कोरोना महामारीमा पनि छठको उत्साह
नेपालबहस संवाददाता
मंसिर २, २०७७ मंगलबार २०:८:५६
२ मंसिर, जनकपुर । धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् ।
विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या सिर्जना हुने देखिएको छ तर पनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको देखिन्छ ।
यतिखेर ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ । कोरोना सङ्क्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठ पर्व मनाउने तयारीमा जुटेका छन् । यसका साथै छठ मनाउनका लागि आवश्यक पर्ने सरसमानको किनमेलका साथै नयाँ माटाका भाँडाकुडा र बाँसको टोकरी तथा कोनियाको खरिदारीमा जुटेका देखिन्छ ।
भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलिदेखि शुरु हुने भएको छ । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलि बुधबार शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।
पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा वर्तालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ ।
यस विधिलाई खरना भनिन्छ । भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्ने वर्तालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ ।
त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।
यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ ।
आरोग्यं भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय वर्तालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन् ।
पर्र्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही वर्तालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ । धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएको छ, “शौनकमुनिले सुतजीसमक्ष पृथ्वीमा थुप्रै मानिस रोगले ग्रस्त, कतिपयलाई सन्तान छैन् ।
यस्ता व्यक्तिका कल्याणका लागि कुनै उपाय छ कि छैन् भनेर जिज्ञासा राख्दा उहाँले प्राचीन कालमा एक दुष्ट क्षत्रीय राजा यक्ष्मा रोगबाट पीडित थिए । एक ब्राम्ह्मणको सल्लाहमा उनले सूर्यदेवको विधिवत् रुपमा चार दिनसम्म छठ पर्वको रुपमा पूजापाठ गरेपछि सो रोगबाट मुक्ति पाएका थिए । त्यसपछि, यो पर्वले विधिवत् रुपमा शुरु भएको विश्वास गरिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार