मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १५:४५:७
खेमराज गौतम ७ माघ, गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै ठूला आयोजना आगामी वैशाखसम्म कालोपत्र हुनेछन् ।
मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डको लामो समयदेखि अलपत्र २५ किलोमिटर सडकको सन्तोषजनकरूपमा काम भइरहेको छ । बलेवा विमानस्थल पनि स्तरोन्नति भएर कालोपत्रको चरणमा छ । यसले जिल्लामा विकास, सुविधा र अवसरमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । लामो समयदेखि कालोपत्र हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मंसिर अन्तिम सातादेखि निर्माणले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले सदरमुकाम खण्डबाट घोडाबाँधेसम्म झण्डै २०० मजदुर परिचालन गरेका छन् ।
मध्यपहाडीको कालोपत्रका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघि नै भइसकेका थिए । सडक चौडा पार्ने, ग्यावियन भर्ने, मेसेरेनरी पर्खाल र नाली निर्माण गर्ने काम अन्तिम चरणमा छन् भने बागलुङ बजारको उपल्लाचौरदेखि कालोपत्रका लागि सब–वश बिछ्याउने कार्य शुरु गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा निर्माण व्यवसायीलाई अन्तिम चेतावनी दिएपछि लोकमार्गको काम अगाडि बढेको थियो भने नागरिक उड्डयन प्राधिकरणको निरन्तरको समन्वयपछि अहिले बलेवा विमानस्थालको धावनमार्ग कालोपत्रका लागि ग्राभेलको काम भइरहेको छ ।
अबको जेठभित्र कालोपत्र नगरे निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न आयोजनाले सिफारिस गर्ने चेतावनीसँगै लोकमार्गको जिल्ला सदरमुकाम खण्ड कालोपत्र हुने सङ्केत देखिएको आयोजनाका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए। “बागलुङ बजारदेखि घोडाँबाधेसम्म दुई खण्ड रहेकामा बागलुङ बजारदेखि बिहुँसम्म कालोपत्रका लागि धेरै काम भएको छ”, शर्माले भने, “बिहुँबाट घोडाबाँधे खण्डको ठेकेदारले पनि छिट्टै परिणाम दिने गरी काम अगाडि बढाउने बताएको छ ।”
जिल्लाकै गौरवको आयोजनाका रूपमा रहेको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने आशा पलाएको छ । धावनमार्ग कालोपत्र हुन नसक्दा दुई वर्ष पहिले केही महिना सञ्चालनमा आएर बन्द भएको विमानस्थलमा अहिले धमाधम कालोपत्रको काम अघि बढाउन थालिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम द्रुतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर असारसम्म नियमित जहाज चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिए । विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए ।
विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि बन्द भएको थियो । निरन्तर काम भइरहेको र जेठसम्म कालोपत्रको काम सकेर नागरिक उड्डययन प्राधिकरणलाई हस्तान्तरण गरिने निर्माणको जिम्मा लिएको काष्ठमण्डप निर्माण सेवाका साइड इन्चार्ज वासु थापाले जानकारी दिए। अहिले ग्राभेल, तारबारलगायतका काम धमाधम भइरहेको छ । रु सात करोडमा ठेक्का सम्झौता भएको विमानस्थलको केही पूर्वाधार संशोधनको काम भइरहेको छ ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको लोकमार्गमा थोरै मजदुर परिचालन गरेकामा स्थानीयवासी रुष्ट छन् । उपल्लो खण्डका निर्माण व्यवसायी सूर्यबहादुर खड्काले मजदुर परिचालनको काम निकै कम भएको र अबको काम भनेको ठूला औजारको मात्रै रहेका कारण १०० मजदुरले मात्रै पुग्ने बताए ।
उपल्लो खण्डको क्रसर उद्योगसमेत शनिबारदेखि सञ्चालनमा आएको छ । तल्लो खण्डको क्रसर उद्योगले एक महिनादेखि कच्चा सामग्री उत्पादन गरिरहेको छ भने खहरे भिरको ढुङ्गा कटानको काम अन्तिम चरणमा छ । अहिले तल्ल्लो खण्डमा समेत जम्मा १०० कामदार परिचालन गरिएको छ ।पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले जेठभित्र जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्र नभएको खण्डमा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेसमेत बताएको छ । “यो अन्तिम अवसर हो, अहिले निर्माणकार्य हेर्दा जेठसम्म राम्रै काम हुन्छ भन्ने देखिएको छ”, आयोजनाका इञ्जिनीयर शर्माले भने, “यदि बीचमै काम छाडेर गएको खण्डमा पुनः म्याद थप नहुने र सोझै कालोपत्रका लागि सिफारिस गरेर माथि पठाइनेछ ।” ठेक्का सम्झौता भएको पाँच वर्षपछि कालोपत्रका लागि काम शुरु भएको भन्दै सबैले आयोजना सम्पन्न गर्न सहयोग गर्नुपर्ने लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले बताए ।
कूल एक हजार ७७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । सोमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासिनी बताए । बागलुङको ‘लाइफलाइन’को रूपमा जोडिएको सडकमध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत-सिद्धिसाइ जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी-एससिएफ-इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरिएको थियो ।
लोकमार्गको निसीखोला खण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सदरमुकामबाट बिहुँसम्मको खण्डको ठेक्का अवधि यही माघ १२ र बिहुँबाट घोडाबाधे खण्डको ठेक्का मिति माघ ९ गते सकिँदैछ । दुवै निर्माण कम्पनीलाई अन्तिम पटक छ महिनाको म्याद थप्ने आयोजनाको तयारी छ । निरन्तरको दबाब र समन्वयका कारण दुवै आयोजनाले अन्तिम रूप लिनेमा विश्वस्त भएको निर्वतमान सङ्घीय सांसद डा सूर्य पाठकले बताए।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार