बिडारीलाई राजीनामा गराएर बामदेवलाई राष्ट्रियसभामा लग्ने ओलीको तयारी
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार १८:३९:४७
१८ भदौ, काठमाडौं । राष्ट्रियसभाको रिक्त सदस्यमा कसलाई पठाउने भन्ने मुद्धा नै आज बस्ने सचिवालय बैठकको मूलविषय हुने भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले ११ बजेका लागि तय भएको बैठक अपरान्ह ३ बजेसम्म स्थगित गराएका छन् ।
पार्टी भित्रको अन्तरर्विरोध चर्कँदै जाँदा मत्थर गर्न बनाइएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको सचिवालय बैठकको अजेण्डा नै ओझेलमा परेको छ । अब पार्टी उपाध्यक्ष बामदेव गौतम की अर्थमन्त्री डा. युवराज खतिवडालाई सांसद बनाउने विषय नै पहिलो अजेण्डा बन्यो । उपाध्यक्ष गौतमले राष्ट्रियसभामा जाने भनेपछि खाटा बसिसकेको घाउ फेरि चर्किएको छ । गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लगेर प्रधानमन्त्री बनाउने प्रस्ताव पास भइसकेकाले राष्ट्रियसभाको च्याप्टर क्लोज भएको बुझाई ओलीको थियो ।
तर पछिल्लो समय गौतमले पूर्वनिर्णय नै कार्यान्वयन होस् भनी ओलीसँग आग्रह गरेपछि षडयन्त्र त सुरु भएको हैन भन्ने संशय ओलीमा पलाएको छ । सकेसम्म डा. खतिवडालाई नै निरन्तरता दिन चाहेका ओलीले परिस्थिति प्रतिकुल भए गौतमलाई नै सिफारिश गर्ने मनस्थिति बनाएको स्रोतको दावी छ । हिजो साँझ ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष गौतमसँग बेग्लाबेग्लै छलफल गरे । तर प्रचण्ड र गौतम दुवै जना पूर्व निर्णय कार्यान्वयन हुनुपर्ने अडानमा रहेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले निकटहरुसँग बालुवाटारमा राति अबेरसम्म छलफल गरे । छलफलमा अर्थमन्त्री डा.खतिवडालाई च्याप्दा प्रधानमन्त्रीलाई राजनीतिक रुपमा धेरै क्षति पुग्ने तर्क धेरैले गरेको स्रोतको दावी छ । तर ओलीले भने सकेसम्म प्रचण्ड र गौतमलाई सहमत गराउने नभए मात्र दोस्रो विकल्पमा सोच्ने मनस्थिति बनाएका थिए । उता, ओलीसँग भेटेर खुमलटार पुगेका प्रचण्डले पार्टी नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । दुवैबीच आज बस्ने सचिवालय बैठकमा गौतमलाई नै राष्ट्रियसभामा पठाइनुपर्ने अडानमा यथावत् रहने सहमति जुटेको थियो ।
त्यसपछि आज बिहान ओलीले निकटवर्ती नेताहरुसँग थप छलफल गरेका छन् । एकपटक अन्तिम प्रयास गर्ने, त्यति गर्दापनि सहमति नजुटे विकल्पमा सोचिने जानकारी गराएका थिए । ओलीले प्रचण्डसँग थप प्रस्ताव गर्ने भएका छन् । जसमा सरकारबाट मनोनित कोटामा परेका रामनारायण बिडारीलाई राजीनामा गराएर गौतमलाई सिफारिशको प्रस्ताव गर्ने भएका छन् । तर प्रचण्डले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना न्यून रहेको छ ।
प्रचण्ड र नेता नेपाल पक्षले गौतमलाई सांसद बनाएर उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने तयारी गरेका छन् । त्यसैले डा. खतिवडालाई निरन्तरता दिने कुनै पनि प्रस्तावलाई स्वीकार्ने अवस्थामा प्रचण्ड छैनन् । ओली पनि अब गौतमलाई धेरै चिढ्याउने पक्षमा छैनन् । गएको स्थायी कमिटी बैठकमा गौतमले लगाएको गुण उनले विर्सेका छैनन् । बैठकमा गौतमले ओलीलाई बल पुग्ने गरी ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैले प्रधानमन्त्री अब गौतमलाई चिढ्याउने र बिच्क्याउने पक्षमा छैनन्– बालुवाटार निकट स्रोतले भन्यो । तर प्रचण्ड र नेपालको इच्छा मुताबिक अर्थमन्त्री बनाउने पक्षमा भने उनी छैनन् ।
गौतमलाई सांसद बनाइएको अवस्थामा मन्त्री नदिने दाउ ओलीको छ । तर गौतमपत्नी तुलसा थापालाई भने मन्त्रिमण्डलमा ल्याउने उनको तयारी रहेको छ । यसबारे गृहकार्य गर्न ओली निकट नेताहरुसँग अहिले परामर्श गरिरहेका छन् ।बामदेवलाई अर्थमन्त्री बनाउने प्रस्ताव आयो भने त्यसलाई निरस्त गर्न ओलीले विष्णु पौडेललाई प्रस्ताव गर्न सक्ने पनि स्रोतको भनाई छ । पौडेल र गौतमबीच घनिष्ट सम्बन्ध रहेको छ ।
सचिवालय बैठकको पहिलो अजेण्डा नै यो भएकाले अरु विषयमा छलफल गर्ने अवस्थै रहेन भन्दै ओली निकट स्रोत भन्छ– कार्यदलले दिएको प्रतिवेदन उपर भोलि पर्सी छलफल हुनसक्छ । आज चाहिं यही विषयको छिनोफानो गर्नुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार