बामदेव ओलीको गलगाँड
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार २०:२५:०
१९ भदौ, काठमाडौं । नेपाली राजनीतिमा गज्जबको पात्र हुन् बामदेव गौतम । क्रान्तिकारी स्वरुपमा प्रस्तुत हुने उनको शैली अन्ततः सत्ताको चास्नीमा चुर्लम्मै डुब्ने गरेको छ । सत्ता भन्दा बाहिर टिक्नै नसक्ने उनको चरित्र हो । त्यसैले १८ पल्टको अनवरत प्रयासपछि अन्ततः आज उनी संघीय संसद राष्ट्रियसभाको सदस्यमा मनोनित कोटामा पर्ने निश्चित भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई रिक्त पदका लागि मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । गत आम निर्बाचनमा बर्दियाबाट उम्मेदवार रहेका गौतम नेपाली कांग्रेसका प्रत्याशी सञ्जय गौतमसँग केवल ७५३ मतान्तरले पराजित भएका थिए । देशैभरि वाम गठबन्धनको उभार आएका बेला गौतमले भने अन्तर्घातका कारण पराजय भोग्नुपरेको थियो । त्यसयता उनले संसद्मा छिर्न अनेक टिकडम लगाए । तर प्रधानमन्त्री केपी ओलीले उनको चाहनामा सधैं तगारो लगाइदिए ।
अहिलेपनि प्रधानमन्त्रीको चाहनाले गौतम सांसद भएका होइनन् । यो सारा लोकलाई थाहा छ । स्वयं गौतम यसबारे वाकिफ छन् । ओलीले अन्तिम समयसम्मै आफ्ना विश्वासपात्र डा. युवराज खतिवडालाई ल्याउन चाहे । तर पार्टी भित्रको समीकरणमा फेरबदल आएपछि त्यसलाई मिलाउन उनले यसपाला भने गौतमको चाहनालाई क्रस गर्न सकेनन् ।
गौतमको विगत
सत्तामा मात्र रमाउने गौतम चरित्र नेपाली राजनीतिमा रुची राख्ने सबैलाई राम्रो हेक्का छ । ०५१ सालमा एमालेले अल्पमतको सरकार बनाएपछि उनी पार्टीको उपमहासचिव भए । तर सर्वाेच्च अदालतले मनमोहन अधिकारीले गरेको मध्यावधिको सिफारिशलाई अस्वीकार गरेपछि नेपाली राजनीतिमा गौतमको इन्ट्री धमाकेदार रह्यो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी राप्रपा भित्र गौतमले राम्रो खेले ।
उनले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टीबाट पास गराए । उक्त मन्त्रिमण्डलमा उनी उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने । त्यसपछि त उनले नेपाल प्रहरीलाई पार्टीको नोकर नै बनाए । ३६ औं दिनमै उनले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर कनिष्ठलाई ल्याए । त्यसयता उनको सत्तामोहको यात्रा अबिराम जारी छ ।
देउवा सरकारले प्रस्ताव गरेको महाकाली सन्धिमा तत्कालिन एमालेले साथ दिने निर्णय गरेपछि गौतम विच्किए । उनले एमालेलाई भारतीय दलाल भन्दै नेकपा माले गठन गरे । तर लामो समय उनी त्यहाँ टिक्न सकेनन् । उनको राष्ट्रवादी नारा त्यसै सेलायो । त्यसैताका एमालेले टुंडिखेलमा आमसभा गरी देशको नम्बर एक भ्रष्टाचारीमा गौतमलाई घोषणा गरेको थियो । नेता प्रदीप नेपालले गौतमले एयरपोर्टबाट सुन तस्करीदेखि विभिन्न तस्करी काण्डमा वितण्डा मच्चाएको भन्दै उक्त उपमा दिएका थिए ।
त्यसबेला भएको आम निर्वाचनमा उनको पार्टीले एक सीट पनि जित्न सकेन । अनि आफैंले बनाएको नेकपा माले मैनाली दाजुभाईलाई जिम्मा लगाएर उनी एमालेमै छिरे । किनभने एमालेमा मात्रै सत्ताको चार्म थियो । त्यसपछिका हरेक घटनाक्रममा गौतम अस्थिर र सत्ता केन्द्रित देखिएका छन् । ओलीको राजीनामा माग्ने प्रकरणमा पनि उनी कहिले यता त कहिले उता देखिए । उनको अस्थिर चरित्रले गर्दा कसैको पनि विश्वास जित्ने अवस्था छैन् ।
ओलीका लागि घाँडो
विगतमा ओलीलाई गौतमले साथ र सहयोग नगरेका होइनन् । तर सबैको मूल्य उनले चाहेका छन् । बर्दियाबाट चुनाव जितेका थिए भने गौतमले ओलीलाई उहिल्यै हायलकायल बनाइसक्थे । किनभने समकालिन नेताहरुमा प्रधानमन्त्री हुन बाँकी उनी मात्रै छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालको लहैलहमा लागेर उनले ओलीको झाँको झारिसक्ने थिए । तर उनी पराजित भइदिए । गौतमको बुझाईमा उनलाई हराउने काम पनि ओली पक्षबाटै भएको थियो । त्यसको भनक उनले ओलीलाई दिइसकेका छन् ।
गौतम राष्ट्रियसभामा बसेर विधेयकको ड्राफ्ट कोर्ने खालका मानिस होइनन् । उनी सांसद् हुनु भनेको सरकारमा जान नै हो । त्यसको संकेत उनले गरिसकेका छन् । अब अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्रीको कुर्सी उनले ताकेका छन् । तर ओली कुनैपनि हालतमा त्यो मान्नेवाला छैनन् । तर सांसद भइसकेपछि गौतमलाई मन्त्रिमण्डलमा नलगी ओलीलाई सुखै हुने छैन । किनभने प्रचण्ड र नेता नेपालले ओलीलाई कमजोर बनाउनकै लागि भएपनि गौतमलाई मन्त्रिमण्डलमा सिफारिश गर्ने अवस्था छ । त्यसैले सांसद भएका गौतम ओलीका लागि भोलिदेखि नै घाँडो हुने देखिन्छ ।
गौतमको भूमिका
राजनीतिमा अस्थिर चरित्रको छवि बनाएका बामदेव अहिले ओलीसँग निकट रहने रणनीतिमा हुनेछन् । तर ओलीले मन्त्री नबनाएको अवस्थामा भने खटपट सुरु हुने निश्चित छ । गौतमको स्वभाव र चरित्रबारे राम्रो जानकारी भएका नेताहरु प्रचण्ड र नेपाल पनि त्यही मौकाको ताकमा छन् ।
ओलीसँग चिढिएको अवस्थामा फेरि गौतमको महत्वाकांक्षा बढाएर सरकारलाई अस्थिर बनाउने उनीहरुको योजना रहनेछ । त्यसैले अबको केही महिना भित्रै ओली र गौतमबीच फेरि मनमुटाव सुरु हुने देखिन्छ । तर ओलीले बामदेव पत्नी तुलसा थापालाई मन्त्रिमण्डलमा ल्याएर थामथुम पार्ने प्रयास गर्न सक्छन् । तर बामदेव आफैं सकृय हुन चाहन्छन् । उनले ओलीलाई भेटेरै यसबारे अवगत गराइसकेका छन् । त्यसैले श्रीमतीलाई नभई आफैंलाई मन्त्री बनाउन उनको जोडबल रहने देखिएको छ ।
ओली पनि गौतमसँगै मिलेर जाने मनस्थितिमा पुगेको अवस्थामा पनि अर्थमन्त्रालयको जिम्मेवारी भने नदिनेमा दृढ छन् । त्यसैले अरु कुनै विकास निर्माण सम्बन्धी मन्त्रालय दिएर गौतमलाई थामथुम पार्ने दाउमा ओली लाग्न सक्छन् । तर गौतम भने अब सामान्य खालका मन्त्रालय लिएर नजाने पक्षमा अडिग हुन सक्छन् । जे भएपनि ओली र गौतमबीचको अस्थायी युद्धविराम केही समयमै तोडिन सक्छ ।
विष्णु पौडेलको संभावना
कदाचित बामदेव अर्थमन्त्री भएनन् भने विष्णु पौडेलको संभावना रहेको छ । आफू नहुने अवस्थामा गौतमकाे समेत पौडेललाई साथ रहने छ । पौडेल मन्त्री भएको अवस्थामा डा. खतिवडाले समेत सघाउने छन् । प्रधानमन्त्रीको मुख्य आर्थिक सल्लाहकारको रुपमा डा. खतिवडा नियुक्त हुनसक्ने सम्भावना रहेको छ । तर त्यसो हुनका लागि पौडेल नै अर्थमन्त्री हुनुपर्ने डा. खतिवडाको शर्त रहेको छ । उता, प्रचण्ड र माधव पक्ष भने सुरेन्द्र पाण्डेलाई नै अर्थको जिम्मेवारी दिनुपर्ने पक्षमा रहेका छन् । संभवतः यही हप्ता मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने संभावना रहेको स्रोतको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार