नेकपा र कांग्रेसमा महाधिवेशनको रन्को
कुसुम सेञ्चुरी
भदौ ७, २०७७ सोमबार १:१६:४८
७ भदौ, काठमाडौं । कोरोना कहर अलि शिथिल भयो भने देशका दुई प्रमुख राजनीतिक दलहरु नेकपा र नेपाली कांग्रेस यही वर्षको अन्त्यतिर महाधिवेशन गर्ने तयारीमा छन् । अनौठो संयोग त के देखिएको छ भने दुईटै राजनीतिक शक्तिमा त्रिपक्षीय भिडन्तको सम्भावना प्रवल छ ।
सत्तारुढ नेकपाभित्र हिजै मात्र अस्थायी रुपमा गरिएको सहमतिको निचोड भनेकै प्रधानमन्त्रीमा ओली पाँच वर्ष टिक्ने र चैतमा एकता महाधिवेशन गर्ने भन्ने रहेको छ । त्यतिञ्जेल चाहिं पार्टीको कार्यकारी अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने भन्ने सहमति भएको छ । तर चैतमा हुने भनिएको महाधिवेशनमा ओलीले कक्षा नदोह¥याउने अर्थात अध्यक्षको उम्मेदवार नहुने उद्घोष गरेका छन् ।
तर ओली अध्यक्ष पदबाट बाहिरिने वित्तिकै प्रतिनिधिसभाको बाँकी अवधि उनलाई प्रधानमन्त्रीमा टिकाउने जिम्मा नयाँ अध्यक्षले लिने सम्भावना भने कमै छ । त्यसैले ओली आगामी महाधिवेशनमा पनि अध्यक्ष पदका उम्मेदवार हुने कतिपय नेताको बुझाई छ । ओली निकट एक नेताले नेपालबहस डटकमसँग नाम नखुलाउने शर्तमा भने– आगामी महाधिवेशनमा ओली फेरि पनि उम्मेदवार बन्नु हुनेछ । किनभने ओलीलाई विस्थापित गरेर पार्टीमा हालीमुहाली गर्न चाहनेहरुको निकै ठूलो डिजाइन छ । त्यसलाई चिर्न पनि ओली एक कार्यकालका लागि पार्टी अध्यक्षमा रहनु हुनेछ ।
ती नेताका अनुसार, दोस्रोपटक मृगौला प्रत्यारोपण गरेपछि ओलीको स्वास्थ्यसमेत तन्दूरुस्त भएको छ । त्यसैले उहाँको दौडधूप अझै बढ्ने छ । एउटा कार्यकालका लागि ओली अध्यक्ष रहनु हुनेछ । तर ओली भने कक्षा नदोह¥याउने भन्दै हुनुहुन्छ नि त भन्दा उने जवाफ दिए– अहिलेको विवाद अन्त्य गर्न मात्र रणनीतिक रुपमा त्यस्तो भनिएको मात्र हो । चैतसम्म पुग्दा बाग्मतीमा धेरै पानी बगिसक्ने उनको अनुमान छ । त्यतिञ्जेल त कार्यकर्ता तहबाटै ओलीको उम्मेदवारी आवश्यक रहेको आवाज बुलन्द हुनेछ । कार्यकर्ताको चाहनाको सम्मान गर्न भएपनि ओलीले एकपटकका लागि पार्टी नेतृत्व गर्नै पर्छ – उनी भन्छन् ।
नेकपाको विधानमा दुई कार्यकालसम्म पार्टी अध्यक्ष बन्न मिल्ने छ । तर ओली भने एक कार्यकालका लागि मात्र अध्यक्ष भएका छन् । त्यो पनि नेकपा एमालेका तर्फबाट । त्यसैले एकता महाधिवेशनमा उनलाई दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न विधानले रोक्दैन । ओली भने अहिले त्यस्तो कुनै सम्भावना नरहेको निकटहरुलाई भन्दै आएका छन् । अहिलेलाई कक्षा नदोह¥याउनेमा ओली दृढ भएको नेकपाभित्र ओलीका निकट नेता सुभाषचन्द्र नेम्बाङले आफू निकटहरुसँग भन्ने गरेका छन् ।
बाहिर त्यही सन्देश प्रवाहित गर्न ओलीले एकता महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्ष बनाउन सघाउने बचन दिएका छन् । प्रचण्ड भने ओलीको बचनप्रति त्यति विश्वास गर्ने अवस्थामा देखिएका छैनन् । किनभने ओलीले पटक पटक धोका दिएको उनले बिर्सिएका छैनन् । खुमलटार निकट स्रोत भन्छ– ओलीसँग अध्यक्ष कम्रेड त्यति धेरै आशावादी हुनुहुन्न । किनभने विगत त्यति गतिलो छैन ।
त्यसैले ओलीको विरोधी खेमासँग प्रचण्डको हिमचिम बढेको छ । माधव नेपालसँगको सहयात्राबाट मात्र आफू सुरक्षित हुने प्रचण्डको विश्वास छ । साथै, परिस्थिति अनुकुल भयो भने आफू पार्टीको एकल अध्यक्ष बन्न नेता नेपालसँगकै निकटता सहयोगी हुने उनको बुझाई छ । प्रचण्ड निकट नेता भन्छन्– एकता महाधिवेशनमा ओली उम्मेदवार नबन्ने अवस्थामा उनको सहयोग प्रचण्डलाई हुनेछ । किनभने ओलीले माधव नेपाललाई कुनै हालतमा पनि सहयोग गर्नेवाला छैनन् । त्यसैगरी ओली आफैं उम्मेदवार हुँदासमेत माधव नेपालले उनलाई स्वीकार्दैनन्, त्यतिबेला या त प्रचण्डलाई समर्थन गर्लान् या त्रिपक्षीय भिडन्त हुने हो ।
प्रचण्ड निकट ती नेताले भने – यदि त्रिपक्षीय प्रतिस्पर्धा भयो भने हामीले नै विजय प्राप्त गर्ने हो । यसरी प्रचण्डले दुवै हातमा लड्डु पाउने गरी रणनीति बनाउन खोजेको देखिन्छ । तर नेकपाभित्रको समीकरण कतिखेर कस्तो बन्ने हो भनेर कसैले अनुमान लगाउन भने मुश्किल छ ।
अर्कातिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि फागुनमा चौधौं महाधिवेशन गरी छाड्ने तयारीमा जुटेको छ । तर कोरोना महामारीले गर्दा केही समय पछाडि धकेलिने सम्भावना पनि रहेको जानकारहरु बताउँछन् । ढिला नै हुँदा पनि भदौ कटाउन मिल्दैन । त्यसैले जेठसम्ममा त जसरी पनि महाधिवेशन हुने नै देखिन्छ । यो पार्टीमा पनि पार्टी सभापतिका आकाँक्षी तीन पक्षबाटै पर्ने देखिएको छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा फेरि दोहोरिने पक्षमा छन् । उनी आफ्नो पक्षबाट एकल उम्मेदवार रहने अनुमान गरिएको थियो । तर उनकै विश्वासपात्र उपसभापति बिमलेन्द्र निधिपनि सभापतिको प्रतिस्पर्धामा देखापरेका छन् ।तर उनले आफूलाई सर्वसम्मत बनाउन पहल गरिदिन देउवालगायत सबै नेताहरुलाई आग्रह गरेका छन् । परिस्थिति हेर्दा लाग्दैन कांग्रेसमा सर्वसम्मत उम्मेदवार आउला भनेर । त्यसैले निधिको उम्मेदवारीको चर्चा जति नै चलेपनि अन्ततः देउवालाई समर्थन गर्ने नै उनको जोडबल रहने छ । त्यसबापत उनी उपसभापति र पार्टी सत्तामा गए उपप्रधानमन्त्री पद सुरक्षित राख्न चाहन्छन् ।
अर्काे पक्ष संस्थापन इतर जो वरिष्ठ नेता रामचन्द्र पौडेलको छहारीमा देखिएको छ, उसले पनि उम्मेदवारी दिने निश्चितै छ । पौडेल आफैं सभापतिको बलियो उम्मेदवार हुन् । उनको पक्षमा रहेका धेरैले सभापतिमा दाबेदारी प्रस्तुत गरिसकेका छन् ।
महामन्त्री डा. शशांक कोइरालादेखि डा. शेखर कोइरालाले पनि लामै समयदेखि सभापतिको उमेदवारका रुपमा आफूलाई उभ्याइसकेका छन् । सर्वमान्य नेता गणेशमान सिंह सुपुत्र प्रकाशमान सिंह पनि यही पक्षका बलिया उम्मेदवार हुन् । उनी पनि सभापतिमा लड्ने पक्षमा खुलिसकेका छन् ।
यतिले मात्रै पुग्दैन पौडेल पक्षबाटै अर्जुननरसिंह केसी, डा. रामशरण महत र डा. मिनेन्द्र रिजालले समेत दावेदारी पेश गरेका छन् । यद्यपि यी तीनै जना चर्चामा आउनका लागि मात्रै मिडियासमक्ष पासो फाल्नेमा पर्छन् । तर पौडेल छहारीको टिमबाट कुनै न कुनै पदमा सुरक्षित रहन चाहिं उनीहरु चाहन्छन् । मुख्य रुपमा भने पौडेल, कोइराला दाजुभाई र प्रकाशमानबीच सहमति बनाउने प्रयास भइरहेको छ । देउवालाई परास्त गर्न यो पक्षबाट एकल उम्मेदवार बन्नै पर्ने दवावमा पौडेल पक्षीय नेताहरु रहेका छन् ।
उता, अर्काे समूहको नेतृत्व गर्दै आएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा चासो देखाएका छन् । गत तेह्रौं महाधिवेशनमा तेस्रो धारका रुपमा उदाएका सिटौला आफैं जित्न नसकेपनि अरुलाई जिताउन सहयोग गर्न भने सक्ने पोजिशनमा छन् । त्यसैले उनीपनि सकेसम्म बार्गेनिङ गर्ने दाउमा देखिएका छन् । आफैं सभापतिको उम्मेदवार नभने पनि उनी पक्षीय गगन थापालाई भने मैदानमा उतारेका छन् । थापाले युवा जमातको नाममा आफू उम्मेदवार हुनसक्ने बताएका छन् । तर उनको भित्री चाहना भने महामन्त्री नै हो ।
सिटौलाको चाहना भनेको पौडेल बाहेक जोसुकै उम्मेदवार बने देउवाको विपक्षमा उभिने हो । यसका लागि गगन र प्रदीप पौडेलले सिटौलालाई दवाव दिइरहेका छन् । उनले औपचारिक रुपमा बाहिर नबोलेपनि भित्रभित्रै डा. शेखर वा डा. शशांक साझा उम्मेदवार भएमात्र सघाउने बताएका छन् । पौडेलका लागि आफू सहमत नहुने पनि उनले प्रष्ट पारेका छन् ।
त्यसैले प्रमुख प्रतिपक्षमा पनि त्रिपक्षीय भिडन्त नै हुने अवस्था छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
जेठ १५, २०८१ मंगलबार
आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
आज गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा
जेठ १५, २०८१ मंगलबार
नेपालको मौसममा रेमल चक्रवातको प्रभाव, देशका विभिन्न ठाउँमा वर्षा
जेठ १५, २०८१ मंगलबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार