पदयात्रामा रमाउने पर्यटकको रोजाइमा पर्दै देवचुली डाँडा

नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १७:०:५२

♦दयाराम आचार्य
५ पुष , कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा पदयात्राको गन्तव्य बन्दै गएको छ । जिल्लाकै सबैभन्दा अग्लो डाँडाका रूपमा रहेको देवचुलीमा अहिले दैनिक उल्लेख्यरूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । समुद्र सतहबाट एक हजार ९३४ मिटर उचाइमा रहेको देवचुली डाँडा पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । पदैलयात्राका क्रममा देखिने प्राकृतिक छटाले यहाँ पुग्ने पर्यटकको मन प्रफुल्लित बनाउने गरेको छ ।
हरियो वनले ढाकेका पाखा, दक्षिण क्षेत्रमा नवलपुरको राजमार्ग, वरपरका बस्ती र अविरल बगिरहेको नारायणी नदीको दृश्यले पदयात्राका क्रममा हुने थकाइलाई बिर्साइदिन्छ । उत्तरतर्फ देखिने हिमशृङ्खला सुन्दरता झनै मनमोहक हुने गर्दछ । पहाडको टुप्पोमा पुग्दा माछापुच्छ«े्र, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला समीपमा देखिन्छन् । जसले यहाँ पुग्ने सबैलाई आकर्षित बनाउँदछ ।
पदयात्राका लागि अहिले जिल्लाका आन्तरिक पर्यटकसहित चितवन, नवलपरासी पश्चिम, रुपन्देहीलगायत आसपासका ठाउँबाट यहाँ पर्यटक आउने गरेका छन् । देवचुली डाँडा पुग्दा निकै रमाइलो अनुभूति भएको मध्यविन्दुका सुवास खत्रीले सुनाए । “चढ्दा केही अप्ठ्यारो त हुन्छ नि, तर जब डाँडाको टुप्पोमा पुगिन्छ, त्यहाँबाट देखिने हिमशृङ्खला, पहाडका टाकुराले मनै आनन्दित बनाउँछ”, खत्रीले भए । यति लामो पदयात्रा पहिलोपटक गरेको बताउने उनले फेरि फेरि पनि आफू आउन लालयित भएको बताए ।
पूर्वपश्चिम राजमार्गको दलदलेबाट मुण्डे–पोखरी हुँदै जाँदा करिब २५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीसम्म २० किलोमिटरमा यातायातको सुविधा छ । त्यसपछि भने पैदलयात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीबाट करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीको टुप्पोमा पुगिन्छ । देवचुली टुप्पोबाट तनहुँ, पाल्पा, कास्कीलगायतका जिल्लाका भूभागसमेत अवलोकन गर्न सकिन्छ ।
दलदले मुण्डे–कीर्तिपुर हुँदै समेत देवचुली डाँडा पुग्न सकिन्छ । यो मार्ग भएर जाँदा करिब १६ किलोमिटर पर्छ । कीर्तिपुरसम्म सवारी जान्छ, त्यसपछि पैदलयात्रा शुरु हुन्छ । कीर्तिपुर हुँदै जाँदा करिब तीन घण्टाको पैदलयात्रा गरेपछि टुप्पोमा पुग्न सकिन्छ । बोझापोखरीमा आवासका लागि पर्याप्त होटल छन् । चुलीबोझामा मगर समुदायले सञ्चालन गरेको घरवाससमेत छ । देवचुलीको टुप्पोबाट सूर्योदयको दृश्य हेर्न जानेहरु अघिल्लो साँझ नै बोझापोखरीमा गएर बस्ने गर्दछन् । साँझ बस्नेहरु बिहानै पैदलयात्रामा निस्किन्छन् । सूर्योदयको दृश्य हेर्न आउनेहरु अघिल्लो साँझ नै बोझामा बास बस्ने गरेको स्थानीय भविलाल गाहामगरले बताए । अहिलेको समयमा दैनिकजसो ९-१० समूह साँझ नै बोझा आउने गरेको उनले बताए। यसले यस क्षेत्रको व्यापार–व्यवसायसमेत बढाएको गाहामगरले बताउनुभयो ।
देवचुली डाँडाको पदैलमार्गमा समेत केही साना होटल रहेका छन् । सामान्य खाना र आवासको सुविधा छ । कोही राति यिनै साना होटलमा पुग्ने गर्दछन् । यसले बिहान थोरै हिँडेर पनि टुप्पोसम्म पुग्न सकिन्छ । देवचुली डाँडाको टुप्पो पुग्नुअघि तीनकन्या माईको मन्दिरसमेत रहेको छ । गुफाभित्र अवस्थित यस मन्दिरमा थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमा दिन विशेष पूजा गर्ने गर्दछन् । यसै स्थानमा पाँच वर्षमा एकपटक कन्तरी माईको पूजा गर्ने चलनसमेत छ । तीनकन्या माईको मन्दिर रहेको गुफामा परापूर्वकालमा पाँच पाण्डव गुप्सवास बसेको समेत किंवदन्ती छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको देवचुली डाँडामा आवश्यक पूर्वाधार नहुँदा भने यहाँ पुग्ने पर्यटकले असहज महसुस गर्ने गरेका छन् । खानेपानीको समस्या, पर्याप्त विश्रामस्थल नहुँदा यात्रा केही असहज हुने गरेको यहाँ पुग्ने पर्यटकले गुनासो गर्ने गरेका छन् । पदमार्ग निर्माण गरी यसलाई व्यस्थित बनाउन सके यहाँ उल्लेख्यरूपमा पर्यटक आउने देवचुलीका स्थानीयवासी युवा राजु चापागाईँले बताए ।
देवचुली डाँडा जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र भएकाले यसको व्यवस्थापनमा काम थालिएको देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले बताए । लिफ्टमार्फत खानेपानी व्यवस्थापन गर्ने, पदमार्गको निर्माणलगायत योजना रहेको उनले बताए । पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश र सङ्घीय सरकारले यस वर्ष रु १० लाखका दरले बजेट विनियोजन गरेको उपप्रमुख तिवारीले बताए ।
गत वर्ष पनि प्रदेश सरकारले पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको थियो । सो बजेटबाट केही अप्ठ्यारो स्थानमा पदमार्ग र बाटो निर्माणको काम भएको उनले बताए । पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली डाँडा गण्डकी प्रदेशभित्रका ११० पर्यटकीय गन्तव्यभित्र पर्दछ । प्रदेश सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमा नवलपुरका १० गन्तव्यभित्र देवचुली डाँडा पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः फाइनल खेल्ने सुरुवाती टीममा छन यी खेलाडी
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
फागुन १४, २०८१ बुधबार