सम्झौता अवधिभन्दा दुई महिनाअघि नै ठडियो आयुर्वेदको भवन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १२:५८:९
![](https://nepalbahas.prixacdn.net/media/albums/aayurbed-photo_fEA0ZiLbr3.jpg)
११ चैत, खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौताअनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन प्रालि काठमाडौँले यही चैत पहिलो हप्ता सम्पन्न गरेर मंगलबार औपचारिकरूपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो ।
निर्माण कम्पनी र आयोजनाबीच विसं २०७८ जेठ १६ गते सक्ने गरी २०७६ जेठ १६ गते सम्झौता भएकोमा दुई महिना अगाडि नै निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर आयुर्वेदलाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि भीषण राईले बताए । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजार १७९ लागतमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यटोलमा निर्माण गरिएको हो ।
निर्माण कम्पनीका प्रतिनिधि राईले तीनतले पक्की भवनको चाबी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अजयकुमार झालाई हस्तान्तरण गरे । नवनिर्मित आयुर्वेद स्वास्थ्य केन्द्र भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवासगृहसहित आठ कोठा रहेको शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जिनीयर विनोद सिंहले बताए ।
भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं आयुर्वेद सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले विकासे कामको महसुस बल्ल गर्न पाइएको बताए ।
भवन निर्माणका लागि स्थानीयवासी पदम आचार्य, पर्शु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टङ्कप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले चन्दा उठाएर खरिद गरेको एक रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । आचार्यटोलमा निर्माण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन जिल्लास्थित सरकारी कार्यालयमध्ये सबैभन्दा ठूलो भवन हो ।
आफ्नो कार्यालय भवन अभावमा दिक्तेलस्थित सरस्वती मावि अगाडि भाडाको घरमार्फत सेवा प्रवाह गर्दै आएको आयुर्वेद स्वास्थ्य केन्द्र केही समयपछि आफ्नै भवनमा सर्ने केन्द्र प्रमुख झाले बताउनुभयो । नवनिर्मित भवनमा सेवा प्रवाहका लागि आवश्यक उपकरण जडान गरेर आगामी वैशाख पहिलो साताभित्रमा आफ्नै भवनबाट सेवा शुरु गर्ने तयारी गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि राईले समयावधि अगाडि सम्पन्न गरेर उदाहरणीय काम गरेका छन् । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजना अलपत्र परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार