नेताहरु दुलो पसेपछि ओलीमाथिको कारवाही अलपत्र
कुसुम सेञ्चुरी
साउन २, २०७७ शनिबार १:३७:३५
२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चर्किएको आन्तरिक शक्तिसंघर्ष अब नयाँ चरणमा प्रवेश गर्दैछ । दुई पक्षबीच देखिएको सत्ता संघर्षको लेनदेन नमिलेपछि विवाद केन्द्रीय कमिटीमा पु¥याइने भएको छ । पार्टी अध्यक्षसमेत रहेका केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालबीचको बेमेलको निकास खोज्न माथिल्ला निकाय अक्षम भएका छन् ।
पार्टीको सर्वाेच्च निकायका रुपमा रहेको सचिवालय र त्यसपछिको शक्तिशाली मानिने स्थायी कमिटी बैठक समेत निश्कर्षमा पुग्न नसकेपछि केन्द्रीय कमिटीमा बल हुत्याइने भएको हो । यसका लागि जारी स्थायी कमिटीको आज बस्ने बैठकले निर्णय गर्ने भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक आवश्यक गृहकार्य गर्न भन्दै पर्सीसम्मका लागि स्थगित हुँदा भोलि सचिवालय बैठक बोलाइएको छ । भोलि दिउँसो ३ बजे नेकपाले सचिवालय बैठक बोलाएको हो । पर्सी बस्ने बैठकमा दुवै अध्यक्षले हालसम्म भएका प्रयासको फेहरिस्त पेश गर्ने र बाँकी विवादको हल केन्द्रीय कमिटीमा खोजिने उद्घोष गर्नेछन् ।
यसो गर्दा ओलीलाई तत्काललाई राहत मिल्ने देखिन्छ । केन्द्रीय कमिटी बैठक बस्न कम्तिमा एक महिना समय दिनुपर्ने भएकाले भदौ असोजसम्मका लागि ओलीको संकट टरेको देखिन्छ । यो अवधिमा ओलीसँग निरन्तर सम्वाद गर्ने रणनीति प्रचण्ड माधव पक्षको रहेको छ ।
समस्या ज्यूँका त्यूँ
गत फागुनदेखि नै ओलीको ज्यादतिप्रति शीर्ष नेताहरुको पारो चढेको थियो । त्यसलाई निस्तेज पार्न पटक पटक सचिवालय बैठक बोलाइए । साथै, बैठकले विभिन्न निर्देशनसमेत दिने काम ग¥यो । तर प्रधानमन्त्री ओली आफैं सहभागी भएको बैठकले गर्ने निर्णय कार्यान्वयन गर्न अटेर गर्न थाले । यसैक्रममा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सचिवालयले निर्देशन दियो । तर ओलीले उक्त निर्णय घाममा सुकाई दिए । त्यसपछि भने ओली विरुद्ध संस्थागत रुपमै घेराबन्दी थालियो । ओलीको राजीनामा माग्ने तहसम्मको निर्णय भए । तर ओलीले त्यसलाई स्वीकारेनन् । बरु जस्तोसुकै अवस्थाको सामना गर्छु भन्दै चुनौती नै दिन थाले ।
त्यसपछि डाकिएको स्थायी कमिटी बैठकले पनि ओलीको राजीनामा माग्ने संकेत ग¥यो । त्यसको प्रतिकारमा ओलीले संसद्को जारी अधिवेशन नै अन्त्य गरिदिए । साथै, अध्यादेशमार्फत राजनीतिक दल विभाजन सम्बन्धी कानून ल्याउने सन्देश नेताहरुलाई दिए । पार्टी विभाजनको त्राशले असन्तुष्ट नेताले ओलीमाथि कारवाही गर्न सकेनन् । बरु अर्का अध्यक्ष प्रचण्डमार्फत सहमतिको प्रयास गरे । तर जतिसुकै प्रयास गर्दासमेत ओलीले दुवै पद नत्याग्ने अडान लिएकाले समस्या ज्यूँका त्यूँ रहेको छ ।
निकम्मा सचिवालय र स्थायी कमिटी
पार्टीका सर्वाेच्च निकाय नै अहिले निकम्मा सावित भएका छन् । सचिवालय र स्थायी कमिटी बैठक केवल देखाउने दाँत मात्रै भएका छन् । सचिवालय बैठकका निर्णय नै बेवारिसे भएको भन्दै २० जना स्थायी कमिटी सदस्यले तत्काल बैठक राख्न अध्यक्षद्वयलाई पत्र बुुझाए । तर ओलीले बैठक राख्न कुनै रुचि देखाएनन् । अन्तमा बाध्य भएर उनले यही असार १० गते स्थायी कमिटी डाके । बैठक बस्नुअघि उनले नेपालको नयाँ राजनीतिक नक्शा जारी गरेकोमा भारत आक्रोशित भएकोले आफूलाई पदमुक्त गर्न षडयन्त्र रचेको आरोप लगाए । साथै, यसमा आफ्नै पार्टीका केही नेतासमेत मिलेको गम्भिर दोषारोपण उनले लगाए ।
ओलीको यो फण्डाले अन्ततः आफैंलाई फसायो । नेताहरुले खुलेरै उनको राजीनामा माग्न थाले । यति गरिसक्दासमेत ओली टसमस भएनन् । बरु सकेको गर्न नेताहरुलाई चुनौती नै दिए । ओलीको प्रधानमन्त्री पद अहिले उनको सबैभन्दा बलियो ढाल बनिदिएको छ । अनुकूलको राष्ट्रपति भएकाले प्रधानमन्त्रीले चाल्ने हरेक कदम सहजै हुने अवस्थाले ओली बलियो भएका छन् । त्यसको त्राशमा पार्टी कमिटीले ओलीमाथि कारवाही गर्ने आँट गरेको छैन । जसको परिणाम भनेको जिम्मेवारी पन्छाउने काम मात्र भएको छ । स्थायी कमिटी बसे सबै हल खोजिने भन्ने नेताहरु नै अहिले दुलो पसेका छन् । आफूबाट पार नलाग्ने देखेपछि फेस सेभिङका लागि केन्द्रीय कमिटी बैठक आह्वान गर्दैछन् ।
ओली नै बलिया
नेकपा भित्र मच्चिएको रडाको त्यसै साम्य हुने अवस्थामा भने छैन । पार्टीमा चरम अल्पमतमा रहेका ओली प्रधानमन्त्री पदमा रहेकाले अरु भन्दा बलशाली देखिएका हुन् । पार्टी कमिटीमा कमजोर उनी राजकीय सत्ताको बलमा सबैलाई थर्काउन सक्षम देखिएका छन् । पार्टीले कारवाही गरे उनी तत्कालै अध्यादेश ल्याएर पार्टी विभाजन गर्नसक्ने अवस्थामा सुरक्षित देखिन्छन् । त्यसैले केवल ३० प्रतिशत हाराहारीमा रहेका उनी पार्टी भित्र बाँकी ७० प्रतिशतलाई हावाकावा खेलाइरहेका छन् ।
कदाचित उनीमाथि पार्टीले कारवाही गरिहाल्यो भने विभाजन अवश्यम्भावी छ । यस्तो अवस्था आयो भने बाँकी ७० प्रतिशतले प्रचण्डलाई नै मुख्य नेता मान्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो परिस्थितिमा झलनाथ र माधवहरुले प्रचण्डलाई मुख्य नेता मानेर पार्टी सञ्चालन गर्न सक्ने अवस्था देखिंदैन । यो तस्बिर हरेक नेताले देखिसकेका छन् । त्यसैले गर्दा पार्टी कमिटीमा कमजोर नै भएपनि ओली नै शक्तिशाली देखिएका हुन् । अब केन्द्रीय कमिटी बैठक बस्नु अगावै ओलीले कुनै फण्डा तयार नगर्लान् भन्न सकिन्न ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार