काभ्रेमा लालपूर्जा वितरण अन्योल, एक हजार परिवारमा पुनःनिरासा

नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार १७:५१:५

२८ चैत, काभ्रेपलाञ्चोक । एक वर्षअघि भुम्लु गाउँपालिकास्थित फिल्डमा खटेको नापी कार्यालयको टोली फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिरासा छाएको छ । एक वर्षअघि उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा जिल्ला नापी कार्यालयका दुई टोली स्थानीयको जग्गाधनी र जग्गाको छानविन गरी लालपूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न राखिएको थियो । तर ती टोली मालपोत कार्यालयको असहयोग तथा अन्य विविध कारण देखाउँदै हालै जिल्ला फर्किएपछि लालपूर्जा वितरणमा अन्योलता छाएको हो ।
४५ वर्षदेखि लालपूर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका एक हजार दुई सयभन्दा बढी स्थानीयमा जग्गाको समस्या भएपछि तत्कालीन मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई वडामा दुई टोली खटाउन नापी कार्यालय र मालपोतलाई निर्देशन दिएका थिए ।
गाउँपालिकाका सीमा विवादका कारण आफ्नै जमीन आफ्नो नाममा नभएपछि करिब एक हजार २०० लालपूर्जा विहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा गत माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थए । भुम्लु गाउँपालिकाले भने केही दिनअघि मात्रै तत्काल काम पुनःसचालन गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेको छ । “निवेदनउपर छानविन गरी जग्गदाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिसकेको अवस्थामा कर्मचारीले फिल्ड छाडेर हिडेपछि हिड्नुको कारणसहित दुवै कार्यालायलाई पत्राचार गरेको हो”, गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भने ।
कुँवरसहितको पीडित टोलीले काम सुचारु गर्न आग्रहसहित दुवै कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानले कर्मचारी फर्काउने प्रक्रिया भइरहेको बताए । उनका अनुसार करिब ३०० को लालपूर्जा तयार भैसकेको छ । साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफुले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र९लालपुर्जा० प्राप्त गर्न सकेका छैनन् ।
नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सुचारु नगर्दा अन्यौलता छाएपछि निवेदन दर्ता गर्न बाध्य भएको वडा नम्बर ७ का स्थानीय रमेश खरेलले बताए । “कार्यालयमा कर्मचारी पनि नियमित उपस्थित नहुने र विभिन्न बहाना देखाएर प्रक्रिया बीचमै छाडेर हिड्ने भएपछि अन्योलता छाउँदै आएको हो”, उनले भने । उनका अनुसार दुवै कार्यालयका कर्मचारीले स्थानीयको निवेदन बुझेर हिडेका हुन् ।
नापी कार्यालयका अनुसार हालसम्म ७ नम्वर वडास्थित कार्यालयमा ९३२ र ८ नम्वरमा ३१७ निवेदन दर्ता भएको छ । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि नबढेको उनले बताए। “मालपोत कार्यालयबाट जमीनको शुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपूर्जा दिन सकिन्छ”, कार्यालयका सूचना अधिकारी नापी अधिकृत सुरेश मानन्धरले भने । उनका अनुसार हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गा दर्ता गर्न सकिनेछ ।
नापी कार्यालयले मालपोत कार्यालयको असहयोगका कारण थप प्रक्रिया अघि बढाउन नसकिएको आरोप लगाएको छ । न्यौपानेले भने, “मालपोतले जग्गाधनीको मोठ भिडाउन सहयोग गरेन, उसले जग्गाको धनीसमेत पहिचान गरिदिनुपर्ने हुन्छ ।” उनका अनुसार थप प्रक्रिया नहुने भएपछि फिल्डमा खटाइएका कर्मचारीलाई जिल्ला कार्यालय फर्काइएको हो ।
साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमीन परेपछि त्यो जमीन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।
मालपोत कार्यालयप्रमुख लोकबहादुर भण्डारीले भुम्लुमा लालपूर्जासम्बन्धी केन्द्रीय कार्यालयबाट कर्मचारी खटाउन कुनै आधिकारिकता नआएको बताए । उनले उच्चस्तरीय विशेष आयोगविना भुम्लुको समस्या समाधान गर्न नसकिने पाइएको बताए ।
उनले जिल्लास्थित नापी र मालपोत कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले सम्बन्धित मन्त्रालय, तहगत सांसद तथा स्थानीय जनप्रतिनिधिको समन्यवमा समस्या समाधान गर्न आफू प्रक्रियामा जाने बताए । विभाग र मन्त्रालयको स्पष्ट नीति र निर्देशन नभएका कारण विवादित जग्गाको नापजाँच तथा पूर्जा बनाउन समस्या परेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार