संसारको सबैभन्दा पवित्र नाता आमा !
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १४:२९:३१
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
यो वर्ष सबै आमाका छोराछोरीहरू सुरक्षित रहुन् । हरेक छोराछोरीका आमाहरू सुरक्षित रहुन् । पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा कृपा रहोस् । मुस्कान कायम होस् अनि सबैका परिवारजन खुशी रहुन् ।
कोरोना भाइरस सन्त्रासमा हरेक दिन बढ्दो मृतकको संख्या, संक्रमण र संक्रमितको वृद्धिदर अनि अस्पतालमा बढ्दो बिरामीको चाप, अक्सिजन र भेन्टिलेटरको कमीका बीचमा यो वर्षको मातातीर्थ औँसीमा सबैलाई साधुवाद छ ।
आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो घडीमा मातातीर्थ औँसी, मातृऔँसी एवं मातृदिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।
आज सामाजिक सञ्जालका भित्ताहरुमा बारम्बार फोटाहरु प्रदर्शित हुँदैछन, सुरु भइसके । मैलेपनि सम्झेँ आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन रहेछ भनेर । नभन्दै आजै बिहानको करिब ५ बजे खोलिएको त्यो सञ्जालको प्रवाह देख्दा लाग्यो, आमा सम्झने नयाँ शैलीको भड्किलो विकास भएको रहेछ । समाजमा हिरो, लेखक र बिक्ने चीजको प्रचार हुन्थ्यो । हुँदा-हुँदा आमाको प्रचार गर्न थालिए छ, सबै आमाहरुलाई नमन् ।
तपाई पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर फोन गरेर आमाको आवाज सुन्ने पो हो कि ? जगतको भलो होस् । आमाको माया र उहाँले खुवाउनु भएका दूधका धाराहरूप्रति हामी वफादार र इमान्दार हुन जरुरी छ । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा । अनि पल–पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, ‘आमा’ ।
आज फेसबुकका भित्ताहरु हजारौँ आमाहरुले भरिएको छ । जीवित आमादेखि स्वर्गवासमा रहेका आमाहरुको मिठो सम्झना गरिएको छ । मृत आत्माको सम्झनामा आमा शब्दको प्रयोग सहि मान्नैपर्छ । तर, जीवित देवीको दर्शन सञ्जालका माध्यमबाट प्रस्तुत हुनु शब्दको अर्थमा भएको बेप्रयोग मान्नुपर्ने मेरो मनले बतायो । आमाको प्रचार शैली आवश्यक देख्दिन म । कुनै माध्यममा ल्याउने बस्तु पनि होइन, आमा । आमा जननी हो, आमालाई जति वर्णन गरेपनि शब्दहरु अपुरै हुन्छन् । त्यसैले सबै आमाहरुमा दीर्घ र निरोगी जीवनको प्रार्थना छ मेरो !!
संसारका आमाहरु मलाई माफ गर्नुस । मैले हजुरको बिरोध गरेको होइन ! सम्मानमा फेरिएको बिकृतिविरुद्ध लेखेकी हुँ । आमा तपाईलाई बजारमा छरेका छन्, त्यसले तपाईलाई चोट पु¥याएको छ । चित्त दुख्यो र लेख्न बाध्य भएँ, मलाई माफ गर्नुस् । हुन त आमा यहाँ मरेको लासमाथि सेल्फी हान्दै पोष्ट पनि गर्छन यहाँ, भन्नुस म के भनौँ उहाँहरुलाई अनि यो भड्किलो शैलीलाई ।
अर्थ खोज्छु ! आफूलाई जन्मदिने स्त्री, जननी, माता, महतारी जसको न्यानो काख । भन्ने गरिन्छ “आमाको काख, अरुको लाख” । बैशाख कृष्णपक्षको औँसी, शास्त्रमा बुबाको भन्दा आमाको स्थानलाई महत्वपूर्ण स्थान दिएको पाइन्छ । श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमाबाट अझ बढी प्रगति र शान्तिको लागि आशिर्वाद थाप्ने दिन आज । बहुमुल्य दिन हो आज, कहिल्यै नसम्झनेले पनि आजको दिन सम्झन बाध्यै हुन्छन् । आजकै दिन देशभरका विभिन्न धार्मिक स्थलहरुमा ठुलो मेला नै लाग्ने गर्छ । यस्तो छ लेखिएको र गरिएको आमा शब्दका पहिचानहरु । तर यो बर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको छ ।
तर, बढ्दो बिकृतिले आमा शब्दको ग्ल्यामरलाई बढवा दिएको छ, जसको कुनै आवश्यकता नै छैन । आमाको सम्मान गर्ने शैली फेरिएको देख्दा आँशुझार्न वाध्य छु म । सम्झेँ फेसबुके प्रचारले आमाप्रतिको माया र सम्मान होला ? उनको स्थान यत्ति नै हो त ? यवात कुरा खेलाउँदै जाँदा एकपटक आ !!!! ठोकिदिउँन त भित्तोमा भन्ने कुतकुति पनि नलागेको होइन । तर, पूनः सोचविचार गरेरै भित्तोको प्रयोग गरिन । यसको लागि सरी आमा ।
आमालाई भित्तोबाट होइन मनबाटै सम्मान गर्ने निधो गरेँ, यसबाट पर्न गएको असुविधाप्रति क्षमा मागेँ । म मेरो कामको शिलशिलामा आमादेखि अहिले धेरै टाढा छु तर आमा म सधै तपाईकै समिपमा रहिरहने छु । त्यहि भएर पनि यसपाली आमालाई भेट्न सकिन मैले । तर सम्मानस्वरुप ५ बजे नै फोनको कि दबाएर “हेल्लो आमा, सञ्चै हुनुहुन्छ ? आज आमाको मुख हेर्ने दिन सम्झेको” । त्यही समय दुईचार वातपश्चात मैले आमालाई सम्झेँ । दीर्घ र निरोगी जीवनको प्रार्थना गरेँ । त्यसपश्चात मनको भित्तोमा भने मज्जाले आमालाई सजाएँ ।
आजभोलि अनेकन कारणले आमा बुबालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ । जुन मानवताप्रति नै एउटा आक्षेप हो । समय त खोला न हो । आफूले गरेका काम–व्यवहारहरू आफैतिर फर्किने समय पनि आउँछ । बगेको समयमा आफ्नो दायित्वबाट विमुख हुनु मानव चरित्र पक्कै होइन ।
जति नै सम्बन्ध बिग्रिएपनि जन्मदिने बुवा–आमा कुनै छोराछोरीको लागि काखा र पाखा हुन सक्दैनन् । सोच नराम्रो छोराछोरी कै हुनसक्छ तर बुवा–आमाले आफ्ना सन्ततिको कहिल्यै हुँदैन । यसकारण जुन कोणबाट सम्झेपनि आमाप्रतिको छोराछोरीको सम्झना अपुग नै हुन्छ । यसको मतलव माया जति गरेपनि आमाको कोख र मुल्य कुनै तरिकाले तिर्न सकिँदैन । यो एकदिनको सानो पर्व भएपनि सम्बन्धलाई प्रगाढ बनाई हृदयको ममतालाई नजिक बनाउन सकेको पक्कै छ ।
मातृदेवो भव । पितृदेवो भव । आचार्यदेवो भव । तैत्तिरिय उपनिषद्का यी वाक्यका सामान्य भाव हुन्छ आमा, बाबु र गुरु देवतासरह हुन्, वा यिनलाई देवतासरह व्यवहार गर्नुपर्छ । जन्म दिने आमा, संस्कार दिने बाबु र विद्या दिने गुरु यी ३ जनाप्रति संधै अनुगृहित रहने सनातन धर्म–संस्कृतिको परम्परा हो । यी ३ मध्ये पहिलो स्थान आमाकै आउँछ ।
विविध दुःखकष्ट खेपेर नौं महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र बात्सल्य दिएर हुर्काउने आमाको महिमा जति नै गाए पनि कम्ती नै हुन्छ । अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ ।
संस्कृत भाषामा आमालाई माता, जननी, अम्बालगायतका शब्दबाट जनाइएको छ । ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् । आमाले जस्तै अन्नपानी खुवाएर पालनपोषण गर्ने हुनाले जन्मभूमिलाई पनि आमाकै दर्जा दिइएको छ ।
सन्तानकाे खुशीका लागि आमाले आफ्नो खुशीका बलि दिएका उदाहरणहरू प्रशस्तै छन् । छोराबुहारी आरामदायी सवारीमा हुइँकिरहँदा सडकका पेटीमा आँसु बगाउँदै बसेका आमाहरू हामीले देखेका छौं ।
‘आमा’ शब्द आफैमा प्यारो शब्द छ । आमा त्यसै प्यारी हुन्छिन् । घरबाट आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमाको काखमा निदाउनुको स्वर्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर आफ्नो सन्तानलाई हुर्काएकी हुन्छिन् ।
मान्यता अुनसार आज छोराछोरीहरुले आमालाई मिठोमिठो खानेकुरा ख्वाएर उपहार दिइ आमाको मुख हेर्ने चलन छ । यस्तै आमा नहुनेले देशका विभिन्न नदी तथा धार्मिक स्थलहरुमा पुगेर स्नान गरी मातृहरुको नाममा श्राद्ध गरी तर्पण दिइ सिदा दान दिने गर्दछन् ।
आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । अनि काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहान पूरा गरिदिने कल्पवृक्ष सरी, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार