नेकपामा युद्धबिरामको सूत्र:- भाग शान्ति, जय नेपाल !
कुसुम सेञ्चुरी
भदौ २, २०७७ बुधबार १:२७:३१
२ भदौ, काठमाडौं । पार्टीभित्रको अन्तद्धन्द्ध अन्त्य गर्न सत्तारुढ नेकपा फेरि पनि सत्ता बाँडफाँडमै जाने भएको छ । बिगत पाँच महिनायता चर्किएको विवादको हल अन्ततः सत्ता साझेदारीमै टुंगिने भएको हो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको एकलौटीबाट आजित भएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतमलगायतको हैकम नचलेकाले नै समस्या निम्तिएको हो ।
रुपमा सैद्धान्तिक र विधिविधानको कुरा गरिएको भएपनि वास्तविकता भने पद र सत्ताकै आशक्ति थियो । त्यही फर्मूला अहिले लागू गर्न ओली तयार भएपछि एकाएक समस्याले निकास पाएको भन्न थालिएको छ । गएको साता प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिन भित्रै पार्टीमा नयाँ सिनारियोको काउन्टडाउन देखिने भन्दै एकता कायमै रहने बताएका थिए । त्यसको भोलिपल्टै उनले असन्तुष्ट नेताका माग पूरा गर्न त्रिपक्षीय कार्यदल बनाए । अब समस्याको समाधानको खाका त्यही कार्यदलले तयार गर्नेछ ।
हिजोसम्म नेताहरुबीच नमिलेको विवाद ६ सदस्यीय कार्यदलले जादूको छडी झैं मिलाउने कुरा पत्यारिलो लाग्दैन । यथार्थ भने सबैले भागबण्डा पाए समस्याको हल त्यसै निस्कन्छ । ओलीले सबै अवसर आफू पक्षमा मात्रै सीमित गरेकाले नै समस्या चुलिएको हो – प्रचण्ड निकट एक नेताले भने । अब उनी अवसरहरु वितरण गर्न तयार भए, कुरा मिल्यो ।
ओलीलाई पदबाट हटाउन सक्ने बलियो आधार नभएकाले नै नेताहरु “भागशान्ति जय नेपाल”को निर्णयमा पुगेका हुन् – उनले भने । सकेसम्म ओलीलाई स्टेपडाउन गराउन खोजिएकै हो, तर कसैले पनि त्यो गर्नसक्ने अवस्था नभएपछि सबैले भागबण्डामै चित्त बुझाउने भएका हुन् ।
मन्त्रिमण्डल हेरफेरको तयारी
समस्या समाधानको एउटा पहेलु बनेको छ – मन्त्रिमण्डल पुनर्गठन । सम्भवतः अर्काे सातासम्म ओलीले मौजुदा मन्त्रिमण्डल हेरफेर गर्ने छन् । नेताहरुबीच नमिलेको एउटा अजेण्डा मन्त्रिमण्डल पुनर्गठन नै थियो । पार्टी संयन्त्रको सिफारिश वा सल्लाह बिना ओलीले आफुखुशी मन्त्री बनाउने र निकाल्ने काम गर्दा माधव नेपाल पक्ष धेरै आक्रोशित थियो ।
नेता नेपाल चाहन्थे– सुरेन्द्र पाण्डे र भीम रावल जसरी भएपनि मन्त्रिमण्डलमा सहभागी होउन् । तर ओलीले उनको कुरा सुनेनन् । बरु आफूखुशी नेपाल पक्षको नाममा एकदुई जना राख्ने र हटाउने काम गरे । यसबाट नेपाल बिच्किएका थिए । अर्कातिर प्रचण्डसमेत पुनर्गठनका पक्षमा धेरै अगाडिदेखि नै तयार थिए । उनले सार्वजनिक रुपमै आफ्ना भावना व्यक्त गरेका हुन् । तर ओलीले त्यसको पूर्णतः बेवास्ता गरे ।
प्रचण्ड मन्त्रिमण्डबाट दुईजना पात्रलाई हटाउन चाहन्थे । गृहमन्त्रीबाट रामबहादुर थापा र आपूर्ति मन्त्री लेखराज भट्टलाई उनी बदल्न चाहन्थे । ओलीका लागि यो रुचीकर थिएन । त्यसैले समस्या फराकिलो बनाउन मद्धत ग¥यो– प्रचण्ड निकट स्रोतको भनाई छ ।
ओली पनि तयार
अब भने मन्त्रिपरिषद पुनर्गठन गरी पार्टीभित्र र सरकारमा आफ्नो पद सुरक्षित राख्न ओली तयार देखिएका छन् । उनी प्रचण्ड र नेता नेपालकै सिफारिशमा मन्त्रिमण्डल पुनर्गठन गर्न सहमत भएका छन् । स्रोतका अनुसार, अब हुने पुनर्गठनमा ओलीले अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडालाई बिदा गर्ने भएका छन् । यस्तै, खेलकुद मन्त्री पनि अब फेरिनेछन् । ओलीले सञ्चारमन्त्रीमा महेश बस्नेतलाई ल्याउँदैछन् ।
उता, प्रचण्डको चाहना पनि यसपाला पूरा हुने भएको छ । गृहमन्त्रीमा अब जनार्दन शर्मालाई ल्याउने तयारी छ । गृह नपाए थापा भने मन्त्री पदमा नरहने भएका छन् । उनको सिफारिशमा पम्फा भूषाललाई मन्त्री बनाइने सम्भावना रहेको स्रोतले औंल्याएको छ । लेखराजको मन्त्रालय नै पम्फालाई दिइने सम्भावना रहेको बताइन्छ । उर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरले भने फेरि पनि निरन्तरता पाउने अवस्था रहेको छ । नयाँ थपिनेमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहन सक्ने औंल्याइको छ । उनलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्ने माग प्रचण्डको रहेपनि ओली भने प्रदीप ज्ञवालीलाई हाल चलाउन चाहन्न । त्यसैले पोर्टफोलियोमा तलमाथि भएपनि प्रवक्ता श्रेष्ठ उपसहित कुनै राम्रै मन्त्रालयसहित सरकारमा जाने सम्भावना रहेको छ । यसो हुँदा शिक्षामन्त्री गिरिराज पोखरेल भने सरकारबाट बाहिरिने छन् ।
नेता नेपालले पनि आफ्नो तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डेलाई पठाउने तयारी गरेका छन् । विगतमा नेपाल पक्षका भनी समावेश गरिएका योगेश भट्टराईलाई ओली नै निरन्तरता दिने पक्षमा छन् । हालैको विवादमा उनले समन्वयकारी भूमिका खेलेको भन्दै ओली खुशी छन् । यस्तै झलनाथको कोटाबाट मन्त्री बनेका घनश्याम भूषाल पनि नहट्ने मध्येमा परेका छन् । यसैगरी बामदेवलाई समेत सरकारमा ल्याउने तयारी सबैको छ । ओली र प्रचण्डले यसबारे बामदेवसँग ठोस वार्ता गरिनसकेपनि त्यसमा दुबै नेताको समान धारणा रहेको छ । बामदेव सरकारमा आउन माने भने उनलाई गृह नै दिइने भएको छ । अन्यथा श्रीमती तुलसा थापालाई मन्त्री बनाइने तयारी ओलीले गरेका छन् ।
संवैधानिक निकायमा पनि भागबण्डा
मन्त्रीपरिषदका अलावा अन्य संवैधानिक पदहरुमा समेत नेताहरुले भागबण्डा खोजेका छन् । सहमतिको एउटा मिलन बिन्दूका रुपमा यो बुँदासमेत समावेश गरिएको छ । त्यसैले ओलीले यो अजेण्डामा छलफल अगाडि बढाईसकेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवालाई बोलाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेका छन् । विभिन्न ४१ पदका लागि गरिने नियुक्तिमा सबैले भागबण्डा खोजेका छन् । खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफू निकट ब्यक्ति लैजान सबै नेताको बढी रुची देखिएको छ ।
समीकरण भने यथावत
हाललाई मन्त्री परिषदमा फेरबदल र संवैधानिक पदमा भागबण्डा गरेर अस्थायी युद्धविराम गर्न सहमत देखिएका नेकपाका शीर्ष नेताको समीकरण भने यथावत रहने देखिएको छ । आगामी महाधिवेशनमा ओली उमेदवार नबन्ने शर्तमा प्रचण्ड र नेपालको समीकरण यथावत् राख्न नेताहरु सहमत छन् । ओलीले अन्तिममा आएर पार्टी अध्यक्षमा उम्मेदवारी दिने सम्भावनासमेत रहेको भन्दै प्रचण्ड नेपालबीचको समीकरण अझै बलियो बनाउन सहमत देखिएका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार