिटीमा ओली केवल १३ जनाको साथमा रहेका छन् । प्रचण्ड र नेपाल पक्षधर सदस्यहरुको गठजोडले ओलीलाई पानी पिउन दिने अवस्था देखिंदैन । त्यसैले स्थायी कमिटी बैठक राख्नु भनेको ओलीमाथि अर्काे प्रहार हुनु हो । त्यो प्रहारले ओलीको शक्ति अझै क्षीण हुने छ ।
ओली पक्षधरको तर्क छ– अहिले नै स्थायी कमिटी बैठक राख्नु भनेको भाँडभैलो निम्त्याउनु हो । यसले पार्टीलाई विभाजनको दिशामा अग्रसर गराउन सक्छ । पार्टी एकताको पक्षमा कुरा गर्ने नेताहरु स्थायी कमिटी राखेर विवाद चर्काउनेतिर लाग्ने हो भने स्थायी कमिटी नै खारेज गरिदिए हुन्छ– ओली निकट एक नेताले भने । अब तीन महिना टर्यो ।
नेकपाका नेताहरुबीच चर्काचर्की परिरहेकै बेला आजबाट संसदकाे वर्षे अधिवेशन सुरु हुँदैछ । सरकार अब नीति, कार्यक्रम र नयाँ आर्थिक वर्षको बजेट बनाउन केन्द्रित हुने देखिन्छ । संसद्मा बढी समय दिनुपर्ने भन्दै ओलीले अब पार्टी बैठक फेरि अबरुद्ध गर्ने निश्चित छ । सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटमा पार्टी एकगढ भएर प्रस्तुत हुनुपर्ने छ ।
त्यसैले सबैको प्राथमिकता भनेको संसद हो । संसद्मा पार्टीभित्रको विवाद प्रवेश गराउने हिम्मत प्रचण्ड र नेपाल पक्षको देखिंदैन । त्यसैले अब कम्तिमा तीन महिना ओलीका लागि हाइसञ्चो हुने देखिन्छ । तर प्रचण्ड नेपाल पक्षका नेताहरु भने त्यसरी उम्कन पाइँदैन भनिरहेका छन् । पार्टीको विधान र पद्धति स्थापित गर्न मात्रै भएपनि स्थायी कमिटी बैठक बस्नै पर्ने उनीहरुको तर्क छ । त्यसका लागि सचिवालय बाधक हो भने बरु यसलाई चाहीं विघटन गनुपर्ने धारणा उनीहरुको छ ।
घर ज्वाईंलाई खानकै धन्धा
नेपालीमा एउटा जवर्जस्त उखान छ– कसलाई के धन्दा कसलाई के धन्दा , घरज्वाईंलाई चाहीँ खानकै धन्दा । यो उखान यतिबेला नेकपाका सन्दर्भमा काटीकुटी मिल्ने देखिन्छ । संसार कोरोना भाइरसकै सन्दर्भमा केन्द्रीत छ । विश्वका प्राय सबै देश कोरोनासँग भयानक युद्ध गरिरहेका छन् । नेपाल पनि विगत दुई महिनायता प्रत्यक्ष रुपमा लड्दैछ यो महामारीसँग ।
तर नेकपाका नेताहरु भने कोरोनालाई ढाल बनाएर शक्ति सञ्चयमा लिप्त छन् । यही मौका छोपेर राजकीय सत्ताको तर मार्ने उनीहरुको ध्याउन्न छ । कसैलाई प्रधानमन्त्रीको कुर्सी चाहिएको छ, कोही व्यवहारमै कार्यकारी अध्यक्ष बन्न लालयित छन् । ओलीलाई घेराबन्दी गरेर आफ्ना अभिष्ट पूरा गर्न सबै छटपटाएका छन् । कसैको ध्यान महामारीसँग कसरी लड्ने भन्नेमा छैन । छ त केवल शक्ति र सत्ता प्राप्तिको लालच । देश नै नरहे केको सत्ता भन्नेतिर नेकपाका नेताहरुको ध्यान पुगेन र पुग्ने छनक पनि छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार