नेवार समुदाय जोखिम छल्दै, परम्परा धान्दै
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार १६:५०:२६
◊ रामबहादुर थापा
६ साउन, बागलुङ । यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ ।
कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताए । “परम्परा त जेनतेन धान्नै प¥यो”, उनले भने, “भीडभाड नगरी पर्व मनायौँ ।” कोरोनाकै कारण बागलुङ नगरपालिका–३ बुद्धचोकमा मात्र घण्टाकर्ण निकालिएको सचिव शाक्यको भनाइ छ । पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । यसै त परम्परा जोगाउनै धौधौ परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको छ ।
घण्टाकर्ण नाम गरेको नरभक्षी राक्षसको स्वरूप बनाई दिनभर बुद्धचोकमा उभ्याइएको थियो । मकैको डाँठ, पराल आदि प्रयोग गरेर राक्षसको आकृति झल्कने तीनखुट्टे बुख्याँचा बनाउने गरिएको संस्कृतिकर्मी मुकुन्द शाक्यले बताए । “नेवार समुदायका घरघरबाट कपडाका पुतली बनाएर घण्टाकर्णलाई लगाइदिने गरिन्छ”, उनले भने, “ग्रहदशा कटोस्, लुतो हराओस् भनेर चामल, नुन, मास, बेसार, सिक्का पैसा पनि चढाउने चलन छ ।”
दिनभर बुद्धचोकमा राखेपछि साँझपख नेवारी बाजागाजासहित बजार घुमाउँदै हनुमान पौवानजिक लगेर घण्टाकर्णलाई जलाइएको थियो । साउने झरीको समेत पर्वाह नगरी मगर समुदायका अगुवालगायत घण्टाकर्ण पर्वमा सहभागी भएका थिए । नरभक्षी राक्षस घण्टाकर्ण मारिएको दिनको सम्झनामा परापूर्व कालदेखि नै उक्त पर्वको थिति बसेको हो । बर्सेनि साउन कृष्ण चर्तुदशीका दिन घण्टाकर्ण पर्व मनाइन्छ । नेवारी संस्कृतिमा घण्टाकर्ण पर्वपछि लाखे नाच शुरु हुन्छ ।
लाखे नाच गठेमङ्गलमा शुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्णलाई मारेपछि पति वियोगमा विह्वल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती छ । “लाखे नाचको पनि तयारी भइरहेको छ”, सचिव शाक्यले भने । जनैपूर्णिमापछि देखाइने अरु जात्रा, वर्षे नाच देखाउने कि नदेखाउने भन्नेमा छलफल चलिरहेको समाजले जनाएको छ । कतिपयले कोरोनाका कारण स्थगित गर्न त केहीले सावधानी अपनाएर भए पनि परम्परा रोक्न नहुने सुझाव समाजलाई दिएका छन् ।
भौतिक दूरी पालनासहित धेरै भीडभाड नगरी नाच देखाउनुपर्नेमा कलाकारहरुको जोड छ । नेपाल भाषा मंकाःखलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले लाखेलगायत थोरै कलाकारले पुग्ने नाच देखाउन सकिने बताए । “गाइजात्राका दिन मृतकका घरबाट निकालिने तःहामचा गर्नैपर्ने हुन्छ”, उनले भने, “अरु जात्रा र नाचका बारेमा छलफल गरेर निर्णयमा पुग्छौँ ।”
रोपाइँ, जोगी नाचलगायतमा भने धेरै कलाकार चाहिन्छ । धेरै कलाकार चाहिने र भीडभाड हुने नाच भने स्थगन गर्नुपर्ने उनको भनाइ छ । खल र समाज मिलेर बागलुङमा वर्षे नाचको संरक्षण गर्दै आएका छन् । लाखे, होबा, कटुवाल, रोपाइँ, घोडा, जोगीलगायत यहाँका प्रचलित नाच हुन् । झण्डै ३०० वर्षअघि भक्तपुर, बनेपालगायतका ठाउँबाट बसाइँसराइ गरी आएका नेवारहरुले परम्परागत जात्रा र पर्वहरु भित्र्याएका हुन् । पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किएको छ ।
लाखेनाचको कला र शिल्प नयाँ पुस्तामा पुग्न नसक्दा नाचै सङ्कटमा पर्ने चिन्ता बढेको संस्कृतिकर्मी शाक्यको भनाइ छ । “पुरानो कला, संस्कृति जोगाउनै हम्मेहम्मे परेको छ”, उनले भने, “नयाँ पुस्तामा रुचि घट्दो छ, सम्बन्धित पक्ष पनि उदासीन छन्।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार