आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ,लगत्तै आएको बाढीले बगाउछ
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार २१:४१:१५
१३ फागुन,बेनी । योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउछ । सङ्घीयता कार्यान्वयनको शुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् ।
यसमध्ये म्याग्दीको मङ्गला गाउँपालिकाले केही फरक र उपलब्धिमूलक ढङ्गले आफ्ना विकास निर्माणलाई अगाडि बढाएको छ । टुक्रे योजनालाई नियन्त्रण गर्दै स्थानीय तहकै अगुवाइमा गौरवका योजना सञ्चालन गर्ने ‘विकास मोडेल’लाई मङ्गलाले अगाडि बढाएको छ । सङ्घीय, प्रदेश सरकारसँगको साझेदारीमा केही ठूला र महत्वका योजना सञ्चालन गरिएको छ ।
चालू आर्थिक वर्षमा पालिकाबाट १३५ वटा योजना छनोट भएकोमा अधिकांश योजनालाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना बताउछिन् ।
उनका अनुसार ११० वटा योजना सम्झौता भइसकेका छन् भने १२ वटा योजनाले अन्तिम भुक्तानीसमेत लगिसकेका छन् । दर्जनौँ योजना फागुन महिनाको अन्त्सम्ममा सम्पन्न हुनेगरी तीव्र रुपमा अघि बढेका छन् । ‘‘गाउँपालिकाले ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत् कार्यान्वयन गर्ने नीति लिएको छ, यसरी योजना कार्यान्वयन गर्दा गाउँपालिकाको बजेट पारदर्शी तवरले खर्च हुने र विकास निर्माणमा जबाफदेहिता बढ्ने अपेक्षा गरेका छौँ’ प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले भने ।
गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ टुक्रे योजनालाई घटाएको छ । सङ्घ र प्रदेश सरकारसँग साझेदारी गरी पालिकास्तरमा गौरवका योजनालाई अघि बढाएको छ । पाँच वटा रु एक करोड बढी बजेटका योजना कार्यान्वयनमा जुटेको पालिकाको केन्द्र रहेको बाबियाचौर बजार कालोपत्र गर्न प्रदेश सरकारसँग साझेदारी गरेको छ । गाउँपालिकाले रु एक करोड १३ लाख लागत अनुमानमा बजार कालोपत्र योजना सञ्चालन गरेको हो । रु एक करोड बढी बजेटकै दुई नमूना सडक आयोजनासमेत अघि बढाइएको छ । रु तीन करोड ३४ लाख बजेटबाट वडा नं ३ र ४ का नागरिकलाई गाउँपालिकाको केन्द्र आउने पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी, ३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जोड्ने सडक स्तरोन्नति र रु एक करोड १५ लाख बजेटबाट बाबियाचौर–पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति गर्न शुरु गरेको छ ।
त्यसैगरी गाउँपालिकाले पुलचोक–पिपलबोट–पाखुँ–धारा–सिर्कुम–टीकाबाङ सडकखण्डको हाँडेभीर क्षेत्रमा बाढीले बगाएको सडक निर्माण र बस्ती संरक्षणको लागि रु एक करोड बजेट विनियोजन गरी कार्यान्वयनमा जुटेको छ । नदी नियन्त्रण गर्दै सडक निर्माण गर्न आरसिसी पर्खाल निर्माण गर्ने यस योजना ठेक्का मूल्याङ्कनको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि काफलचौर–सल्यान–भर्जुला–भाइबाङ–हिदी सडक स्तरोन्नतिको लागि विनियोजन गरेको रु ५० लाख बजेटलाई समेत ठेक्का प्रक्रियामार्फत् मङ्गला कन्स्ट्रक्सनसँग सम्झौता गरी धमाधम पूर्वाधारको काम भइरहेको गाउँपालिकाका इन्जिनीयर सुजन उपाध्यायले जानकारी दिए ।
गाउँपालिकाले मङ्गला माविलाई नमूना विद्यालयका रुपमा विकास गर्न भवन पूर्वाधारमा सङ्घीय सशर्त अनुदानबाट प्राप्त रु एक करोड ५० लाख बजेटलाईसमेत ठेक्का प्रक्रियामार्फत् कार्यान्वयनमा जुटेको छ । गाउँपालिकाले सडक, शिक्षा, एकीकृत भवन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अघि बढाएको अध्यक्ष सतप्रसाद रोकाले बताएका छन् ।
यस गाउँपालिकाले हरेक गाउँमा महिला, दलित, जनजाति, आमा, युवालगायतका वर्ग र क्षेत्रका लागि छुट्टाछुट्टै र स–साना भवन बनाउने प्रचलनलाई हटाउँदै बहुउपयोगका लागि एकीकृत भवन निर्माण गर्ने योजना सञ्चालन गरेको अध्यक्ष रोकाको भनाइ छ । अहिलेसम्म गाउँपालिकाले सिमलचौर, भाइबाङ, हिदी, झाँक्रेपानी, कुर्सिम्ला, पखेर लगायतका गाउँमा एकीकृत सामुदायिक भवन निर्माण गरिसकेको छ भने थाइबाङ र भर्जुलामा यस वर्ष भवन निर्माण कार्यलाई सम्पन्न गर्ने तयारी गरिएको छ ।
पर्यटकीयस्थल झाँक्रिपानीमा पर्यटकका लागि दृष्यावलोकन स्तम्भ ९भ्यू टावर०समेत निर्माण गरी सकिएको छ । जिल्ला समन्वय समितिको कोषबाट प्राप्त बजेटबाट बुकेनीमा वडा नं ४ को वडा कार्यालय भवन समेत तयार भएको छ । जिल्लामा आफै योजना सञ्चालन गरी वडा कार्यालय भवन निर्माण गर्ने मङ्गला नै पहिलो हो ।
सडक कालोपत्र गर्ने पहिलो गाउँपालिका
मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्र गर्न शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सशर्त अनुदान रु एक करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न शुरु भएको हो । सडक कालोपत्र हुन थालेपछि बजार क्षेत्र चिटिक्क र सफा देखिएको छ । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर गाउँपालिकास्तरमा सडक कालोपत्र गर्न शुरु भएको यो पहिलो योजना हो । जिल्लाको बेनी बजारसँगै गलेश्वर र रत्नेचौरमा छोटो दूरीको सडक मात्रै कालोपत्र छ । एक नगरपालिका बाहेक पाँच गाउँपालिकामा कुनै पनि सडक पक्की छैन ।
बाबियाचौरको कालोपत्र नै जिल्लामा रहेका गाउँपालिकामा भएको पहिलो कालोपत्र योजना हो । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीका कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गर्न लागिएको गाउँपालिकाका इन्जिनीयर सुजन उपाध्यायले जानकारी दिए । करीब छ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्र गर्ने सम्झौता अनुसार निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ ।
सडकको अधिकांश स्थानमा अनुमानित भन्दा बढी साढे चार मिटर फराकिलोसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रवीन सापकोटा बताउछन् । गत वर्ष बेस र सबबेससँगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो । कालोपत्र योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेका कालोपत्र योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालालेसमेत नियमित रुपमा निगरानी गरिरहेका छन् । हिउँदमा धुलो र वर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्र भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ बाबियाचौर इकाइका अध्यक्ष राजु पाण्डे बताउछन् ।
दुई नमूना सडक आयोजना सञ्चालन
ग्रामीण सडकलाई व्यवस्थित र स्तरीय बनाउनका लागि मङ्गला गाउँपालिकाले नमूना सडक आयोजना सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ३ र ४ बरङ्जा जाने र वडा नं १ कुहुँहुँदै टोड्के जाने सडकलाई स्तरोन्नति गर्न गाउँपालिकाले दुई वटा नमूना सडक आयोजना सञ्चालन गरेको हो । पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी –३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जाने सडक स्तरोन्नतिको लागि राष्ट्रिय योजना आयोगको सम्पूण योजनाअन्तर्गत आयोग र पालिकाको बराबर साझेदारीमा कूल तीन करोड ३४ लाख बजेटमा ठेक्का प्रक्रियामार्फत् रु दुई करोड ८० लाखमा देब एण्ड सायर तिलक जेभीले ठेक्का लिएको छ ।
यही माघ २७ गते सम्झौता भएको यस निर्माण कम्पनीले सडकखण्डको सातबिसेखोलादेखि बरङ्जा गाउँसम्मको विभिन्न भागमा सडक स्तरोन्नति गर्ने गरी काम थालिसकेको छ । गाउँपालिकाले यसअघि नै सडक फराकिलो बनाइसकेको यस सडकखण्डमा रिटेनिङ पर्खाल, ग्याबिन जाली लगाउने, नाली निर्माणलगायतका स्तरोन्नतिको काम गर्नेछ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकलाईसमेत नमूना सडक आयोजना सञ्चालन गरेको छ । गण्डकी प्रदेश सरकारको समपुरक बजेट रु ५० लाख र गाउँपालिकाको ६५ लाख बजेट विनियोजन भएको यस योजनालाई पनि ठेक्कामार्फत् कार्यान्वयनमा अघि बढाइएको छ । बोलपत्रमा सबैभन्दा कम ६८ लाख ४८ हजार ४०० कबोल गरेको सोमरस निर्माण सेवासँग ठेक्का सम्झौताको तयारी भएको गाउँपालिकाले जनाएको छ ।
यस सडकखण्डमा नाली निर्माण, ग्याबिन जाली लगाउने, रिटेनिङ पर्खाल निर्माण, खोला र खोल्सामा कजवे निर्माण गर्नेलगायतका पूर्वाधार बनाउने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार