नेकपा भित्र कुन गुटको हैसियत के ?
इन्द्र रिजाल
साउन २८, २०७७ बुधबार २२:१०:१०
२८ साउन, काठमाडौं । देशका प्रमुख राजनीतिक दलहरु गुट उपगुटको गम्भीर मारमा परेका छन् । खासगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यसबाट बढी प्रताडित भएको प्रतीत हुन्छ । देश चलाउने जनमत प्राप्त नेकपाको दुर्दशा त अझै कहालीलाग्दो छ । जनताबाट झण्डै दुई तिहाईको समर्थन प्राप्त नेकपा पछिल्लो ६ महिनादेखि गम्भीर संकटमा परेको छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको अधिकांश समय पार्टी भित्रको मतान्तर व्यवस्थापनमै व्यतित भइरहेको छ । यद्यपि उनी पार्टीका असन्तुष्ट नेताहरुको सत्ता बार्गेनिङ नै समस्याको जड हो भनिरहेका छन् । हुनपनि नेकपा भित्रको रडाको केवल पद र शक्ति बाँडफाँडमै रुमल्लिएको देखिन्छ । ओली विरोधी गुटको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहेका छन् ।
पार्टी भित्रको समीकरण फेरिएपछि ओली यतिबेला अल्पमतमा छन् । प्रचण्ड र नेपालबीच समीकरण बनेपछि ओली एकाएक प्रतिरक्षात्मक भूमिकामा धकेलिएका छन् । त्यही बलमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर नेपाल अध्यक्ष र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी समीकरण बनेको हो । तर ओलीले प्रचण्ड नेपाल समीकरणलाई पेचिलो ढंगले चुनौती दिइरहेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने बरु कारबाही भोग्न तयार रहेको सन्देश उनले दिइसकेका छन् ।
यति हुँदासमेत ओलीलाई कारबाही गर्ने आँट प्रचण्ड नेपालसँग छैन । बरु ओलीले पार्टी नै विभाजन वा संसद् नै विघटन पो गर्लान् की भन्ने त्राशमा उनीहरु रहेका छन् । ओलीको यो अवस्था निर्माण हुनुमा उनीसँग रहेको सत्ता नै प्रमुख कारण हो । सत्तामा रहेका ओलीले चाहेमा जस्तोसुकै अप्रिय काम गर्न वा गराउन सक्ने भय र त्राश बहुमत पक्षका नेताहरुमा व्याप्त छ ।
नेकपा भित्रको यो रोचक लडाईंले अरु दलमा समेत गुटको राजनीतिलाई बढावा दिइरहेको छ । ओली गुटको राजनीति गर्न पहिल्यैदेखि खप्पिस हुन् । अहिले त मदन भण्डारी फाउण्डेशनकाे नाममा उनले अघोषित रुपमा खुलेआम गुट चलाइरहेका छन् । अरु नेताले पनि गुटको राम्रै खेती गरेका छन् ।
नेकपाका गुट उपगुट
नेकपा भित्र अहिले मूलतः तीनवटा गुट चलेका छन् । जसमा पहिलो ओली कै गुट रहेको छ । ओली गुटमा पनि तीन थरि उपगुट रहेका छन् । जसमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ पहिलो श्रेणीको गुटमा परेका छन् ।ओलीसँग लामो समयदेखि सँगै रहेको यो गुट तुलनात्मक रुपमा सभ्य र मिलनसार रहेको छ । सकेसम्म ओलीलाई कम विवादमा ल्याउने सोच यो उपगुटको रहने गर्छ । त्यसैले माधव नेपाल वा प्रचण्डसँग सम्बन्ध बिग्रिएका बेला यो उपगुट बढी सक्रिय हुनेगर्छ । पार्टीमा सकेसम्म सबैलाई समेटेर लैजानुपर्ने यो उपगुटको रणनीति रहने गर्छ ।
अर्काे उपगुटको नेतृत्व पार्टीका जनजाति समूहका नेता समेत रहेका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले गरेका छन् । यो उपगुट ओलीको नाक हो । यसले सबै गन्ध सुँघेर काम गर्छ । अर्थात कानूनी पक्षमा केही गर्नुपर्ने लगायत संसदीय फाँटका हरेक विषयमा ओली यही उपगुटको भर पर्ने गर्छ । यो उपगुट पनि पार्टी भित्र सकेसम्म एकता कायम गर्ने तर ओलीलाई अफ्ठेरो पर्ने अवस्थामा भने जस्तोसुकै अप्रिय निर्णय लिनपनि पछि हट्न नहुने पक्षमा रहेको छ । ओली यो उपगुटसँग पनि धेरै भर पर्ने गरेका छन् ।
ओलीको तेस्रो उपगुटको नेतृत्व राष्ट्रपतिकै भूमिकामा रहेकी महामहिमले गरिरहेकी छन् । यद्यपि यसको आधिकारिक पुष्टि गर्ने ठाउँ नहोला । उक्त उपगुटमा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत ओलीका सल्लाहकार टीम रहेको छ । ओली यही उपगुटसँग बढी भर पर्ने गरेका छन् । सबैखाले राजनीतिक परिघटनामा यो उपगुट हावी हुने गर्छ । ओलीलाई प्राय यही उपगुटका मानिसले घेरिरहेका हुन्छन् ।
यो उपगुट अरु भन्दा अनुदार देखिन्छ । त्यसैको प्रभाव ओलीका बोली र व्यवहारमा पर्ने गरेका छन् । यो उपगुटसँग असहमत ओली निकट कतिपयको अहिले बालुवाटार आउ जाउ नै बन्द गरिएको छ । ओलीले गर्ने निर्णयमा यही अनुदारवादी उपगुट हावी हुने गरेको छ ।
प्रचण्डको दोधार
पूर्व माओवादी पक्षको एकल नेतृत्व गर्दै आएका प्रचण्ड पछिल्लो अवस्थामा धेरै साथीबाट अलग्गिएका छन् । खासगरी युद्धकालमा सदैव साथ र सहयोग गर्ने केही नेताहरु यतिबेला प्रचण्डसँग रुष्ट छन् । आफ्नो गुटलाई एकत्रित राख्नसमेत प्रचण्ड असमर्थ भएको टिप्पणी हुने गरेको छ । प्रचण्डले पछिल्लो अवस्थामा ओलीसँग भन्दा माधव नेपाल पक्षसँग समीकरण बनाएको उनकै खेमाका कतिपय नेतालाई मन परेको छैन ।
हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी जस्ता नेता प्रचण्डसँग यो मुद्धामा सहमत छैनन् । जसले गर्दा प्रचण्ड अहिले दोधारमा पुगेका छन् । ओलीसँग आत्मसमर्पण गर्न मन छैन, तर परिस्थितिले त्यही मागिरहेको छ । उता, सत्ताको विषयमा प्रचण्डले आफ्नै नेता रामबहादुर थापा र लेखराज भट्टको समेत साथ पाएनन् । जसले गर्दा उनको गुट पनि विभिन्न उपगुटमा विभक्त हुन थालेको छ । अब आफ्नै गुटलाई समेत समेट्न नसक्ने आरोप लाग्न थालेपछि प्रचण्ड थप तनावमा परेका छन् ।
नेपालको अडान
नेकपा भित्र अडान नभएको नेताका रुपमा चिनिएका माधव नेपाल यसपाला भने बढो गज्जबको स्वभावका साथ देखापरे । जतिसुकै झगडा गरेपनि अन्त्यमा सहमतिमा आउने उनको विगतको स्वभाव यसपटक भने चट्टानी अडानमै कायम रहेको छ । ओलीले विभिन्न अफर दिंदासमेत उनले मानेका छैनन् । जसले गर्दा माधवको परिचय नै यसपटक भने बदलिएको ठान्ने धेरै छन् । बरु उनले ओलीलाई थप धरापमा पार्न अपत्यारिलो रणनीति अपनाए ।
ओलीका विरुद्ध प्रचण्डलाई खडा गर्ने उनको चतु¥याईं वास्तवमै तारिफयोग्य छ । ओलीले जिल्याएको चोटबाट ग्रस्त प्रचण्डलाई माधवले प्रधानमन्त्री नै अफर गरिदिए । जसले गर्दा प्रचण्डको साथ उनले अहिलेसम्म पाइरहेका छन् । आफ्नो गुटलाई एकतावद्ध राखेर माधवले प्रचण्डलाई समेत तान्ने रणनीति बनाएकाले ओली रक्षात्मक अवस्थामा पुगेका हुन् । यही अवस्था कायमै रह्यो भने ओलीलाई घुँडा टेकाइ छाड्ने माधवको सोच छ । तर प्रचण्डले कतिखेर कुन विन्दूमा आफूलाई छाड्ने पो हुन् की भन्ने भय पनि उनमा रहेको छ । तर अहिलेको अवस्थामा नेकपा भित्रका तीनवटै गुटमा माधव नेपाल सबैभन्दा मजबूत रहेको छ । ओलीसँग सम्झौता नगरेपछि उनी पक्षधर सबै नेताले माधवको तारिफ गर्ने गरेका छन् ।
तर नेकपा भित्र देखिएको अन्तर्संर्घष त्यतिकै सामसुम हुने अवस्था भने देखिंदैन । तीनवटै गुटले सकेसम्म आफ्नो हितका लागि सकेको गर्ने अवस्था छ । अहिलेको समीकरण यथावत रह्यो भने अब नेकपा सग्लो पार्टी रहने कुरामा धेरैले विश्वास गरेका छैनन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार