‘ठूलाचौरका दलितबस्तीका दुःखका दिन गए’
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १८:२:४४
१२ साउन, तनहुँ । म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो । तत्कालीन समयमा यहाँ उनको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो । पछि विस्तारै अन्य केही दलित समुदायका मानिस पनि थपिएपछि ठूलाचौरमा दलित बस्ती नै बन्यो ।
समुद्री सतहबाट करिब २०० मिटर उचाइमा रहेको यस बस्तीमा शुरुदेखिकै मुख्य समस्या भनेको नै थियो । प्रत्येक चुनावमा राजनीतिक दलको मुख्य प्रतिबद्धता र आश्वासन पनि यिनै कुरामा हुन्थे तर दलको प्रतिबद्धता कहिल्यै पूरा भएन।
गाउँमा बिजुली र पानीको आशमा यहाँका स्थानीयवासीले धेरै वर्ष बिताए । बल्लतल्ल बिजुली भने केही वर्ष अगाडी बल्यो, तर पानीको समस्या भने उस्तै । बस्ती केही उचाइमा भएका कारण खानेपानीको मूल नजिकै थिएन । छलिमाया विगतको दुःख सम्झँदै भन्छन्, “बस्तीभन्दा केही पर पानीघट्टा भन्ने कुवामा पुगेर पानीको जोहो गर्नुपथ्र्यो, त्यही कुवामा पनि कहिले पानी सुक्ने र कहिले भल पस्ने हुँदा निकै सास्ती थियो ।
पानीकै लागि घण्टौँ समय खर्चिनुपर्दा अन्य काममा बाधा परिरहेको थियो ।” तर ५२ वर्षपछि घरमै खानेपानीको धारा देख्दा ८१ वर्षीया छलिमायालाई सपना जस्तै लागेको छ । “घामपानी नभनी पचासौँ वर्ष घण्टौँ लगाएर पानी बोकेको दुःखका दिन अब गए”, उनले भने, “अहिले त घरमै धारा आइपुगेको छ, योभन्दा खुशी अरु के होला र ।” आफूले जीवनभर पानी बोक्दै छोरा नाति हुर्काएको भए पनि अबका पुस्ताले भने सुख पाउने उनले बताए ।
बिहान बेलुका पानीको जोहो गर्दै दिन बित्ने यहाँका स्थानीयवासीको अहिले दैनिकी फेरिएको स्थानीयवासी वीरबहादुर विकले बताए । “खानेपानीको जोहो गर्नुपर्दा घरको काम समयै सक्न समस्या पथ्र्यो, केटाकेटी विद्यालय समयमै पुग्न सक्दैनथे”, उनले भने, “विगतमा यहाँका बासिन्दाले भोगेको दुःख अबको पुस्ताले भोग्न पर्दैन, अहिले त गाउँकै मुहार फेरिएजस्तै भएको छ ।”
खानेपानीको माग गर्दै स्थानीयवासी विगतमा पटक–पटक सम्बन्धित निकायमा डेलिगेशन नगएका होइनन्, तर मूलको समस्या देखाउँदै स्थानीयको माग पूरा गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिन सकेन । “गाउँकै अगाडि गुणादी खोला पानी बगिरहेको देखिन्थ्यो, तर गाउँ काकाकुल थियो”, उनले भने। म्याग्दे गाउँपालिकाको रु नौ लाख २५ हजार, गण्डकी प्रदेश सरकारको रु दुई लाख ५० हजार र स्थानीय उपभोक्ताको रु छ लाख २५ हजार गरी कूल रु १८ लाखको लागतमा ठूलाचौरका घरघरमा धारा जडान गरिएको छ ।
तीर्थेखोला हात्तीखोर खानेपानी समितिका अध्यक्ष कृष्ण खनालका अनुसार यहाँका ३७ घरमा धारा जडान गरिएको छ । योजनाबाट यहाँका करिब ३०० लाभान्वित भएका छन् । योजनाबाट ठूलाचौर दलित बस्तीमा दुई/दुई हजार लिटरको ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको छ।
यहाँको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा बाबुराम खनालको अध्यक्षतामा खानेपानी समिति दर्ता गरिएको थियो, तर पनि योजनाले लामो समयसम्म गति लिन सकेन । पछि विसं २०७४ मा प्रारम्भिक योजना शीर्षकमा म्याग्दे गाउँपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको थियो । उक्त समयमा हिमा खनाल समितिको अध्यक्ष थिए भने त्यस अगाडि नारायणदत्त खनाल ।
लगत्तै विसं २०७५ लमा म्याग्दे गाउँपालिकाबाट पुनः योजनाका लागि रु चार लाख बजेट विनियोजन भयो । उक्त रकमबाट खानेपानीको कामले केही गति पायो । त्यसबीचमा समितिको नेतृत्वमा कृष्णराज खनालले गरे । योजनाकै लागि विसं २०७६ मा पुनः गाउँपालिकाबाट रु चार लाख २५ हजार बजेट विनियोजन भएको थियो ।
सोही वर्षमै गण्डकी प्रदेश सांसद आशा कोइरालाको पहलमा गण्डकी प्रदेशबाट रु चार लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट दश हजार घनमिटरको खानेपानी ट्याङ्की निर्माण गरिएको समितिका सचिव विकास खनालले जानकारी दिए ।
फरार दुई प्रतिवादी कारागार चलान
वन मुद्दाका दुई फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–६ ढुङ्गागाडे बस्ने ६७ वर्षीय भीमबहादुर अधिकारी र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ४५ वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई आइतबार घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षत्रीले जानकारी दिए । भीमबहादुरलाई जिल्ला अदालत तनहुँको विसं २०७० चैत १२ गतेको फैसलाले तीन महिना कैद र रु १९ हजार ७१३ जरिवाना तथा अशोकलाई विसं २०७२ भदौ २३ गतेको फैसलाले दुई महिना आठ दिन कैद र रु १५ हजार जरिवानाको फैसला भएको थियो ।
पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजी कार्यलाई तीव्र पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
सरकारले बढायो सगरमाथा आरोहण रोयल्टी, १५ हजार डलर पुग्यो
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार