सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १३:२८:४५
◊ रामबहादुर थापा
२६ साउन, बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो ।
गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भरेका छन । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन । स्रोता÷दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ । पछिल्लो एक महिनामा झण्डै दश लाख पटक हेरिएको छ । “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने ।
झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरे । हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने ।
गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए । उनको साङ्गीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । एक लाख सब्सक्राइबर ‘युट्युब च्यानलको समूह सदस्य’ पुगेपछि उक्त च्यानलले अर्वाडसमेत पाइसकेको छ ।
अहिले उक्त च्यानलको सब्सक्राइब झण्डै छ लाख पुगेको छ । गीतका बारेमा युट्युबमा १३ हजार बढीले प्रतिक्रिया जनाएका छन् । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सब्सक्राइबर ‘युट्युब च्यानलको समूह सदस्य’ पुग्नुपर्ने प्रावधान छ । अमेरिका, युरोपलगायतका देशबाट हेर्दा बढी पैसा आउँछ ।
शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने कलाकार बताउँछन् । श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । सालको पातले पनि सम्बन्धित लगानीकर्ता÷कलाकारलाई आकर्षक कमाइ दिलाएको छ । गायक विश्वकर्मा र सङ्गीतकार थापाबीच अर्को लोकदोहोरीमा पुनः सहकार्य हुँदैछ । “शब्द रचना प्रह्दाद सुवेदीले गरेका छन, गायिका को राख्ने निश्चित भइसकेको छैन”, थापाले भने ।
‘गलबन्दी’का चार करोड बढी
मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियोले पनि युट्युबमा राम्रो भ्यूज पाएको छ । गत वर्ष सार्वजनिक गीतले हालसम्म चार करोड १४ लाख बढी भ्यूज बटुलेको छ । सार्वजनिक भएको केही सातासम्म उक्त गीत युट्युबमा सर्वाधिक हेरिएको मध्ये नं एकमा आएको थियो ।
गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, सङ्गीत र भिडिओ निर्देशन पनि सपुतकै छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ ।
भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको छ । गीतले परम्परागत रोधीको झल्को दिन्छ । मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका हुन् । कथात्मक शैली, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । उक्त गीत भाका नेपाल प्रालिले निर्माण गरेको हो । सपुतको गत साता सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि अहिले युट्युब ट्रेन्डिङको नं एकमा छ । गीतको भ्यूज २४ लाख नाघेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार