महाधिवेशनमा युवापुस्ताको बेग्लै प्यानल बन्यो भने आश्चर्य नमान्नुहोला
इन्द्र रिजाल
साउन ६, २०७७ बुधबार ४:१४:२६
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरे कांग्रेसमा अब नयाँ पुस्ताले मात्रै परिवर्तन र उर्जा थप्न सक्नेमा विश्वस्त छन् । कांग्रेसका थोरै बौद्धिक नेता मध्येमा पर्ने घिमिरे प्रखर वक्ता, अध्ययनशिल र जुझारु युवा नेताका रुपमा पनि परिचित छन् ।
नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहिसकेका घिमिरेको आगामी महाधिवेशनले नयाँ पुस्तालाई नै स्थापित गर्न सक्नुपर्ने बलियो मत रहेको छ । साथै, देशको चुनौतीको सामना गर्ने ल्याकत नेपाली कांग्रेससँग मात्रै भएकाले युवा जमातको आकर्षण बढाउने नीति कार्यक्रम नै अबको आवश्कता रहेको उनको धारणा छ ।
नेपालमा बामपन्थी सरकार सबै क्षेत्रमा पूर्णतः असफल भईसकेकाले त्यसको विकल्प फेरि पनि नेपाली कांग्रेस नै भएकाले अबको चुनौतीको सामना गर्ने नेतृत्व आवश्यक रहेकोमा उनी विश्वस्त रहेका छन् । यी लगायत देशको समसामयिक विषयमा नेपालबहस डटकमसँग नेतघिमिरेले लामो कुरा गरेका छन् । प्रस्तुत छ उनीसँग भएको कुराकानीको सारसंक्षेप ।
नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनको कार्यतालिका सार्वजनिक भईसकेको छ, के निर्धारित समयमै महाधिवेशन होला ?
अप्रत्यासित रुपमा हामीले विषम परिस्थिति झेलिरहेका छौं । नेपाली कांग्रेसको महाधिवेशनमा यसले निकै ठूलो प्रतिकुलता सिर्जना गरिदिएको छ । हाम्रो विधानले तोकेको कार्यकाल गत फागुनमै सकिएको हो । तर हामीले त्यही विधानमा भएको सुविधालाई प्रयोग गरेर एक बर्षको कार्यकाल थपेका छौं । अब यो भन्दा पर जान हामीलाई विधानले अनुमति दिदैन् । तर कोरोना संक्रमण घटेको छैन् । त्यसैले काम गर्न धेरै अप्ठेरो छ । तर अब हामीलाई महाधिवेशनको म्याद थप्ने सुविधा विधानले दिएको छैन् । जसरी भएपनि महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता छ । त्यसैले ज्यादै अप्ठेरो अवस्थामा महाधिवेशन उन्मुख छौं ।
अहिलेसम्म हामीले प्रक्रियाहरु धेरै सकिसक्नुपथ्र्याे । कम्तिमा क्रियाशील सदस्यता नवीकरणको काम असार मसान्तमै पूरा भइसक्नुपथ्र्याे । तर कोरोना महामारीका कारण त्यो अवधि हामीले गुजारी सक्यौं । अब साउनदेखि प्रक्रियाहरु प्रारम्भ हुने संकेतहरु देखिएपनि शुरु भैसकेको अवस्था छैन् । कोरोना संक्रमणको संख्या थपिदैछ । नियन्त्रण हुने कुनै सम्भावना देखिएको छैन् । सँगै वर्षा सुरु भइसक्यो, लगत्तै चाडवाड सुरु हुँदैछ । त्यसैले सहज रुपमा प्रक्रिया अगाडि बढाउन मुश्किल छ । त्यसैले अब हामीले परिस्थिति अनुसारको विकल्पको रुपमा सुचना प्रविधिको सहयोग लिएर भएपनि बाँकी काम सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ ।
इन्टरनेटको पहुँच पुगेको ठाँउ र शहरी क्षेत्रमा अनलाइनबाटै मिलेसम्म काम गर्नुपर्ने भएको छ । कम्तीमा गाउँपालिकाको केन्द र वडासम्म पुगेर क्रियाशिल सदस्यताको नवीकरण गर्न सकिन्छ । अनलाइनमै फर्म भराएर पनि गर्न त सकिएला तर नयाँ सदस्य छान्नका लागि भने परम्परागत रुपमै जानुपर्ने अवस्था छ । त्यसकारण सम्भव भएसम्म नवीकरणको प्रक्रिया अगाडि बढाउदै जाने र नयाँका लागि केही समय लागेपनि दुबै पक्षलाई सँगसँगै लिएर जान सकियो भने असम्भव पनि छैन । त्यसैले तेजरफ्तारमा हामीले काम गरियो भने महाधिवेशन फागुनमै गर्न सम्भव पनि छ ।
यही भदौभित्र नवीकरण र ५० प्रतिशत नयाँ सदस्यता बढाउन भनिएको छ, बेजिल्ला आवतजावतमा रोक लागेको र बाढीपहिरोको समस्याले निर्धारित कार्यतालिका बमोजिम काम गर्न सकिएला त ?
व्यवहारिक रुपमा सम्भव छैन् । अहिले मानिस एक ठाउँबाट अर्काे ठाउँमा पुग्नै समस्या छ । विपत्तिको अवस्था छ ।कम्तीमा जिल्ला र गाउँपालिकाको केन्द्रसम्म पुग्ने वातावरण त हुनुपर्यो । त्यसका लागि निर्वाचन समितिले प्रतिनिधि खटाउनु प¥यो । जिल्लाले वडा तहसम्म खटाउनु प¥योे । यी यावत विषयमा व्यवहारिक समस्याहरु छन् । अहिले शुरु भएको बाढीपहिरोका कारण पनि अवस्था सहज छैन् ।
यस्तो बेला साथीहरुलाई गाँउगाँउ जाऊ भन्नु पनि व्यवहारिक र बुद्धिमत्तापूर्ण कुरा होइन । बरु बिपत्तिमा परेका जनतालाई पार्टीले मद्दत पु¥याउनु पर्ने र राहत दिनुपर्ने बेला हो । तथापि शहरी र कम जोखिम भएका ठाउँमा चाहिं काम अगाडि बढाउन सकिन्छ । त्यसैले रोक्नेतिर भन्दा सकेको काम अगाडि बढाउँ भन्नेमै ध्यान दिइएको हो । नत्र समयमै महाधिवेशन गर्न नसक्ने अवस्थामा पुग्छौ ।
फागुनमै महाधिवेशन गर्ने प्रक्रिया शुरु भैसकेपछि सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन र सदस्यहरु नियुक्त गर्दै हुुनुहुन्छ, त्यसले महाधिवेशनमा प्रभाव पार्ने कसरत भन्दै वरिष्ठ नेता र महामन्त्रीले नै निर्वाचन समितिमा उजुरी दिनु भएको छ ? यो विवादले अब कुन रुप लेला ?
पार्टी चलाउने पद्धति हामीले तय गरेका छौं । एउटा लोकतान्त्रिक पार्टी विधि प्रक्रियासम्मत ढंगले नै चल्छ । त्यसका लागि विधान र नियमावलीले प्रष्ट निर्धारण गरेको छ । त्यसले देखाएको बाटो भन्दा बाहिर जाने अनुमति विधानले दिदैन । जसरी मुलुक सञ्चालन संविधानको भावना अनुसार गरिन्छ त्यसैगरि पार्टी सञ्चालन गर्ने पार्टी विधानको भावना अनुसार नै हो । त्यही सीमा भित्र बसेर मात्रै काम गर्न सकिन्छ । तर पार्टीको १३ औं महाधिवेशनपछि २ महिनाभित्र नै विभागहरुको गठन र सदस्यहरु नियुक्त भैसक्नु प¥थ्र्यो । नयाँ विधानले ६ महिना भित्र गर्नुपर्ने हो । तर सभापतिले पहिले गर्न नसक्ने वा नचाहेर अहिले महाधिवेशनको मुखमा आएर धमाधम विभाग गठन गर्न थाल्नुभएको छ । यसको उत्पादकत्व देखिदैन् ।
पार्टीका विभागहरु छन्, त्यसमा सदस्यहरु हुन्छन भनेर जनमानसमा सुचना दिनका लागि मात्र यसको आवश्यकता देखिएको होइन । व्यक्तिले पद धारण गर्ने भनेको त्यो पदमार्फत केही योगदान पु¥याउनका लागि हो । पद धारण गर्नुको अर्थ आफू समाजमा प्रतिष्ठित हुनका लागि वा सम्मानित हुनका लागि मात्र होइन । समाजमा आफ्नो व्यक्तित्व प्रर्दशन गर्नका लागि पनि होइन । आफुले पद धारण गर्ने भनेको त्यो पदका माध्यामबाट समाज र पार्टीलाई योगदान पु¥याउने हो । त्यो समय अहिले बिल्कुलै छैन् । सभापतिलाई त्यो गठन गर्ने अधिकार छ तर विधानले भनेको समयसीमा त नाघी सक्याे । तर अधिकार भएको व्यक्तिले विधानको पालना समय छदै गरेको भए विधानको पनि सम्मान हुन्थ्यो, कार्यकर्ताको पनि मुल्याङकन हुन्थ्यो भन्ने हेक्का भएन ।
भनेपछि सभापति देउवाले गरेको काम विधानसम्मत छ भन्ने तपाईको धारण हो ?
अधिकार उहाँलाई छ तर विधानले निर्देशित गरेको, निर्धारण गरेको समयसीमा भित्र किन भएन त ? अहिले यसको उत्पादकत्व के त ? के विभागहरुले काम गर्न सक्छन् ? विभागको वैठक बस्छ ? त्यहाँ मनोनयन हुने साथीहरुले कार्यक्षेत्र भित्र रहेर विधानले निर्दिष्ट गरेको काम, कर्तव्य र अधिकारको पालना गर्न सक्छन् त ? समय छैन् तसर्थ सक्दैनन् । अब हामी महाधिवेशनका कामतर्फ लाग्ने कि विभागको कार्यसम्पादन गर्न तिर ध्यान दिने ? किनभने हामी महाधिवेशनको प्रक्रियामा धेरै अघि बढिसकेका छौं । किनभने तालिका आईसक्यो । निर्वाचन तालिकापछि विभाग र समितिलाई पूर्णता दिनु भनेको महाधिवेशनमा उठ्ने प्रश्न विभाग गठन किन भएन, समितिले पूर्णता पाएनन् भन्ने कार्यकर्ताको प्रश्नको जवाफ तयार पार्नु मात्र हो । गर्यौ हैं भन्न पाईयो नि ।
कार्यकर्तालाई उत्तर दिन मात्र हो कि महाधिवेशनलाई नै प्रभावित पार्ने दाउ हो ? अवैध हो भन्ने आरोप र उजुरी नै छ नि ?
त्यो आरोप निराधार छ म भन्दिन । नेपाली मानसिकता के हो भने जसले आफुलाई अवसर दिन्छ अथवा सुविधा दिन्छ, त्यसका प्रति झुकाव बढ्नु स्वभाविकै हो । तर नेपाली कांग्रेस र समाजमा पद वा सहुलियत दिँदैमा सर्मथनको निर्धारक तत्व हुँदैन् । केन्द्रीय समितिमा भएका हामी युवाबाटै पार्टीका अधिकांश साथीहरु असन्तुष्ट छैन् भने नेतृत्वबाट कति सन्तुष्ट होलान् ? जसले नीति निमार्णमा जहिले पनि प्रभाव पारेका एक दर्जन व्यक्तिसँग नेपाली कांग्रेसका कार्यकर्ताहरु सन्तुष्ट छैनन् । हामी युवापुस्तासँग पनि उनीहरुको असन्तुष्टि चुलिएको छ । युवापुस्तासँग नेताहरुले गरेको गल्ती कमजोरीलाई खबरदारी गरेर सही बाटोमा हिडालुन भन्ने आम कार्यकर्ताको अपेक्षा थियो । त्यो हामीबाट पनि हुन सकेको छैन् । नेताहरुलाई दवाव दिउन भन्ने चाहना कार्यकर्ताको थियो ।
०४६ सालदेखि सरकार चलाएका,पार्टीको निर्णायक भूमिकामा रहेका र बारम्बार दोहो¥याई तेह¥याई अवसर लिएका नेताहरु छन् । पार्टीका नाममा, कार्यकर्ताका नाममा मुलुकमा राज गरेका व्यक्तिहरुसँग पार्टीकाे ठूलो समुह असन्तुष्ट छ । जसले अवसर पाए ती मान्छे बाहेक । त्यसैले दुईचार व्यक्तिलाई विभागमा भर्ना गर्दैमा, समितिमा थप्दैमा परिणाम नै पल्टिन्छ भन्ने हुँदैन् । बरु अवसर उहाँहरुले थोरैलाई दिनुहुन्छ तर अवसर नपाउने दर्जनौ मान्छे हुन्छन् । यसले पार्टीलाई गति दिने भन्दा असन्तोष थप्ने काम मात्र गर्छ । पद पाउनले पनि केही गर्नेबेला छैनन् । पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमै केन्द्रित भएको अवस्था छ । त्यसैले अहिले यस्ता नियुक्ति गर्ने उपयुक्त बेला हो भन्न मिल्दैन । सभापतिले विभाग बनाउने अधिकारको विधिसम्मत पालना गर्नुपर्छ ।
तर आम कार्यकर्ता भने सधैं झोला बोकेरै हिंड्नुपर्ने अवस्था छ । समानुपातिक र न्यायोचित रुपमा अवसरको बाँडफाँड भएको भए युवा पुुस्ताले पनि धेरै अवसर पाउने थिए । साथै, आम कार्यकर्ताको गुनासो पनि यति बिघ्न हुने थिएन । त्यसैले दुुईचार जनालाई अवसर दिँदैमा केही फरक पर्दैन । तर अवसर नपाउनेहरु धेरै हुनेछन् । असन्तुष्टहरुको ठूलै संख्या एकीकृत हुने अवस्था सिर्जना हुँदैछ । यसले त सभापतिलाई नै कमजोर बनाईरहेको छ ।
अहिले मनोनित हुनेहरुमा कतिपय त पार्टीमा योगदान नै नगर्नेहरु, विचारसँग अपरिचितहरु समेत रहेका छन् पनि भन्ने आरोप छ नि त ?
हाम्रो नेतृत्व कति विवेकशील छ भन्ने यसैबाट प्रमाणित हुँदैन र ? यो त उदाहरण मात्रै हो। पार्टीको समग्र विश्लेषण नगरी योगदानको कदर नगर्ने काम भयो भने त्यसले थप असन्तुष्टी बढाउने काम गर्छ । जिल्ला जिल्लामा विवाद उठेको छ । पार्टीका पुराना नेता एवं ठूलो पंक्तिले नगरौं भन्दा भन्दै जबरजस्ती गरिन्छ भने त्यसले राम्रो परिणाम ल्याउदैन् । नेतृत्वले त्यो आवाज नसुन्नु न्यायसंगत होइन । सही मूल्याङ्कन नगरी मनोनयन गर्दा ठूलो पंक्ति चित्त दुखाएको अवस्था छ । सँगै काम गरेका साथीको चित्त दुखाएर, उनीहरुको सुझावको विपरित गएर एकलौटी निर्णय गर्नु युक्तिसंगत होइन ।
अर्को निर्णय समेटिने व्यक्ति पार्टीमा लामो समय योगदान गरेको, पार्टीले चिनेको ,पार्टीलाई चिनेको, कार्यकर्ता पंक्तिमा परिचित, पार्टीको सिद्धान्त, विचार, मुल्य मान्यता र आर्दश बुझेको तथा अहिलेको चुनौती र अप्ठेरोमा पनि डटेर सामना गर्न ल्याकत राख्ने, भोलिका संभावित चुनौती र अप्ठ्यारोमा पनि डटेर काम गर्न सक्ने व्यक्तिलाई छान्नु पर्ने हो, चयन गर्ने हो । त्यसमा विवेक पुगेन भने भोलि पार्टीको भविश्य कस्तो होला ? त्यस्ताले पार्टीमा भोलि आईपर्ने चुनौतीको कसरी डटेर सामना गर्लान ? त्यसैले पार्टीलाई संकटमा साथ दिनेहरु नै यसका असली हकदार हुन् ।
बीपीले भनेजस्तै कांग्रेसमा सुकिला–मुकिलाको प्रभाव देखिएको हो ?
हालीमुहाली पुरानैको छ अहिलेसम्म । सुकिलामुकिलाले नेताहरुको पुच्छर समातेर फाइदा लिएका होलान् । उहाँहरुलाई प्रभावित पारेर अवसर छोपेका होलान् । तर सतहमा भने पुरानैको हालीमुहाली छ । किनभने नेतृत्व पंक्तिमा हुने जति सबै पुरानै छन् । कमजोरी सुकिलामुकिलाको होइन नेताहरुकै हो । कसलाई कुन जिम्मेवारी दिने भन्ने काम नेताहरुको मूल्याङ्नमा निर्भर हुने हो ।
सुकिलामुकिलालाई प्रोत्साहन गर्ने काम गर्नु भनेको उहाँहरुकै कमजोरी हो । संरक्षित हुने को होइन कि संरक्षण गर्नेको गल्ती कमजोरी हो । स्वभाविक रुपमा मानिसले अवसर खोज्छ । तर त्यसको सही मूल्याङ्कन गर्ने काम नेताहरुले गर्नुपर्छ । अहिले पार्टीको नेतृत्व गर्नेहरुपनि बीपी विचारधाराबाट प्रभावित हुनुहुन्छ । पार्टीमा कसले कति योगदान गरेको छ र कसको कति उपयोगिता छ भन्ने विषयमा उहाँहरु स्वयं जानकार हुनुहुन्छ । त्यसैले यस्तो अवस्था आउन दिने वा नदिने भन्ने काम स्वयं नेताहरुकै हो ।
यो महाधिवेशनले पुस्तान्तरण गर्ला ?
यो महाधिवेशनले निकै ठूलो गुणात्मक परिर्वतन ल्याउनै पर्छ । महाधिवेशनले परिर्वतनको सन्देश दिन सकेन भने फगत यान्त्रिक वा परम्परागत अनुष्ठानमा परिणत हुन्छ । यो रुढीवादी, परम्परागत र शाक्रिय काममा परिणत हुन्छ र यसले कुनै उत्साहको सञ्चार गर्न सक्दैन् । अहिले कार्यकर्ताको मनोविज्ञान हेर्ने हो भने अब युवा पुस्ताले पार्टी सञ्चालनको आकांक्षा राख्छ । निकै ठूलो परिर्वतनको माग छ कि अब पुरानो पुस्ताले छोडेर पुरै नयाँ पुस्ता नेतृत्वमा आउनु पर्छ भन्ने छ । जनशक्ति कै कुरा गर्दा पनि हामी भन्दा पनि एकदशक पछिको पुस्ता नै अब पार्टी र राष्ट्र सञ्चालनका लागि काबिल भईसकेको छ ।
हामीहरुले नयाँ पुस्ताको योग्यता र अपेक्षालाई नजरअन्दाज गर्नु हुँदैन् । त्यसैले यो महाधिवेशनले गुणात्मक परिर्वतनको सन्देश दिन सक्नुपर्छ । नेतृत्व फेरेर होस् वा पार्टीको नीति तथा कार्यक्रम बदलेर होस् अथवा पार्टीलाई नयाँ ढंगले चलाउने प्रतिबद्धता आएर होस् । नत्र युवा पुस्तामा निराशा आउँछ र त्यसले समग्र पार्टी पंक्तिलाई नै भुत्ते बनाइदिन सक्छ । पार्टी भित्र नयाँ ढंगको परिवर्तन आउनैपर्छ । गुणात्मक रुपमा परिवर्तन हुनैपर्छ ।
त्यसो भए अबको नेतृत्व कस्ले गर्ने हो त ?
पुराना नेताहरुले उम्मेदवारी घोषणा नगरिसकेकाले उहाँहरु हुनु हुँदैन किन भन्नु । सायद आफै छोड्नु हुन्छ कि ? तर हामी आशा के गरौं भने अब पुराना नेताले छाडेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुहुन्छ । पुराना नेताहरुले अभिभावकत्व लिएर नयाँ पुस्तालाई नै नेतृत्व दिदाँ राम्रो हो । अहिलेको अवस्थामा नयाँ पुस्ताले नै चुनौतीको सामना गर्न सक्छ । यति कुरा नेताहरुले पक्कै बुझेकै हुनुपर्छ । तर पुराना पुस्ताका नेताले अहिले पनि आफ्नै नेतृत्व आवश्यक छ भनेर पुष्टि गर्नुभयो भने फेरि पनि उहाँहरुबाटै आउने होला । तर त्यो आम कार्यकर्ताको चाहना विपरित हुन्छ । पार्टीका साथीहरु र मुलुकको माग र अहिलेका चुनौतीहरुको चाङ हेर्दा खेरी नयाँ पुस्ताले नै सबै चुनौताको सामना गर्न सक्छ, सवल नेतृत्व दिन सक्छ, गतिशील नेतृत्व दिन सक्छ भन्ने अपेक्षा सबैको देखिन्छ । त्यसैले पल्लाभारी नेतृत्व परिर्वतनतर्फ देखिदैछ । सबैको चाहना पनि त्यही छ । तसर्थ यो वस्तुस्थितिलाई बुझेर राष्ट्र र पार्टीको आवश्यकता तथा चापलाई बुझेर नेताहरुले निर्णय गर्नुपर्दछ ।
दोस्रो पुस्ताबाट डा. शेखर कोइरालाले नेतृत्व दावी गर्नु भएको छ, तपाईंको भनाई अब उहाँले नै सम्हाल्नुपर्छ भन्ने हो त ?
कोइराला परिवारको योगदान नेपालको राजनीतिक इतिहासमा अतुलनीय छ । चाहे राणा शासन विरुद्धको जनक्रान्तिमा होस् वा पञ्चायती व्यवस्था विरुद्ध वा भनौं शाही शासनकालमा समेत कोइराला परिवारले निर्वाह गरको भूमिका उच्च र सम्मानयोग्य छ । त्यो अरुसँग तुलना नै गर्न सकिदैन । यद्दपि अरु सम्मानित नेताहरुको भूमिका पनि उत्तिकै सम्मानित छ । त्यसैले संघर्षबाट आएको परिवारको एउटा सदस्यले नेपाली कांग्रेसको नेतृत्व गर्ने चाहना राख्नु आफैंमा अनौठो होइन, बरु गर्वको कुरा हो । तर अहिले नै फलानो व्यक्ति उपयुक्त हो भन्ने बेला चाहिं आईसकेको छैन । समयक्रमले नै निर्धारण गर्छ ।
पारिवारिक विरासतको मात्रै कुरा गरेर आजको २१ औं शताब्दीमा लोकतन्त्र वा प्रजातन्त्रको मर्म अनुरुप होला त ?
विरासत मात्रै सम्पूर्ण योग्यता होइन । उहाँहरु स्वयं शेखर कोइराला, डा.शशांक कोइराला र प्रकाशमान सिंहहरुले नै केवल पारिवारिक विरासतले मात्र होइन योग्यता पनि आवश्यक छ भन्नुभएको छ । पारिवारिक विरासतमा उहाँहरुकै ट्याग लागेको छ । समय र परिस्थितिलाई सामना गर्न सक्ने र कार्यकर्ता पंक्तिको स्वीकृति पनि चाहिन्छ । यद्यपि उहाँहरुको आफ्नै संघर्ष र योगदानको श्रृँखलाबद्ध इतिहास छ । त्यसैले कांग्रेसको नेतृत्व सम्हाल्न पारिवारिक विरासत र योग्यता दुवैको संयोजन हुनैपर्छ । औसत मान्छे भएर पुग्दैन अलिकति करिस्मा पनि चाहिन्छ । त्यसैले चमत्कारिक क्षमता भएको सदगुणी व्यक्ति नै नयाँ सभापति हुनुपर्छ । उहाँहरुका अग्रज, पूर्वजले गरेको योगदानलाई हामीले बिस्मृतिमा राख्न सक्दैनौ ।
पार्टीभित्र विभिन्न गुट छ, तपाई कोइराला परिवारसँग निकट हुनुहुन्छ, त्यसको सर्वसम्मत उम्मेदवार को होला ?
यसबारे नेताहरु सरसल्लाहमा हुनुहुन्छ होला, एउटा प्यानल नै बन्ला । प्रजातान्त्रिक पार्टीमा यो गलत होइन । समयक्रममा यसबारे पनि टुंगो लाग्ला नै । नेताहरु छलफलकै क्रममा भएकाले अहिले नै व्यक्ति तोक्ने अवस्था आईसकेको छैन । ती तपसिलका कुरा हुन् । तर मुलुकमा उत्पन्न जटिलता, नेकपाको सत्ता, लोकतन्त्रमाथि निरन्तरको प्रहार, पार्टीको संगठनात्मक अव्यवस्था लगायतका समस्याबाट कुशलतापूर्वक निकाल्न सक्ने व्यक्तिले नै नेपाली कांग्रेसको नेतृत्व लिनुपर्छ । नेकपाको संगठन र सरकार भीमकाय पहाड बनेर हाम्रो थाप्लाेमा बजारिएकाे छ । नेकपाको बलियो संगठनात्मक संरचनालाई चिरेर नेपाली कांग्रेसको आयतनलाई बलियो बनाउने, बिस्तारित गर्ने र नयाँ पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्ने,जनमतलाई बिस्तार गर्ने गुरुत्वाकर्षण भएको व्यक्ति नै अबको नेता हुनुपर्छ । यसका लागि गुटमा मात्रै अल्झनुपर्छ भन्ने मलाई लाग्दैन । तसर्थ परम्परागत साँचो,ट्याक र बाटोमा हिडेर, त्यही धरातलमा उभिएर नेपाली कांग्रेसले अहिलेको चुनौतीलाई सामना गर्न सक्दैन् ।
यसका लागि तपाईहरु युवा पुस्ताले कुनै पहल गर्नु भएको छ ?
पक्कै पनि हामी यसका लागि बृहत् दायरा बनाएर अगाडि बढ्ने तयारीमा छौं । अबको महाधिवेशन परम्परागत रुपमा मात्रै सीमित हुनेवाला छैन । हामी सरसल्लाह गरिरहेका छौं , आगामी महाधिवेशनमा युवापुस्ताको बेग्लै उम्मेदवारीको प्यानल बन्न सक्छ । त्यस्तो अवस्था आयो भने आश्चर्य नमान्नुहोला ।
देशकै पुरानो राजनीतिक दल कांग्रेस अहिले प्रमुख प्रतिपक्षमा खुम्चिएको छ, तर उसको भूमिका चाहिं ज्यादै फितलो भयो भन्ने आरोप छ त ?
एकदमै सही कुरा हो । कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढंंगले निर्वाह गर्न सकेको छैन् । संसारभर सरकारले राज्यको प्रतिनिधित्व गर्छ र राज्यको तर्फबाट काम गर्छन् तर अहिलेको सरकार सिंगो नेपाली जनता, सिंगो नेकपाको होइन कि नेकपाभित्रै पनि एउटा गुटको मात्र हो । त्यसैले नेपाली जनताको प्रतिनिधिका रुपमा वर्तमान सरकारलाई मान्न सकिन्न । सरकार सबै क्षेत्रमा असफल भइसकेको छ । यो अवस्थामा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । सरकारको ज्यादति र गैरजिम्मेवारीप्रति कांग्रेस विफल भएकै हो ।
तपाईं पनि केन्द्रीय सदस्य भएकाले यो अवस्थाको कमजोरी तपाईंको पनि होइन र ?
हो, तर जसले मूल नेतृत्व गर्छ ,उसले सबैलाई समेटेर प्रभावकारी भूमिका निर्वाह गर्नुपथ्र्याे । त्यसमा पार्टीको बागडोर समाल्ने व्यक्ति चुकेकै हो । त्यसैले त्यसको जिम्मेवारी पनि नेतृत्वले नै लिनुपर्छ ।
सरकार असफल भएको हो भने अब केपी ओलीले राजीनामा दिनुपर्ने हो त ?
वास्तवमा प्रधानमन्त्री र उनी सम्बद्ध पार्टी समेत हरेक क्षेत्रमा असफल भएको छ । खाली सत्ता संघर्षको खेलमा छ । यस्तो बेला नेकपाले निकास दिनुपर्छ । दुुई तिहाई निकटको सरकारले निर्वाह गर्नुपर्ने भूमिका पुरा गरेन । ओली नेतृत्वको सरकार न त आन्तरिक राजनीतिमा सफल देखियो, न छिमेकीसँगको सन्तुलित भूमिका निर्वाह गर्न नै अब्बल भयो । केवल सत्तालिप्साका लागि नक्कली राष्ट्रवादको डंका पिट्ने काम भयो ।
केपी ओली जी आफ्नै अस्तित्व रक्षाका लागि हारगुहार गरिरहनु भएको छ । कहिले विपक्षीलाई गुहार्नु हुन्छ , कहिले राष्ट्रपतिलाई गुहार्नु हुन्छ त कहिले छरछिमेक गुहार्दै हुनुहुन्छ । यो भनेको जिम्मेवारीको भारीले थिचेर आफैमाथि आएको खतराको सामना गरिराख्नु भएको छ । ओलीले राजनीतिक नक्शा जारी गर्न लाग्दा कांग्रेसले पूर्ण साथ दियो । तर नक्शा बमोजिमको भूमि फिर्ता गर्न भने ओलीजीले कुनै पहल नै गरेनन् । बरु उल्टो भारतलाई उत्तेजित बनाउने काम भएको छ । त्यो पनि आफ्नो सत्ता जोगाउनका लागि मात्रै । त्यसैले अहिले राष्ट्रियताबारे ज्यादै कमजोर अवस्थामा रहेको सरकार आफैं अलमलिएको छ ।
नेकपा अब फुट्ने अवस्थामा पुगेको हो त ?
नेपाली जनताले त्यत्रो भरोशा गरेको पार्टीलाई कसरी एकजुट बनाउने भन्ने दायित्व उनीहरुकै हो । नेपाली कांग्रेसलाई उनीहरुको आन्तरिक द्वन्द्व र अन्तसंघर्षमा कुनै रुचि छैन । तर सत्ता संघर्षका नाममा देशलाई बन्धक बनाउन चाहिं पाइन्न । अहिले नेकपा भित्र देखिएको रडाको विचार र सिद्धान्तको हैन, मात्र भागबण्डाको हो । त्यो भागबण्डाको नाममा देशले ठूलाे मुल्य चुकाउनुपर्ने अवस्था चाहिं हाम्रा लागि स्वीकार्य छैन । अरु विषयमा हामीलाई कुनै सरोकारपनि छैन ।
राष्ट्रको अभिभावकका रुपमा रहनुपर्ने राष्ट्रपति सत्तारुढ दलको त्यसमा पनि ओली गुटको संरक्षकका रुपमा रहेको टिप्पणी हुन थालेको छ, यसमा तपाईंको धारणा के हो ?
वास्तवमा राष्ट्रपतिको गरिमा जोगाउने काम त्यो पदमा आसिन व्यक्तिको आचरण र व्यवहारमा निर्भर हुन्छ । अहिलेका राष्ट्रपतिले त्यो आचरण र व्यवहार प्रर्दशन गर्न सक्नुभएको छैन । उहाँ ओली गुटको मात्र नेताका रुपमा देखिनु भएको छ । जबकी राष्ट्रपति भनेको देशकै अभिभावक हुनुपर्ने हो । त्यो कमजोरी भएकै छ । राष्ट्रपति कार्यालय कहिले नेकपाको शाखा कार्यालय त कहिले केन्द्रीय कार्यालयका रुपमा बनाउने काम भएको छ । पार्टीको आन्तरिक द्वन्द्वमा उहाँ प्रत्यक्ष जोडिनुभएको छ ।
उहाँले देशप्रतिको जिम्मेवारी निर्वाह गर्नु भएको छैन । संसारमा कतै नभएको काम उहाँबाट भएको छ । आउने पुस्ताले यसलाई कसरी हेर्ला ? राष्ट्रपतिको मर्यादा विपरित काम भएको छ । राष्ट्रपति भवनमा बसेर उहाँले पार्टीको गुट चलाउने काम गर्नु भएको छ, त्यो दुखदायी हो । तुरुन्तै करेक्सन हुनुपर्छ । नत्र उहाँको भूमिकाप्रति इतिहास अनुदार हुने छ ।
राष्ट्रपतिको भूमिकाप्रति कांग्रेसले चाल्ने कदम के हो त ?
उहाँ बेहोशीमा हुनुहुन्छ, गलत भएको छ । त्यसको हामी भत्र्सना गर्छाैं । त्यसले समग्र देश र प्रजातन्त्रलाई ठूलो नोक्सानी पुग्छ ।
नेकपाको विवादलाई कसरी लिनुहुन्छ ? एउटा स्वतन्त्र विश्लेषक र बौद्धिक नागरिकका रुपमा ?
जनताले राजनीतिक स्थिरता र बहुदलीय व्यवस्थाको सदृढीकरणका लागि मत दिएका हुन् कम्युनिष्ठहरूलाई । साथै, नेपाललाई समुन्नत बनाउन यो मत प्राप्त भएको हो । त्यो विषयमा नेताहरु कतिको जिम्मेवार हुनुहुन्छ भन्दा विल्कुलै छैन । यसबारे उहाँहरुले नै गम्भिरतापूर्वक छलफल गर्नुपर्छ । जनता केन्द्रीय तत्व हो भन्ने बीपीको भनाई अनुसार काम गर्नु पर्छ ।
त्यो दिशामा नेकपा त अगाडि बढेको छैन ,त्यसले अहिलेको उपलव्धि नै गुम्ने त हैन ?
यस्ता प्रश्न उठ्नु जायज हो । अहिलेपनि देश संक्रमणकै चरणमा छ । पुरातनवादीहरुको चलखेल भइरहेको छ । त्यसैले तिनीहरुलाई परास्त गर्न सबै नेपाली एकजुट हुनुपर्छ । तर नेकपा भित्रको अन्तसंघर्षले मात्रै प्रजातन्त्र गुमिहाल्ने कुरामा म सहमत छैन । प्रजातन्त्रका लागि पटक पटक लडेको नेपाली कांग्रेस देशको मियो हो । कांग्रेस अहिले संख्यात्मक रुपमा खुम्चिएको होला । तर प्रजातन्त्रको लागि फेरि पनि संघर्ष गर्न तयार छ । कांग्रेस अस्तित्वमा रहेसम्म प्रजातन्त्रमाथि प्रहार गर्नेहरु हच्किने अवस्था छ । त्यसैले अहिलेको हौवा चाहिं केवल चियाको कपमा उठेको तुफान मात्रै हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार