आफैँ फुटेर विस्तारै झर्न थाल्यो किराँती पुर्खा रैछाकुलेको प्रतिमा

नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १८:४८:४७

१७ माघ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा रहेको किराँत राईहरुको ऐतिहासिक उद्गमस्थल तुवाचुङ जायजुममा स्थापना गरिएको रैछाकुले ‘खक्चिलिक्पु’को प्रतिमा भत्किन थालेको छ । कमजोर निर्माण सामग्री प्रयोग गरिएका कारण विसं २०७४ मा लोकार्पण गरिएको किराँत राईहरुको आदर्श पात्र रैछाकुलेको प्रतिमा राखिएका भाग फुटेर विस्तारै झर्न थालेको हो ।
तुवाचुङ जायजुम परिसरमा राखिएका होडिङ बोर्डसमेत बाँसको खम्बामा बाँधिएकाले मक्किएर भाँचिन थालेको पाइएको छ । शुरुमा संरचना तयार गर्दा नै ध्यान दिन नसक्दा प्रतिमा राखिएको भागको छेउबाट आफैँ उप्किन थालेको पाइएको हो । देशविदेशबाट किराँत राई समुदायका व्यक्तिबाट आर्थिक सङ्कलन गरेर निर्माण गरिएको संरचनाको संरक्षण अभाव रहेको छ । किराँत राई समुदायले आफ्नो सृष्टिका शुरुआतपछि मानव सभ्यताको विकासको पर्याय मान्ने गरेको तुवाचुङ जायजुममा रैछाकुले, तायामा खियामाको प्रतिमा राखिएको हो ।
तुवाचुङ जायजुममा प्राकृतिकरुपमै ढुङ्गाको तान लगाउने ठाउँ, तायामा खियामा बिसाउनेलगायतका ठाउँ रहेका छन् । यसअघि सामाजिक सञ्जालमा तुवाचुङ जायजुममा रहेको प्रतिमा तोडफोड भएको भन्ने आशयको सूचना सम्प्रेषण गरिएको भए पनि त्यो हल्लामात्र रहेको प्रमाणित भएको छ ।
सामाजिक सञ्जालमा फोटो भाइरल हुन थालेपछि विभिन्न देशमा रहेका किराँती समुदाय आक्रोशित बनेका थिए । चर्चित कलाकारदेखि राजनीतिककर्मी, किराँत समुदायका विभिन्न सङ्घ संस्थाले उक्त फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उक्त घटनाका बारेमा गम्भीर चासो राखेका थिए ।
चार दिन अगाडि मङ्गलबार चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राईको सामाजिक सञ्जाल फेसबुकमा फोटो सार्वजनिक भएपछि सबैतिर चासोका विषय बनेको थियो । सामाजिक सञ्जालमा फोटो भाइरल भएपछि यही माघ १४ गते नै नगरपालिका प्रमुख इवन राई, हलेसी विकास समितिका अध्यक्ष टङ्क राई लगायतको टोलीले सो क्षेत्रको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मानव उपद्रो भएको नदेखिएको अनुगमनमा सहभागी नगरप्रमुख राईले बताउनुभयो । “संरचना निर्माण गर्दा ध्यान दिन नसकिएको साथै सुरक्षाको दृष्टिले भने जोखिम नै रहेको देखिएको छ”, उनले भने, “ऐतिहासिकस्थल तुवाचुङ जायजुमको संरक्षणमा ध्यान दिन जरुरी रहेको र घेराबार लगाउनुका साथै एक जना हेरालु राख्ने व्यवस्था गर्न सकेमा राम्रो हुने देखिएको छ ।”
किराँत राई समुदायले चन्दा सङ्कलन गरेर त्यस क्षेत्रको जग्गा किन्ने तथा प्रतिमा स्थापना गर्ने काम गरेको थियो । तुवाचुङ जायजुमको संरक्षण गर्न समिति स्थापना गरिएको भए पनि संरक्षणको भूमिका प्रभावकारी नभएको किराँत राई यायोक्खा खोटाङका सचिव युक्सन किराँतले गुनासो गर्नुभयो ।
पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ–जायाजुममा दर्शन गर्न र भ्रमण गर्न देशविदेशका किराँती तथा गैरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ । किराँतीको उद्गम थलो र आस्थाको केन्द्र तुवाचुङ–जायाजुममा छिमेकी देश सिक्किम, दार्जिलीङ, भूटानलगायतका किराँत समुदायसमेत आउने गरेका छन् ।
नेपाल सरकारले निर्धारण गरेका १०० गन्तव्य मन्दुमट्रेल ९पदमार्ग०मा पर्ने तुवाचुङ–जायाजुममा किराँती सभ्यताको अध्ययन भ्रमण तथा अवलोकन गर्नसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । तुवाचुङ जायजुममा किराँत राई समुदायले हरेक वर्ष सामूहिक चुल्हा पूजासमेत गर्दै आएका छन् ।
पितृको सम्झना तथा संस्कार संस्कृतिको संरक्षणको सन्देश दिन किराँत राई समुदाय भेला भएर तीन चुल्हाको पूजा गर्ने गरेका छन् । किराँत राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग तथा मानव सभ्यताको शुरुआत गरेको किंवदन्ती बोकेको स्थलमा हरेक वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमामा मेला लाग्ने गरेको छ ।
तुवाचुङ जायजुममा ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै तीन चुल्हाको पूजा गर्ने गरिएको हलेसी विकास समितिका निवर्तमान कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । हिन्दु, बौद्ध किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीभन्दा करीब तीन किलोमिटरमाथि पर्ने तुवाचुङ–जायाजुमबाट सर्वोच्च शिखर सगरमाथाका साथै तराईका फाँटको समेत दृष्यावलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार