जिल्ला अस्पतालको आइसीयू अझै सञ्चालनमा आएन
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १७:५१:२२
२ वैशाख,दार्चुला । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गरेकी थिईन ।
कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो । पाँच महिनाअघि नै जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले जानकारी दिए । अहिले आइसीयू चलाउन सक्ने जनशक्ति छैन ।
“आइसीयू सञ्चालन गर्न दक्ष चिकित्सक चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसीयू प्रयोगमा ल्याउन सकिएको छैन”, उनले भने। गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसीयू कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा आइसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।
आइसीयू कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्दछ । “विशेषज्ञ चिकित्सक अभावमा हामीले आइसीयू सञ्चालनमा ल्याउन सकेका छैनौं । अहिले अस्पतालमा रहेका चार चिकित्सक नै बिदामा छन् । अस्पतालमै सामान्य जाँचका लागि समेत चिकित्सक छैनन् ।”उनले भने ।
आइसीयू कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायमै छ । आइसीयूको उद्घाटनको क्रममा सरोकारवाला निकायले गम्भीर खालका बिरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए । पाँच महिना हुँदा पनि आइसीयू सञ्चालन भए÷नभएकोबारे सरोकारवाला निकाय उदासिन रहेको स्थानीयवासीको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसीयूमा राख्नुपर्ने हुन्छ । त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेको छ । जिल्लामा एक जनामा कोरोना देखिएपछि अस्पतालमै राखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । उनका अनुसार ती विरामीलाई १० दिनसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ ।
भारतबाट अहिले दैनिक ८० देखि १०० जनाको हाराहारीमा नेपाल भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार गत चैत १० गते यता जिल्लाका खलङ्गा, तिगरम, दत्तु, जोलजीवी र लाली नाका भएर तीन हजार ३२४ स्वदेश फर्किएका छन् । प्रहरी निरीक्षक पुष्कर ऐरका अनुसार तिगरम नाका भएर ३२० महिला र ३८५ पुरुष भित्रिएका छन् । सदरमुकाम खलङ्गा नाका भएर १७८ महिला र एक हजार १४० पुरुष नेपाल भित्रिएका छन् । यस्तै दत्तुनाका भएर १३२ महिला र ५५१ पुरुष नेपाल आएका छन् । मालिकार्जुनको जोलजीवी नाका भएर ११४ महिला र १०० पुरुष तथा लालीनाका भएर १९६ महिला र ३१५ पुरुष स्वदेश भित्रिएको प्रहरीको तथ्याङ्क छ । सदरमुकाम खलङ्गाका उनीहरुलाई जाँचको व्यवस्था गरिएको भए पनि अन्य नाकामा जाँचको व्यवस्थापन गरिएको छैन ।
जिल्ला अस्पतालका चार चिकित्सक नै जिल्ला बाहिर भएकाले गोकुलेश्वरबाट चिकित्सक ल्याएर उपचार गराइँदै आएको छ । जिल्ला अस्पताल दार्चुलामा चिकित्सक नहुँदा बिरामी जाँचमा समस्या भएको छ । चार कार्यरत रहेको जिल्ला अस्पतालका चारै चिकित्सक जिल्ला बाहिर गएका छन् । अस्पताल चिकित्सक अभाव हुँदा बिरामीको जाँचमा समस्या भएको छ ।
अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेण्ट र आठौँ तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौैँदेखि रिक्त छ । अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको चिकित्सक जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताए । अस्पतालमा हाल छात्रवृत्ति करारका चिकित्सक आर्दश लिम्बू, पूजा बम र नवीनकिशोर मल्ल कार्यरत छन् भने सुदूरपश्चिम प्रदेश सरकारको करारबाट देवेन्द्र नेगी कार्यरत छन् । अहिले चारै जना चिकित्सक बिदा तथा तालिममा गएपछि अस्पतालमा समस्या भएको हो । अस्पताल प्रशासनका अनुसार अस्पतालका प्रमुख डा आर्दश लिम्बू गत चैत १८ गतेबाट काठमाडौँ गोष्ठीमा सहभागी भएका छन् । यस्तै पूजा बम र नवीनकिशोर मल्ल शनिबारदेखि बिदा र प्रदेश गोष्ठीमा गएका छन् भने देवेन्द्र नेगी चैत २२ गतेबाट बिदामा गएका हुन् ।
अहिले अस्पतालमा बिरामी जाँच गर्न समस्या भएपछि गोकुलेश्वर अस्पतालबाट डा मियाज अन्सारी बोलाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी भट्टले बताए । “हामीले चिकित्सकको अभाव हुन दिएका छैनौं ।” उनले भने । अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन् । एक मात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नपर्ने बाध्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार