कोरोनाका कारण तरामी मगरले मनाउन पाएनन् ‘असारे’
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १५:२०:३०
बागलुङ । यहाँको पुस्तैनी मेला ‘असारे’ यसपालि लागेन । ताराखोला गाउँपालिका–५ मा चल्ने मेलालाई कोरोनाले रोक्यो । बर्सेनि असार तेस्रो मङ्गलबारदेखि शुरु हुने मेला सातादिन चल्थ्यो । स्थानीय तरामीमगरले हर्षोल्लासपूर्वक असारे मनाउँथे । बर्खे झरीकोसमेत पर्वाह नगरी मेलामा रम्थे । असारेलाई गाउँलेले आफ्नो मौलिक संस्कृति मान्छन् । तीन सय वर्ष अघिदेखि असारेको थिति बसेको बताइन्छ । असारेमा खुशी साट्ने, मिठो–मसिनो खाने, प्रकृति र देउता पूज्ने चलन छ । नयाँ पुस्ताले ‘असारे मेला’का रूपमा संस्कृति धाने पनि जनबोलीमा भने ‘असारे’ प्रचलित छ ।
डोल्पाको ताराभोटबाट आएका पूर्वजले मेलाको चलन बसालेको असारे युवा क्लबका अध्यक्ष प्रकाश रोकाले बताए । “कोरोनाका कारण यो वर्ष मेला गर्न सकिएन, रीतिथितिअनुसार पूजाआजा भने भयो”, उनले भने । असारे ताराखोलाको ऐतिहासिक महत्व राख्ने मेला भएको उनको भनाइ छ । आउँदा वर्षमा मेलाले निरन्तरता पाउने क्लबले जनाएको छ । क्लबले नै असारेको परम्परा धान्दै आएको छ । “पुरानो संस्कृति संरक्षण गर्नु हाम्रो दायित्व हो”, क्लबका अध्यक्ष रोकाले भने । मेलालाई ‘असारे बस्ने’ पनि भन्ने चलन छ । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । बर्सातमा बाढीपहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै गाउँलले पूजाआजा गर्छन् ।
तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा सांस्कृतिक कार्यक्रम तथा खेलकूदको आयोजना गर्ने गरिन्छ । विगतमा मगर समुदायमा मात्र सीमित असारे मेला पछिल्लो समय सबै वर्ग र समुदायको साझा बन्दै गएको छ । मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रूपमासमेत मेलालाई लिइन्छ । पछिल्लो समय मेलाको स्वरूप केही फेरिँदै गएको छ । मेलामा दोहोरी गीत, भलिबल, रस्साकस्सी, धनुषवाणलगायतका प्रतियोगिता पनि सञ्चालन गरिन्छ । ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गर्ने गरिएको छ ।
धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । पुरानो पुस्ताले असार तेस्रो मङ्गलबारसम्म खेतीपातीको काम भ्याएर चार दिन विश्राम लिएर असारे बस्ने चलन शुरु गरेको मगर अगुवा बताउँछन् । सोही बेलादेखि आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ शुरु भएको विश्वास गरिन्छ । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले अर्गल, हिल, अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला हुने गरेको बताए । विसं १७६६ तिर ताराखोलामा मगर बसाइँ सरेपछि मेलाको प्रचलन बसेको उनको भनाइ छ । समय अघिपछि भए पनि गाउँपालिकाका विभिन्न ठाउँमा बर्खे मेला आयोजना गरिन्छ । यो वर्ष भने सबै मेला, पर्व कोरोनाका कारण प्रभावित बनेका छन् । ताराखोलाका मगर समुदायले राघे, माघे सङ्क्रान्ति र श्रीपञ्चमी पर्वलाई विशेष रूपमा मान्छन् ।
साउने सङ्क्रान्तिमा चेलीबेटी बोलाउने, टिकाटाला गर्ने पनि चलन छ । मगर समुदायमा आधारित भुस पोल्ने र सिस्नो खोस्ने नाच पनि ताराखोलाका ऐतिहासिक संस्कृति हुन् । “कला, संस्कृतिको उत्थान र जर्गर्ना गाउँपालिकाको प्राथमिकतामा छ”, अध्यक्ष घर्तीले भने । ताराखोलाको पहिचान झल्काउन बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने योजना गाउँपालिकाको छ । उक्त सङ्ग्रहालय बनाउन आउँदो आवका लागि रु २५ लाख बजेट छुट्ट्याइएको अध्यक्ष घर्तीले जानकारी दिए । “प्रदेश र सङ्घ सरकारबाट समेत बजेट जुटाएर आउँदो वर्ष रु एक करोड बराबरको काम गर्छौं”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार