कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १४:५२:३३
७ साउन, पर्वत । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ ।
पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ । महिला बन्दीगृहमा सात बन्दी रहेका थिए । उनीहरुमध्ये पाँच जनालाई बागलुङ र दुई जनालाई म्याग्दी जिल्ला कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार जीर्ण बनेको पर्खाल ठूलो वर्षाका कारण भत्किएको हो । कारागारका अन्य पर्खाल पनि जीर्ण छन् ।
एउटै जिल्लामा सबै जना नअटेका कारण दुई जिल्लामा बाँडेर स्थानान्तरण गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । कारागारमा महिला बन्दीगृह बनाउन शुरु गरिए पनि बजेट अभावमा एक दशकदेखि अलपत्र बनेको छ । अलपत्र भएको बन्दै गरेको महिला बन्दीगृहको पर्खाल पनि भत्कने अवस्थामा पुगेको छ । यसअघि पनि पर्वत जिल्ला कारागार पटक–पटक भासिने समस्या थियो । पन्ध्र जनाको क्षमता रहेको कारागारमा अहिले ८० भन्दा बढी कैदीबन्दी छन् । पुरुषतर्फको बन्दीगृहमा भने कुनै समस्या नरहेको प्रजिअ रेग्मीले बताए ।
यस्तै जिल्ला कृषि ज्ञान केन्द्र पर्वतको भवन पनि भत्किएको छ । निरन्तरको वर्षाका कारण जमिन भासिँदा कर्मचारीको आवास रहेको एकतले भवन भत्किएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार केही दिनअघि भासिएको थियो । त्यसपछि त्यहाँ कर्मचारी बस्न छाडेका थिए । गएरातिको पानीले भवन नै भत्किएको उनले बताए।
राममन्दिरका संरचना बग्यो, साधुसन्त विस्थापित
कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगङ्गा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा क्षति पुर्याएको छ । पर्वतको जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशालासहितका संरचना बाढीले कटान गरेर बगाएको छ ।
बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाएको वडाध्यक्ष गोविन्द केसीले जानकारी दिए । अहिले पनि कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरबाट राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडौँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको उनले बताए ।
गौशाला र धर्मशाला भत्किएपछि साधुसन्तलाई म्याग्दीतर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ । राममन्दिरमा नियमितरूपमा आठ साधुसन्त बस्दै आएका थिए भने आगन्तुकका रूपमा मुक्तिनाथ आवतजावत गर्ने साधुसन्त पनि बसोबास गर्दै आएका छन् । साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । उनले भने, “तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ, पालिकाको तर्फबाट केही राहत पनि दिने गरेका छौँ ।”
बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले मङ्गलबार अवलोकन गरेको थियो । अध्यक्ष मल्लले पालिकाको तर्फबाट साधुसन्तलाई राहतसमेत दिए । उनले नदीको बहाव घटेपछि संरक्षणका काम गरिने आश्वासन दिए । मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि जाने उनले बताए । “सङ्घीय र प्रदेश सरकारसँग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार