ग्रामीण पर्यटन विकासका लागि होमस्टे सञ्चालन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १७:३३:७
![](https://nepalbahas.prixacdn.net/media/albums/homestay-1_D2VZGouH3u.jpg)
१८ फागुन,भरतपुर । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो ।
माडी नगरपालिका–६ लक्ष्मीनिवासमा माडी भ्यू सामुदायिक घरबास दुई महिनादेखि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले बताए । घरमै पर्यटन व्यवसाय गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालन गरिएको उनले बताए । एघार घरपरिवार मिलेर घरबास सञ्चालन गर्न शुरु गरे पनि अहिलेसम्म छ घरधुरीले मात्र घरबास निर्माण गर्न सफल भएका छन् । अरु घर निर्माण गर्ने क्रममा छन् । घरबास निर्माणका लागि कल्याणपुर मध्यवर्ती सामुदायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले रु तीन लाख ५० हजार सहयोग गरेका छन् । स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको अधिकारीले बताए ।
घरबासमा रहेका पाँच घरमा १९ शय्या छन् । एउटा घर रु सातदेखि आठ लाखमा तयार भएको छ । दुई महिनाको अवधिमा ५०० पाहुनालाई स्वागत गरिसकिएको घरबास सञ्चालक समितिका सचिव प्रेम विष्टले जानकारी दिए । घरबासमा आउने पाहुनाका लागि घुमाउन पुष्पमदन स्मृति बाटिका छ । सङ्ग्रहालय र वनभोज स्थल तयारी अवस्थामा छ । बाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । मूर्ति राख्ने संरचना, फुलबारी, कम्पाउण्ड निर्माण र खानेपानीको काम भइरहेको छ । स्मृति बाटिका निर्माणका लागि गत वर्ष वाग्मती प्रदेश सरकारले रु ७२ लाख बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि प्रदेश सरकारबाट रु ४० लाख र सङ्घीय सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ । पुष्पमदन स्मृति बाटिका जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको अस्तु विसर्जन गरेको ठाउँ हो ।
संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ घरबास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताए । राज्यका निकायबाट सहयोग प्राप्त भए अझै आठदेखि १० घरबास तत्काल थप्न सक्ने अवस्था रहेको उनले बताए । घरबासमा आवासीय तालिम हलको अभाव रहेको दवाडीको भनाइ थियो ।
भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको तमुचोकबाट साढे दुई किलोमिटरको दूरीमा घरबास पुग्न सकिन्छ । घरबासको एउटा कोठाको रु ५०० लिइन्छ । एउटा कोठामा तीनवटा शय्या छन् । सादा खानाको रु एक सय ५० लिइन्छ । सादा खानामा दूध, दही र घ्यूमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना एक सय ५० र मटन खानाको रु ३०० मूल्य तोकिएको छ ।
घरबासमा आउने पाहुनालाई स्वागत सत्कारसँगै पञ्चेबाजा बजाइन्छ । लोकसंस्कृति र भजनले मनोरञ्जन प्रदान गरिन्छ । पुराना संस्कृतिहरु लोप हुने अवस्थामा रहेका कारण त्यसको जगेर्ना गर्न र पाहुनालाई मनोरञ्जन प्रदान गर्न लोकभजन गाउने गरिएको सल्लाहकार दवाडीले बताए । क्षत्री र बाहुन बाहुल्य गाउँमा सबै समुदायका मानिसहरुको बसोबास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार