कागतीका बिरुवामा पलाएको मुनाले किसान दङ्ग !
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १९:२६:२६
७ माघ, बलेवा । कान्लामा रहेका चिलौनेका रुखको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाइका रुखको ठुटो कुहिदैगर्दा खेतका गरा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको रुप धारण गर्दै छ । बिरुवामा मुना मात्रै पलाएका छैनन् तिनै मुना हेरेर दङ्ग पर्ने किसानका मनमा आशा पनि पलाएको छ । बागलुङ नगरपालिका–१२ को सहेलामा रहेको ठूलो फाँट यतिबेला कागतीका बिरुवामा पलाएको मुनाले सिँगारिएको छ ।
रुख र झारपात फाँडेर उजाड देखिने खेत नजिकैबाट नियाल्दा भने भविष्यको भाषा बोलिरहेको हुन्छ । खेती छाडेर खाडल खनेर कागतीको बिरुवा लगाउँदा धेरैले खेत बाँझो राखेको भनेर किसानलाई गाली गरेका थिए । अहिले हुर्किंदै गरेका कागतीका बिरुवाले प्रश्नहरुको जवाफ दिइरहेका छन् । सहेलाको यो फाँटमा रहेको खेतको मोही भने धेरै बागलुङ नगरपालिका– १४ मा बस्छन् । अर्माह गाउँमा बस्ने ४० किसानको समूह छ । ‘चासो किसान समूह’ले जमिन एकीकृत गरेर कागती लगाएको हो ।
“आम्दानीका लागि क्रमभङ्गता गर्नेपर्ने थियो, त्यो साहस हामीले गर्यौं’, समूहका अध्यक्ष केशव सुवेदी भने, “बिरुवा रोप्ने बेलासम्म के कसो हुने हो भन्ने थियो, अहिले मुना पलाए, हाम्रो आश जागेको छ ।” परम्परागत खेती प्रणालीले खर्चसमेत नउठेपछि बाली परिवर्तनमा लागेको सुवेदीले बताए । तीनसय रोपनी जमीनलाई एकीकृत गरेर कागती खेती थालिएको छ । यो वर्ष दुई हजार एकसय बिरुवा रोपिएको र बाँकी जमीनमा अर्को वर्ष बिरुवा लगाउने योजनामा किसान छन् ।
“हाम्रो सिकाइ पनि हो एकै पटक लगाउँदा उत्पादन पनि एकै खालको हुन्छ”, सुवेदी भन्छन्, “बिरुवा जस्तै उत्पादनमा पनि विविधताको लागि हामीले क्रमशः काम गर्ने सोच बनायौं ।” छिटो उत्पादन लिन हाँगा नर्सरी गरिएका बिरुवा र बीउबाट निकालिएका बिरुवा दुबै लगाइएको छ । किसानले कागती खेती आफ्नै बलबुताले शुरु गरेका हुन् । अहिले भने सरोकारवाला निकायको ध्यान तानिएको छ । एक रोपनी जमीनको प्रतिवर्ष रु पाँच हजार उपलब्ध गराउने गरी जमीन एकीकृत गरिएको थियोे । यो वर्षको वर्षे फसल आउने समयमा जग्गाधनीलाई रकम उपलब्ध गराइने छ ।
अधिकांश किसान समूहमा आबद्ध रहेकाले उनीहरुको शेयर वृद्धि गर्ने योजनामा समूह छ । अहिले सय रोपनी जमीनमा बिरुवा लगाइएको छ । बाँकी २०० रोपनी जमीनमा बिरुवा लगाउन स्थानीय सरकार र सरोकारवालको समेत चासो बढेको वडाध्यक्ष चक्रबहादुर खत्री बताए । “हामीले यो काममा प्रोत्साहन गर्छौं, किसानले समूहमा उत्पादन गर्न थाले भने आम्दानी र रोजगारी दुबै बढ्छ”, खत्रीले भने, “वडा, नगर र प्रदेशका कार्यक्रममा यो परियोजना समावेश हुन्छ ।” नगरपालिका वडा कार्यालयका साथै कृषिसँग सम्बन्धित सरकारी कार्यालयसमेत उनीहरुको खेती हेर्न पुग्न थालेका छन् ।
बिरुवा, सिँचाइ र व्यवस्थापनको लागि सहयोग जुट्न थालेको समूहले जनाएको छ । दुई जना किसानलाई कर्मचारीको रुपमा परिचलन गरेर खेतीको रेखदेख, मल र सिँचाइ गर्न थालिएको अगुवा किसान ढाकाराम सुवेदीले बताए । अहिले मुना पलाएको कागतीले चार वर्षमा फसल दिने उनले बताए। समूहले दुई हजार १०० बिरुवाका लागि मात्रै रु ४० लाख खर्च भएको जनाएको छ । अझै बाँकी जमीनमा बिरुवा लगाउँदा खर्च बढ्छ । “अहिलेको खर्च मात्रै हेरेका छैनौं, भोलिको आम्दानीको पनि हिसाब गरेर काम थालेका हौ”, सुवेदीले भने,“पहेँलपुर कागती सुन जस्तै टल्काउने लक्ष छ ।” चार वर्षपछि एउटै बिरुवाले दश बिरुवा बराबरको खर्च उठाउने उनले विश्वास व्यक्त गरे ।
बजारमा कागतीको माग र मूल्य राम्रो रहेकाले उनीहरुले व्यावसायिक खेती थालेको बताए । अहिले स्थानीय बजारमा कागतीको मूल्य प्रतिकिलो रु २२० पर्छ । एउटा वयस्क कागतीको राम्रो बोटले वर्षमा १०० किलोभन्दा धेरै उत्पादन दिनसक्छ । उनीहरुले कागतीका लागि मल र किसानको थप सहभागिता वृद्धिका लागि सोही जमीनमा गाई फार्म र भित्री बालीकोसमेत योजना बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार