बल्ल लालपुर्जा पाइयो !
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार २३:३४:५४
११ पुष, महोत्तरी । ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग परेकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भने, “हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?” अर्थात मेरा नाउँमा बन्नु रहेछ, अनि मेरा ससुरा र पतिले के पाउँथे र ?
शुक्रबार दुखनीसहित गौशाला नगरपालिकाका वडा नं १०, ११ र १२ का १४० घरबासीले आफ्नो घडेरीको जग्गा धनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । साविकको पञ्चायतीकालमा १ नं बहादुरगञ्ज र २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनायता २०४९ को स्थानीय निर्वाचनमा लक्ष्मीनियाँ गाउँ विकास समिति भनिएको ठाउँ हाल गौशाला नगरपालिकाको १०, ११ र १२ नं वडामा समेटिएका छन् । वर्षौदेखि आफ्नो नाउँमा जग्गा पनि छ भन्ने अनुभूति गर्न नपाएका गरीबका लागि शुक्रबार प्राप्त लालपुर्जा ठूलो खुशीको विषय बनेको छ ।
“बाबु जोहर अली लालपुर्जा हेर्ने धोकोमै जानुभयो, म पनि जीवनको अन्तिमकालमा टेकीसकें, जीवनमा यस्तो खुशी पहिलो पटक महसुस गर्दैछु”, गौशाला–१० कै ७८ वर्षीय अव्दुल रहमान चुरौटेले खुशीका आँसु पुछ्दै भनिन्, “अब हाम्रो घर आफ्नै नाउँको जग्गामा भयो ।” नापी कार्यालय महोत्तरीले दिएको लालपुर्जाको जग्गाधनी महलमा अव्दुल रहमान चुरौटे र उनकी पत्नी जमनेशा खातुनको नाम उल्लेख छ ।
पुस्तौंपछि आफ्नो घर रहेको जग्गाको लालपुर्जा पाउँदा गौशाला–११ की गीता श्रेष्ठ, गौशाला–१० की ७३ वर्षीया माल्सरदेवी, जलिल शेष र सैपूmल खातुन पनि खुशीले दङ्ग परेकी छिन् । “बाजे, बाबु यसै ठाउँमा सिद्धिए, उनीहरुले लालपुर्जा हेर्न पाएनन्”, सैपूmल खातुनले भनिन्, “जे होस्, अहिले हामीले पायौं, अमूल्य कुरो पाएको जस्तो खुशी छ ।” “हामीले भोगको आधारमा गरेको नापीपछि वितरण गर्ने लालपुर्जामा घरमूली पति, पत्नी दुबैको नाउँ राख्ने गरेका छौं”, नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत राकेशकुमार रशिकले भने, “यसले महिलालाई मेरो पनि घरको सम्पतिमा स्वामित्व छ भन्ने स्वाभिमान हँुदो रहेछ ।” मुख्य घरमूली पति वा पत्नीको मृत्यु भइसकेको रहेछ भने दुबैमध्ये जो जीवित छन्, उनकै नाउँमा जग्गाधनी प्रमाणपुर्जा बनाइने गरिएको रशिकले बताए ।
लालपुर्जा वितरण गर्न नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख प्रशासकीय अधिकृत रशिक, मालपोत तथा भूमिसुधार कार्यालय महोत्तरीका प्रमुख दीपेन्द्रकुमार झासहितका अधिकारी घरबासीहरुकै बस्तीमा शुक्रबार पुग्नु भएको थियो । लालपुर्जा वितरण कार्यक्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले अब कोही जग्गावीहिन नरहने बताए । “हामीले भूमि आयोगसँग सम्झौता गरिसकेका छौं”, उनले भने, “यही आर्थिक वर्षभित्र सबै अव्यवस्थित बसोबासी र सुकुम्बासीको व्यवस्थापन गरी सक्नेछौं ।”
गौशाला नगरपालिकाका–१०, ११ र १२ वडाबस्तीका १४० परिवारले शुक्रबार लालपुर्जा पाएका छन् । लालपुर्जा पाउनेमा मुस्लिम, कोइरी, नेवार र तत्मासहित आर्थिक रुपले पिछडिएका समुदाय छन् । सबै परिवारलाई प्रदान गरिएको लालपुर्जाअनुसारको जग्गा जम्मा पाँच हेक्टर क्षेत्रफल रहेको नापी कार्यालय महोत्तरीले जनाएको छ । घरबासी जग्गा नापी गरेर खडा गरेको स्रेस्ताका आधारमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै आएको कार्यालयले जनाएको छ । यसअघि जिल्लामा कायम रहेका (२०६४ सालअघि) ७६ गाविस (गाउँ विकास समिति) र एक नगरपालिका क्षेत्रका सबै बस्तीमा घरबासी जग्गा नापी गरेर जग्गाधनी प्रमाणपुर्जा दिने गरिएको प्रमुख नापी अधिकृत रशिकले बताए ।
चालु आर्थिक वर्षमा ११ वटा पहिलेका गाविस क्षेत्रमा लालपुर्जा वितरण गरिने गरी काममा लागिएको नापी कार्यालय महोत्तरीले जनाएको छ । लालपुर्जा वितरण गरिनेमा बलवा, किसाननगर, पशुपतिनगर, हाथीलेट, रामगोपालपुर, लोहारपट्टी, भटौलिया, इटहर्वाकट्टी, साँढा, धिरापुर र मनरा छन् । तीमध्ये बलवामा पुष महिनाभित्रै लालपुर्जा वितरण गरिने प्रमुख नापी अधिकृत रशिकको भनाइ छ ।
जिल्लामा बाँकी रहेका पहिलेका गाविस क्षेत्रमा आउने आर्थिक वर्षका लागि पनि लालपुर्जा वितरणको पूर्वतयारी अहिलेदेखि नै थालिएको छ । अब यो निरन्तर प्रक्रियाबाट सबै बस्तीलाई समेटिने नापी कार्यालय महोत्तरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार