यसरी हुन्छ बीपीप्रतिको सच्चा सम्मान
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार १९:१५:५९
६ साउन, काठमाडाैं । नेपालकाे प्रजातान्त्रिक आन्दाेलनका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला सिद्धहस्त पहरेदार, नेपाली राजनीतिका शिखर पुरुष, समाजवादको बाटोमा मुलुकलाई हिडाउन, नागरिकलाई शक्ति सम्पन्न गराउन, गरिबका पक्षमा नीति निर्माण गर्ने महापुरुष हुन् ।
सधैं मुलुकको मात्रै उन्नति र प्रगति सोच्ने, जस्तोसुकै समस्याहरुमा पनि नागरिकहरुलाई एकताबद्ध बनाउँदै समाधान खोज्नेतर्फ अग्रसर हुने, देशलाई विदेशीको चंगुलमा फस्न नदिने, फसिहाले उक्त चंगुलबाट बाहिर निकाल्न आफ्ना शिरमा दर्जनौ मुद्धाका भारी बोकेर जनतामा एकता जगाउन सिंगो देश दौडाहमा हिडने नेता हुन, बीपी । पद, पैसा, शक्ति र कुर्सीलाई भन्दा आफ्नो राजनैतिक दर्शन र सिद्धान्तलाई मुलमन्त्र मानेर सधैं जनताकै घर आँगनमा आफुलाई उभ्याउन पहल गर्ने जननायक बीपी कोईरालाको सिद्धान्त र आदर्शलाई अहिलेको नेपाली कांग्रेसले कहिल्यै अनुशरण गरेको पाईएन ।
२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोईरालालाई कहिल्यै पनि सच्चा मनले सम्झिएको छैन । बीपीकै समकक्षी नेताहरु लौहपुरुष स्व.गणेशमान सिंह र सन्त राजनीतिज्ञको उपाधिले बिभुषित कृष्णप्रसाद भट्टराईको हविगत हेर्दा लाग्छ, नेपाली कांग्रेसमा अब सम्मान र समर्पणको राजनीति अन्त्य भैसकेको छ । नेपाली कांग्रेस अहिले विदेशी दलाल, भ्रष्टाचारी, अपराधी र ठेकेदारी समूहको दलदलमा फसिसकेको छ । देश, जनता र न्याय विमुख नागरिकका पक्षमा दर्बिलो गोडा टेकिएको मात्रै भए पनि नेपालमा नेपाली कांग्रेसलाई कसैले हल्लाउन समेत सक्ने थिएनन् ।
हरिया डलरले थिचेका, जनताका रगत र पसिना चुसेका, भ्रष्टाचारको कन्टेनरले थिचेका, विदेशी प्रभूका सामू विकेका नेपाली कांग्रेसका ड्राईभरहरुले नेपाली राजनीतिलाई गन्तब्यसम्म पु्रयाउने कुरामा शंका गर्ने प्रशस्तै ठाउँहरु देखिदैछन् । गन्तव्यविहिन यात्रामा नागरिकलाई हिडाएर अर्कैले खनेको खाल्डोमा पार्टीका कार्यकर्तालाई लगेर खसाल्दा पनि चेत नखुलेका वर्तमानका कांग्रेसीजनलाई विश्वेश्वरप्रसाद कोईराला अनौठो र किंवदन्ती लाग्नु कुनै अनौठो र नौलो कुरा नहुन सक्छ । राणा विरोधी आन्दोलनको अगुवाई गरेर नेपाली जनतालाई रैतिबाट नागरिक बनाएका बीपीले नेपालको माटो सुहाउँदो प्रजातान्त्रिक समाजवादको दर्शन र सिंगो नेपाली कांग्रेस मात्र बनाएनन्, जनतालाई संगठित र राजनैतिक चेतनाको स्तरमा समेत अभिबृद्धि गराउन समेत भ्याए ।
राजनैतिक आन्दोलनको अभियानमा पञ्चायतको दशकौं लामो कालरात्री पार गर्दै २०३६ सालको जनमत संग्रहलाई हाँसी हाँसी स्वीकार गरेका बीपी राजनीति र साहित्यलाई एकैपटक अगाडि बढाउने राजनेता तथा साहित्यकारका रुपमा स्थापित हुनसके । नेपाली कांग्रेसले २०४६ सालको संयुक्त जन आन्दोलनमार्फत जनताको चाहना र भावना अनुरुपकै नागरिक स्वतन्त्रता र दिगो विकासका पक्षमा अडिग भएर अगाडि बढनु पर्ने थियो । तर त्यसो हुन सकेन ।
नेपाली जनताले विश्वेश्वरप्रसाद कोईरालाको आदर्श र राजनीतिक चिन्तनलाई हेरेर यही भावना अनुरुप नेपाली कांग्रेसलाई पूर्ण विश्वास गरेर स्पष्ट बहुमतको सरकार बनाउने जिम्मेवारी सुम्पिएका थिए । राजनीतिमै लागेका कारण आप्mनो सर्वस्वहरण भएका नेताहरुले बनाएका देश बिकासका मोडेलहरुलाई सरकार सञ्चालनमा गएका दलका नेताहरुले कहिल्यै पनि अनुशरण गर्न सकेनन् या गर्दै चाहेनन् ।
जनता के चाहान्छन् ? सरकार कसरी चल्नु पर्छ ? देश बिकासको मोडेलहरुलाई छोटो र प्रभावकारी योजना निर्माण र कार्यान्वयनमा नेपाली कांग्रेसको सरकारले ध्यानै दिन चाहेनन् । कुर्सी र पैसाका लागि पार्टी फुटाउने र बिदेशी राष्ट्रका चाहना पुरा गराउन जनमत जुटाउने काममै सरकारको सम्पूर्ण समय खर्च गरियो । नागरिकलाई हतियार बनाएर विदेशीको दास बन्दाको परिणाम नेपाली कांग्रेस जनताका सामु नाङ्गिदै गयो । विश्वेश्वरप्रसाद कोइरालाले देखेको सपना पूरा गर्नेतर्फ नेपाली कांग्रेस कहिल्यै पनि अग्रसर भएन । जसको फलस्वरुप नेपाली कांग्रेसप्रति आम जनताको भावनामा परिवर्तन हुँदै गयो । वर्तमान अवस्थामा देशमा देखिएको राजनैतिक परिवर्तनको उपज नेपाली कांग्रेसप्रतिको जनताको अविश्वास र आत्मग्लानी पनि हो ।
बीपी लगायत समकालिन नेपाली कांग्रेसका राजनेताहरुमा पद भन्दा सिद्धान्त महत्वपूर्ण थियो । पदका लागि सिद्धान्त त्याग्ने कि सिद्धान्तका लागि पद त्याग्ने भन्ने बिषयमा बीपीमा पदभन्दा राजनैतिक विचार र सिद्धान्त ठूलो हो भन्ने लाग्दथ्यो । आफुले जन्माएको राजनैतिक दल, आप्mना दलका निष्ठावान सहयात्रीहरु, तथा नेपाली कांग्रेसले प्रतिपादित गरेको राजनैतिक सिद्धान्तका लागि नै जीवनभर अनवरत रुपमा लागि परे तर अहिले आएर बीपी मानवबाट महामानव बन्नुभयो । तर अहिलेका नेपाली कांग्रेसका नेतृत्वकर्ताहरु सिद्धान्त एकातिर मिल्क्याएर पद र कुर्सीको लुछाचुँडीमा लागि परेका छन् । हिजोका आदरणीय मानिएका कांग्रेसका नेताहरु पनि अहिले भ्रष्ट र दलालसम्मको उपाधि हासिल गर्दै झनै तल्तिरसम्म झरेका छन् ।
प्रजातान्त्रिक समाजवाद र बीपीको कांग्रेस बनाउन फेरी एकपटक बीपीकै शब्द सापट लिएर भन्नु परेको छ । दलका मोटाघाटा, सुकिला मुकिला, चिल्ला गाडी चढ्नेहरुका विरुद्ध निष्ठावान कांग्रेसका कार्यकर्ताहरुले पुनः एकपटक राजनैतिक संघर्ष गर्नुपर्छ । जनताको भावना अनुरुप नेपाली कांग्रेसलाई अगाडि बढाउन सक्ने हो भने, बीपीको मार्गदर्शनमा कार्यकर्ताहरु हिडन सक्ने हो ।
देश र जनताविरोधी व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्रै कांग्रेस बनेकाहरुलाई चिन्न सक्ने हो भने वर्तमानका युवा पुस्ताले बीपीको प्रजातान्त्रिक समाजवादलाई आम नेपाली जनताको मुक्ति मार्गको बाटो बनाउन विदेशीको ईसारामा अध्यारो खोपीमा मिल्क्याईएको, राष्ट्र, राष्ट्रियता र समाजवादको राजनैतिक अस्त्रमा धार लगाउन जरुरी रहेको देखिन्छ ।
हिम्मत युवाले नै गर्ने हो । देश युवाकै भर पर्ने हो । आयातित दर्शन र राजनैतिक सिद्धान्तलाई मिल्क्याउँदै बीपीको प्रजातान्त्रिक समाजवादलाई अंगिकार गर्न सके बीपीप्रति सच्चा अर्थमा समर्पण गरेको ठहरिनेछ । प्रजातान्त्रिक समाजवादका व्याख्याता नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री नेपालका मुर्धन्य राजनीतिज्ञ तथा सफल साहित्यकार, समृद्ध नेपालका परिकल्पनाकार, नेपाली जनताका आस्थाका आधार सान्दाजु बीपीप्रति ३८ औं स्मृति दिवसको उपलक्ष्यमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार