कोरोना भाइरस : गण्डकीमा बागलुङ बढी प्रभावित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २२:२६:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-5_sg3nws12Tb.jpg)
२९ जेठ, बागलुङ । गत चैत १५ मा यहाँ पुष्टि भएको कोरोना भाइरस सङ्क्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो । बेल्जियमबाट फर्केकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोरोना देखिएको साता दिन नबित्दै चैत २० मा सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि सङ्क्रमण पुष्टि भयो ।
उनीहरु चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ विमानबाट सँगै नेपाल फर्केका थिए । अहिले भने कोरोनालाई जितेर दुवै सामान्य जीवनमा फर्किसकेका छन् । दोस्रो सङ्क्रमण पुष्टि भएयता ५५ दिनसम्म जिल्लामा कोरोना देखिएन । ५६औँ दिनमा आएर गत १४ गते तमानखोला गाउँपालिकाका चार र बडिगाड गाउँपालिकाका दुई युवकमा कोरोना पुष्टि भयो । भारतबाट आइ स्थानीय क्वारेन्टाइनमा बसेका बेला उनीहरुमा सङ्क्रमण देखियो ।
त्यसयता जिल्लामा लगातारजसो सङ्क्रमित थपिन थाले । २२ गते १०, २४ गते एक, २५ गते १० र २७ गते ११ जनामा कोरोना पुष्टि भयो । हालै भारतबाट आइ क्वारेन्टाइनमा बसेका व्यक्तिको कोरोना परीक्षण थालिएसँगै सङ्क्रमित बढे । हालसम्म सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जुन गण्डकी प्रदेशकै सबैभन्दा उच्च हो । प्रदेशका कूल १४७ सङ्क्रमितमध्ये स्याङ्जामा ३८, नवलपरासी ‘बर्दघाट सुस्ता पूर्व’मा ३७, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा तीन र लमजुङमा एक छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीको मुस्ताङ र मनाङमा अहिलेसम्म सङ्क्रमित भेटिएका छैनन् । कोरोना देखिएका नौ जिल्लामध्ये बागलुङ बढी प्रभावित बन्न पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार भारतबाट आएका एक हजार ६०० बढी स्थानीय तहका क्वारेन्टाइनमा छन् । तीमध्ये ५०० जतिको स्वाब परीक्षणका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइए पनि रिपोर्ट आएको छैन । स्वाबको चाप प्रयोगशालाको न्यून क्षमताका कारण रिपोर्ट ढिलो आउँछ ।
यसअघि क्वारेन्टाइनमै रहेका करिब ४०० जनाको पिसीआर विधिबाटै कोरोना परीक्षण गरिएको प्रमुख गुरौले बताए। गत दुई सातायता पुष्टि भएका सङ्क्रमित तिनैमध्येका हुन् । “क्वारेन्टाइनको बसाइ पूरा गरेका कतिपयलाई आरडीटी गरेर भए पनि घर पठाइएको छ”, उनले भने ।
भारतबाट आउनेको सङ्ख्या दैनिक बढ्दो छ । त्योसँगै सङ्क्रमण अझै बढ्न सक्ने आँकलन गरिएको छ । तेस्रो मुलुकबाट समेत जिल्ला फर्कने क्रम शुरु भएकाले क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला कमाण्ड पोष्टले विदेशबाट आउनेको सम्भावित सङ्ख्या यकिन गर्न सकेको छैन । बडिगाड गाउँपालिकाको क्वारेन्टाइन अहिले २५० छन् । तीमध्ये २०० को स्वाब लिइए पनि कोरोना परीक्षणको रिपोर्ट आएको छैन । अन्यको स्वाब लिनै बाँकी छ । “दैनिक पाँच-सात जना भारतबाट आइरहेका छन्”, गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, “कोरोना परीक्षण जटिल बन्दै गएको छ ।”
अध्यक्ष पाइजाका अनुसार बडिगाडबाट भारतमा रोजगारी गर्न जानेको सङ्ख्या चार हजारभन्दा बढी छ । तेस्रो मुलुक पुग्नेको सङ्ख्या अझ धेरै छ । बडिगाडमा जिल्लाकै सबैभन्दा बढी १५ सङ्क्रमित भेटिएका छन् । जसमध्ये १९ र २० वर्षका दुई युवक बुधबार कोरोनामुक्त बनेर घर फर्किसकेका छन् ।
उनीहरुसँगै तमानखोलाका २७ वर्षीय दुई युवक पनि धवलागिरि अस्पतालबाट ‘डिस्चार्च’ भएका थिए । योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको सङ्ख्या छ पुगेको छ भने बाँकी ३४ जनामा सक्रिय सङ्क्रमण छ । सङ्क्रमित थपिन थालेपछि क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनमा जिल्ला कमाण्ड पोष्ट र स्थानीय तह जुटेका छन् । सदरमुकामस्थित धवलागिरि अस्पतालमा श्यया अपुग भएपछि सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रिआइसोलेसन’ राखिएको छ ।
निसीखोला गाउँपालिकाका तीन र ढोरपाटन नगरपालिकाका एक सङ्क्रमित भने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन् । केही दिनअघि जिल्ला कमाण्ड पोष्टले क्याम्पससहित बुर्तिवाङ, गलकोट र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बुर्तिबाङको आइसोलेसनकक्षमा पुरुषका लागि २० र महिलाका लागि पाँच श्यया छुट्याइएको छ । बडिगाडलगायतका स्थानीय तहले आइसोलेसनकक्ष निर्माणमा अग्रसरता देखाएका छन् । “हामीलाई बजेट र जनशक्ति दिए गाउँपालिकामै आइसोलेसन तयार गरेर सङ्क्रमितको उपचार गर्न तयार छौँ”, बडिगाडका अध्यक्ष पाइजाले भने ।
तत्काललाई बडिगाड, तमानखोला, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका सङ्क्रमितलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य छ स्थानीय तहका सङ्क्रमितलाई धवलागिरि अस्पताल र क्याम्पसको ‘प्रिआइसोलेसन’ कक्षमा राख्ने निर्णय गरिएको छ ।
गलकोट र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि छिट्टै आइसोलेसनकक्ष तयार हुने जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हाल धवलागिरि अस्पतालको आइसोलेसनमा १३, बुर्तिवाङमा चार र बाँकी सबै धवलागिरि क्याम्पसको ‘प्रिआइसोलेसन’मा छन् ।
आइसोलेसनमा रहेका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको उनको भनाइ छ । सङ्क्रमित सबै चिकित्सकीय निगरानीमा छन् ।
नियमित स्वास्थ्य जाँच भइरहेको छ । पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिएको छ । अबदेखि लक्षण नदेखिए आइसोलेसनमा बसेको १४ दिनपछि बिनापरीक्षण डिस्चार्ज गर्न मिल्ने गरी नयाँ निर्देशिका आएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार