जबजको छायाँमा प्रचण्ड
कुसुम सेञ्चुरी
साउन ८, २०७७ बिहिबार १८:५६:१०
८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष तत्कालका लागि स्थगन गर्न एक नम्बरका अध्यक्ष केपी ओलीले गरेको प्रयत्न फेरि बिथोलिएकै हो त ? जानकार भन्छन् – हैन, बरु नयाँ परिवेशमा नयाँ सहमतिको पृष्ठभूमि तयार हुँदैछ । यसका लागि दुई नम्बरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ खाले परिस्थिति निर्माण गराएर अगाडि बढ्ने ध्याउन्नमा छन् ।
खासगरी नेकपाको एकल अध्यक्ष बन्न प्रचण्डलाई पूर्व एमालेको राजनीतिक लाइन जबजको भारी बोक्नुपर्ने शर्तले यतिबेला पिरोलेको छ । प्रचण्डका लागि जबज नखाउँ दिनभरिको शिकार, खाउँ कान्छा बाउको अनुहार भएको छ । त्यसैले उनी यतिबेला रनभुल्लमा छन् , के गर्दा फाइदा होला भन्ने हिसाब किताबमै उनी रुमल्लिएका छन् । तर यो परिवेश त्यसै तयार भएको चाहिं होइन । नेकपाको एकल अध्यक्ष बन्ने प्रस्ताव स्वयं केपी ओलीले राखेका हुन् । त्यसका निम्ति प्रचण्डले सानो मिहिनेत गरेका छैनन् ।
यसको पृष्ठभूमिका रुपमा पछिल्लो अवस्थामा चर्किएको पार्टीभित्रको संघर्ष नै हो । पार्टीभित्रको अन्तद्वन्द्व अन्त्य गर्न दुबै अध्यक्षले गरेका पछिल्ला सम्वादले नयाँ बाटो पहिल्याएको हो । मंसिरमा अर्ली अधिवेशन गर्ने अनि प्रचण्ड एकल अध्यक्ष बन्ने ओलीको प्रस्तावले नयाँ माहौल त बनायो , तर अकाशको फल आँखा तरी मर भने जस्तो । यो प्रस्ताव स्वयं ओलीले राखेपछि प्रचण्डको मुख रसाएको छ । त्यसैले उनी गत शनिबार भएको सचिवालय बैठकमा ओलीले यस्तो प्रस्ताव राख्दा प्रतिकार गरेनन् । बरु समर्थनमै बोले ।
उक्त घटनालाई तत्काल अर्का नेता माधवकुमार नेपालले दुई अध्यक्षको चोचोमोचो मिल्दैमा समस्याको हल ननिस्कने प्रतिक्रिया दिएका थिए । ओली प्रचण्डले त्यतिखेर माधव नेपालको भनाइलाई खासै महत्व दिएनन् । दुई अध्यक्षबीच चोचोमोचो मिलिसकेको थियो । त्यसलाई औपचारिकता दिन उनीहरु साक्षीसहित राष्ट्रपति निवास हान्निए । दुबै अध्यक्षबीच भएको सहमतिलाई लिखितम् गर्न शीतल निवास पुगेपछि भने घटनाले नयाँ मोड लियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै भनिन्– अब हुने अर्ली अधिवेशनबाट तपाईलाई एकल अध्यक्ष बनाउन कुनै समस्या छैन । तर यसका लागि तपाईले दुईवटा काम गर्नुपर्छ । पहिलो केपी ओलीलाई पार्टीको सर्वाेच्च नेता बनाइनुपर्छ, दोस्रो चाहिं तपाईले पार्टीका राजनीतिक विचारधाराका रुपमा जनताको बहुदलीय जनवादलाई अंगिकार गर्नुपर्छ । राष्ट्रपतिको पहिलो शर्त स्वीकारिसकेका प्रचण्डलाई दोस्रो शर्तले भने झस्कायो । उनी त्यसका लागि तत्कालै राजी भएनन् । साथीहरुसँग छलफल गर्ने भन्दै ठोस जवाफ नदिई उम्किए ।
अब भने प्रचण्डलाई फेरि ओलीले जालमा फसाएको अनुभूति भयो । उनले तत्कालै छोरी गंगालाई फोन गरेर ओलीसँग कुनै सम्झौता भएको छैन भन्दै भ्रममा नपर्न फेसबुकमा स्टाटस राख्न अह्राए । भोलिपल्ट विहानै असन्तुष्ट पक्षका नेताहरुलाई भेला गराएर परिबन्दमा पारेर राष्ट्रपति निवास पु¥याएको स्पष्टीकरण दिए । घटनाले यो रुप लिएपछि सबैका कान ठाडा भएका छन् । ओलीले अहिलेको समस्याबाट उम्कन प्रचण्डकै साथ लिनुपर्ने निश्कर्ष निकालेको छ ।
उता, असन्तुष्ट पक्षका नेता माधव नेपाल पनि प्रचण्डको साथ बिना ओलीलाई परास्त गर्न नसकिने टुंगोमा पुगेका छन् । नेपाल पक्षका नेताहरुको भेलाले अहिले मंसिरमा अर्ली अधिवेशन सम्भव नभएको तर आगामी महाधिवेशनसम्म प्रचण्डसँगै कार्यगत एकता गर्ने र ओलीलाई चुनौती दिने ठहरमा पुगेको छ । तर प्रचण्ड भने पूर्व एमाले पक्षका दुबै गुटको चेपुवामा परेका छन् । प्रचण्ड निकट एक नेता भन्छन् – अहिले प्रचण्ड स्याण्डवीच जस्तो बन्नु भएको छ , ओली र नेपाल दुबैको भरोशाको केन्द्र ।
तर प्रचण्डलाई सबैभन्दा ठूलो घाँडो चाहिं जबज अर्थात जनताको बहुदलीय जनवाद बनेको छ । जबकी पार्टी एकता हुँदा एक्काइसौं शदाब्दीको जनवादलाई पार्टीको कार्यदिशा स्वीकार गरिएको छ । आगामी एकता महाधिवेशनमा पूर्व एमाले पक्षले गाडेको मूर्दा फेरि निकाल्न खोजेको उनको बुझाई छ । राष्ट्रपतिले भने अनुसार जबजलाई बोकेर हिंड्ने हो भने माओवादी आन्दोलन त्यसै तुहिएको अर्थमा बुझ्नुपर्ने हुन्छ । त्यसैले प्रचण्ड यतिबेला तनावमा छन् ।
माधव नेपालले पनि आफू जबजकै पक्षधर भएको र त्यसैका आधारमा महाधिवेशनमा जाने बताइसकेका छन् । यस्तो अवस्थामा ओलीले जबज नस्वीकारे आफूलाई साथ नदिन सक्छन् भन्ने बुझाई पनि प्रचण्डको रहेको छ । जबजकै वरिपरि महाधिवेशन घुम्ने भए माओवादीका मुद्धा ओझेलमा पर्ने र एमालेमा बिलय भएको सन्देश जाने उनको बुझाई रहेको छ ।
यस्तो अवस्था आयो भने कसरी जाने भनेर पूर्व माओवादी पक्षबीच उनी घनिभूत छलफलमा जुटेका छन् । जबजलाई नबोके ओलीले आफूलाई समर्थन नगर्ने अवस्था आए माधव नेपालसँगै मिल्ने हो की भन्ने मनोविज्ञानले समेत काम गरेको जस्तो देखिन्छ– प्रचण्ड निकट स्रोत भन्छ ।
यो प्रसंगमा पूर्व माओवादीहरु आफैं अल्मलिएका छन् । कतिपयको चाहना ओलीसँगको सहकार्यले मात्र पार्टीमा बलियो हुने भन्ने छ भने कतिपयले माधव नेपालसँगको सहकार्य फलदायी हुने ठानेका छन् । तर प्रचण्ड स्वयं भने फुकी फुकी कदम चाल्ने पक्षमा देखिएका छन् ।
पूर्व एमालेसँग पार्टी एकता गर्दा ६०/४० को आधारमा भागबण्डा भएको थियो । पूर्व एमालेको भागमा परेको ६० मा ३० प्रतिशत माधव नेपालको बर्चश्व छ भने ३० मा ओलीको । तर प्रचण्डको भने एकलौटी ४० प्रतिशत कायमै देखिन्छ । यस्तो समीकरणमा नेकपाभित्र प्रचण्ड सबैभन्दा शक्तिशाली देखिएका छन् । तर उनलाई एकल अध्यक्ष बन्नबाट जबज नै ठूलो तगारो हुने सम्भावना बलियो बनेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार