मुक्तिनाथ यात्राको त्यो क्षण
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १८:२१:४
यात्रा संस्मरण
कोरोना महामारी नहुँदो हो त यतिखेर नेपाल भ्रमण गर्नेहरुको घुइँचो नै लाग्थ्यो । पर्वतारोहीका लागि यो मौसम ज्यादै उपयोगी हो । त्यस्तै कोरोनाको महामारी नभएको भए अहिले हामी भ्रमण वर्ष २०२० को उत्सवमा रमाईरहेका हुने थियौ । हुन पनि विदेशी तथा स्वदेशीलाई नेपाल भ्रमणको भिन्दै स्वाद मिल्छ । यो भूमिमा विशाल हिमालयहरु मुस्कुराई रहेको साक्षात्कार गर्न सकिन्छ । पहाडको दिव्य सौन्दर्य होस् वा तराईको समथर भूमि, मात्र मानव जीवनको पहलू हुन् , जति रस लिन सक्यो त्यति नै सुन्दर ।
हामीले निर्माण गरेका कला कौशलको वेजोड शील्प हुन् , विश्वमा नै स्तूत्य । सांस्कृतिक धरोहर र यसबाट सिञ्चित एकताको सूत्र हाम्रो आदर्श हो । एकता, विश्वास र सदभावको चट्टान । हाम्रो संस्कृतिले नै हामीलाई सुन्दर बनाएको छ, मानवताको प्राकृतिक सत्यताको दृस्टान्तसँगै । त्यसैले पनि हाम्रो स्वभाव, चरित्र र व्यवहारमा नै एकअर्काप्रतिको सम्मान प्रतिविम्बित छ ।
प्रसंग अलि अगाडिकै हो –२०६७ साल ताका । सिन्धुपाल्चोकको तातोपानी यात्रापछि आन्तरिक यात्राको लागि रोमाञ्चित भएका थियौ । अर्को यात्रा गर्ने ईच्छा मनमा अंकुरित भयो । ताप्लेजुङ्ग बस्ता ठूलो समूहमा पाथीभराको दर्शन गर्न गएका थियौ, त्यसपछि त्यो अवसर तातोपानी जाँदा मात्र पाइयो । आन्तरिक पर्यटनको स्वादमा नपल्किएकाको लागि तातोपानी यात्राको मधुरता अकल्पनीय रह्यो । त्यसैले पनि अर्को यात्रा गर्ने, साथी भाईहरुँंग रमाउने, नेपालको भूगोल ,डाँडापाखा , सांस्कृतिक विविधता तथा विशिष्ट वस्तुहरुको अवलोकन गर्ने इच्छा थियो ।
सन्दर्भः मुक्तिनाथ यात्राको । लघु उद्यम विकास कार्यक्रमको अवलोकन भ्रमणलाई प्यूठान दाङको कार्यक्रम हेर्ने र स्वर्गद्वारीको दर्शन गरी पुण्य कमाउने फेरोमा मिलाएका थियौ । त्यसै अनुसार सहभागीलाई सूचना भएको थियो । तराइको गर्मीसंगै रापिने भएकोले भएभरका छोटा कपडा झोलामा राखियो । निधो भयो स्वर्गद्वारी जाने । एउटा साधु सन्तले प्रबन्ध गरेको थितिको नजिकबाट अनुभूत गर्ने । त्यसरी नै सिर्जना गरेको बेजोड सामाजिक, धार्मिक अनुष्ठान र विकासको धरोहरको साक्षात्कार गर्ने ।
यसैबीच हल्ला चल्यो थारुहट बन्दको, २५ गतेदेखि अनिश्चितकाल बन्द अरे । २३ गतेको दिन हो क्यार, थाहा भयो । परेन फसाद ! बिदा लिई सकेको थिए । आन्तरिक चाजोपाजो सबै मिलिसकेको थियो । भ्रमणको लागि झोला उठाउन मात्र बाकी थियो, बन्दको कुरा आयो । के गर्ने कसो गर्ने खैला बैला भयो । राय परामर्श भए ,अन्तत हिडौ जहाँ जहाँ खुल्छ त्यहिं जाऔ । पोखरालाई केन्द्र बनाएर गएपछि स्याड्जा, पाल्पा, वेनीसम्म पुगिएला भनी हिंडियो । विविध क्षेत्रका साथीभाई भएकोले शुरुमा खासै घुलमिल हुननसके पनि विहानको खाना गजुरीमा खाएपछि भने यात्राको रमाइलो भयो ।
धेरै सहभागी धेरै दृष्टिकोण, धेरै विचार, धेरै सोच । बस भित्रको मन्थनमा यात्रा बेनीसम्म जाने र मुक्तिनाथको दर्शन गरी फर्कने विचारले तिव्रता पायो । पोखरा अब हाम्रो वासस्थान भएन । वेनी जाने भईयो । विचित्र उल्टो यात्रा ! स्वर्गद्धारी हिडेका यात्री मुक्तिनाथ जानु पर्दा कति कुराको प्रबन्ध गर्नुपर्ला ? मध्य पहाडी यात्राको लक्ष्य लिएर हिडेका हामी चरम जाडो ठाँउमा पुग्ने भयौं । थोरै खर्चले पुग्ने यात्रालाई धेरै खर्च लाग्ने भयो । पारिवारिक हिसाबले पनि दिन गन्ती गरेको दिन नफर्कने भइयो ।
यात्रामा साथीभाईको खर्च प्रबन्ध सबैे अनपेक्षित नै भए । आफ्नो झोला हेरे, एक एक थान जाडोको कपडा रहेछ, जसो होला आफ्नो लागि त रहेछ । तर साथीभाईको पनि त बुझ्नु प¥यो । अन्ततः सबैको सहमति भयो, मुक्तिनाथ दर्शन गर्ने र फर्कने । यात्राले एकाएक नयाँ मोड लियो ।बस भित्रको दोहोरी संगीतको गुञ्जनले सबैलाई गर्माएको थियो । सकिनसकि दोहोरी भाका हालेर उन्मुक्तता प्रस्तुत गर्नु कम मजा थिएन । सामाजिक पारिवारिक पर्दाहरु हट्दै थिए । दोहोरीले सांस्कृतिक खुल्लापनाको बिम्ब पस्कदै गयो । हामी केहीबेर हरायौ ।
हामीलाई मुक्तिनाथ यात्राको अनन्त स्पर्शले गाजिसकेको थियो । गजुरीका लोभलाग्दा फाँट र विकसित बस्तीहरु, कुरिनटार पुग्दाको केवलकारको दृष्य, मुङलिङ्ग र मस्र्या्दीका रमाईला घमाइला फांट र बस्तीहरु, भ्याली क्षेत्रको विकास र प्रगति, अविरल बग्ने नदीको मधुरम, त्यसले सिकाएका जीवनका कथाहरु, नदीका आफ्नै बेदनाहरु बिनालक्ष्य बगीरहनु पर्दाको पीडा, उसले सहनु परेको अपहेलनाको कथा, कसैले पनि हामीलाई छोएन ।
हामी एकोहोरिएका थियौ । मुक्तिनाथ दर्शनको तृष्णामा । यात्राको जीजीवीशा मुक्तिनाथ यात्राको लागि तन्कदै थियो । हरेक फाँट बस्ती, डाँडाकाँडा, जीव वनस्पति सबै हामीलाई मुक्तिनाथ यात्राको बाटो देखाउन तम्सिए झै लाग्दथ्यो । हामी पनि हुइकियौे फेरि हुइकियौं । हामीलाई नत व्यास दमौलीको पत्तो भयो, नत लेखनाथ न पाको । पोखराको आकर्षण फिक्का लाग्दै गयो । लुम्लेको कृषि फर्मको चामत्कारिताले हाम्रो यात्राको धोको भरेन । न त त्यहाँ खाएको नास्ताले नै तिर्सना मेट्यो । बेनीको लक्ष्यमा हुईकिदा मुक्तिनाथ यात्राको रस्वासादनले शरीरलाई रोमाञ्चित बनाएको थियो ।
बाग्लुङ बस्नेकी भन्ने इच्छाले साकार पाउन सकेन । बेनी मुक्तिनाथ यात्राको मूलद्वार छिटो पुग्ने, बास बस्ने , गफिने यात्राको अनुभव बाड्ने, अझ फरासिलो हुने ,पछिल्लो यात्राको प्रबन्ध मिलाउने अनि रमाउने । एउटै लक्ष्यले हामीलाई डोर्याएको थियो, त्यो हो मुक्तिनाथ दर्शन । फिल्ममा देखाएको विविधतालाई आँखैले हेर्ने, भरपुर आनन्द लिने तीव्र धोको थियो । कल्पना कति थिए थिए प्रकृतिलाई जिस्क्याउने, गिजोल्ने , आफु पनि केही क्षण भए पनि प्रकृतिमा लिन हुने । हाम्रो यात्रा यसै सेरोफेरोमा तन्कियो ।
करिब ८ बजे हामी बेनी पुग्यौ । बेनीको बजार जता माया त्यतै छ नजर” गीतको भाकाले बैंसमा कति लोभ्याएको थियो । तर जुन दिन हामीबेनी पुग्यौ हामीले त बस्ने ठाउँ पनि पाइएन ? सबै होटल प्याक । होम स्टे कतै छैन । पर्यटन बर्षको प्रबन्धले आन्तरिक पर्यटनको लक्ष्य तय गरेको रहेनछ । बसभित्रै बस्नु पर्ने हो वा के गर्ने, थाकिएको छ, खाना खाएर आराम गर्नेबेलामा बस ,बास र भोलीको प्रबन्ध गर्नुपर्ने एकैपटक आइलाग्यो । एकक्षण त नरमाइलो पनि लाग्यो । तर यात्रा हो सुखदुख त भइहाल्छ भनेर चित्त बुझउनु बाहेक के पो थियो र ?
आआफ्नो तरिकाले बासको प्रबन्धमा लाग्यौ । बेनीको बास त्यस्तै भयो, कोही कता कोही कता । महिला साथीहरुलाई एउटा कोठा मिल्यो । अलिक राहत भयो । म र मेरो मेडमको लागी अर्को कोठ । त्यसरी नै बाँकी साथीहरुको लागी एउठा कोठा मिलेछ भिन्न भिन्न ठाउँमा भिन्नभिन्नै गरी । रात काट्नु थियो बेनीमा, यात्रा त बाँकी थियो मुक्तिनाथको । कल्पनाले मात्र पनि आरामको अनुभूति हुन्थ्यो , जीवन त आशाको प्रकाश न हो भोलीको सुखद् आशमा आज खुशी हुने शक्ति । हामीलाई असजिलोको पीडामा दुखी हुनु थिएन, आआफ्नो व्यवस्थालाई नियतिको फेरोमा व्यवस्थित गर्दै बेनीको रातलाई बितायौ ।
बेनी हाम्रो लागि बिसौनी मात्र थियो । २६ गते बिहान सखारै हामीले बेनीबाट जोमसोम जानु थियो । बैशाख पूर्णिमाको नजिकीदो चाडवाड भएकोले बास बस्नेदेखि बाँकी यात्राको लागी गाडी व्यवस्था लगायतका सबै कुराहरुको प्रबन्ध गर्नु सामान्य थिएन । कच्ची बाटो, गाडीको सिण्डीकेट प्रणाली फेरी बेनीको गाडी मुस्ताङ जान नपाउने र मुस्ताङको गाडी बेनी आउन नपाउने कारणले बीचमा अदली बदली गर्नुपर्ने, भाडाको मोलमोलाई आदि धेरै कुराको झन्झट हुने जस्ता स्थानीयबासीको कुराले फर्कने पो हो की भन्ने विचार पनि मनमा नआएको हैन । बेनी आईसकेपछि मुस्ताङ नजानु सान्दर्भिक हुने थिएन, त्यसैले पनि हामीले निश्चय गर्यौ, जाने नै भइयो । गलेश्वर महादेवसँग बिदा मागेर हामी हिमाल तिर लाग्यौं ।
हिमाली क्षेत्र चिसो स्वभाविकै थियो । कालीगण्डकीको किनारैे किनार मोटर बाटो । सिधै उत्तर । बीच बीचमा सानातिना खोलाहरु हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाईन्थ्यो । दृश्यहरु अत्यन्त लोभलाग्दा थिए । सबै हाम्रो उर्जाको स्रोतहरु ! तर विडम्बना शहर अन्धकारमय छ । सयौं खोलानाला यसैगरी अविच्छिन्न बगीरहेका छन् । तर, हाम्रा योजना र योजनाकारले सिंहदरवार र योजना आयोगको छिडीलाई छोड्ने हिम्मत गर्न नसकेकोमा भने दुःख लागेर आयो । नेपाललाई माया गरेर भूगोलको पहिचान गरी हाम्रो सम्पदाको उत्खनन मात्र गरिदिएको भएपनि हामी कति सुखी हुने थियौं । हाम्रो राजनीतिले विकासको चिन्ता मात्र गरेको भएपनि हामी कति समृद्ध हुने थियौ होला । यो त एउटा स्वप्निल कथा मात्र होला झैं लाग्दछ । दिक्क लागेर आयो । बेनीमा रातभरी बत्ति गएको थिएन, कम्ति खुशी लागेन । “गाउँ शहर भएछ शहर गाउँ” ।
बस हुइकिदै थियो । ठाउँ ठाउँमा आकाश सांघुरिएको देखिन्थ्यो । हिमाली बाटो ठूला ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको छ । अजगंका ती पहाडहरु कुम्भकर्ण झै चीरनिद्रामा छन् । काठमाडौं आसपासमा झै खानी संचालनको नाममा जताततै चिथोरिएका छैनन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाती चिरेर निस्किएका झरनाले पीडा भन्दा आनन्द दिईरहेका छन, मुग्द बनाएका छन् यात्रीलाई । कति विशाल छ प्रकृतिको यो नियति अजंगका पहाडमा विष र विखम्बाको बीउ निख्रिएको छैन कल्याणको लागी ।
प्रकृति स्वधर्ममा छिन्, आफ्नो ममतालाई उत्पादनको विशाल फेरोमा प्रवृत्त गरिरहेकी झैं लाग्दछ । वनस्पतिय विविधता र नदीको सुसाईसँगसँगै लुकामारी खेलीरहेका चराचुरुङ्गीको रासलीला स्वादले देख्न पाईन्छ । प्रेम र मित्रताको बोलीलाई सुन्न पाइन्छ । लाग्दछ, यो धर्ती द्घन्द्घको मारमा कहिल्यै पर्नु परेनछ । काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन ।
बसको हर्नले बेलाबेला कल्पनाको सागरबाट बिउझाउँदथ्यो । बाहिर हेरेको त हामीले हिमाललाई दक्षिणतर्फ धकेली सकेछौं । आश्चर्य लाग्यो ।
घाँसा पुगेको पत्तो भएन । धौलागिरी पथ पर्यटकको लागि प्रख्यात भएको थाहा थियो । बीचबीचका साना बस्तीहरु समेतमा होटल व्यवसायको प्रविणता झल्कन्थ्यो । घरहरु सफा, टवाईलेटको प्रबन्ध । बत्ति र पानीको आपूर्ति व्यवस्थाले विकास र सभ्यताको परिचय दिन्थ्यो ।
घाँसामा धेरै गाडीहरु छन् । बेनी जाने, जोमसोम जाने । यात्रीहरुको भीड । खचाखच । समूह बनाउने, वुकिङ्ग गर्ने आदि सबै कार्य हतार हतारमा । हामी २९ जना भएकोले कुनै एउटा गाडी रिजर्भ गरेर जानलाई गाह्रो थिएन, गर्यौं र हिंडी पनि हाल्यौ । धुलाम्मे सडक लामो यात्राले गलिसकेका थियौ तरपनि एक किसिमको उमङ्गले पुल्लकित बनाएको थियो । गाडी अगाडी बढ्दै गयो जोमसोमलाई लक्ष्य बनाएर । हाम्रो अगाडी जोमसोमको तस्विर कुंदिदै गए ।
लेते पुगेपछि हामी नास्ता खानको लागी केहिबेर रोकियौ । बाहिरको दृष्यले लोभ्यायो । हिमालले हामीलाई निम्ता दिएझै लाग्दथ्यो, प्रकृतिसँग प्रत्यक्ष सात्क्षात्कार गर्न पाईने । नजिकैका हिमाल र हिमालबाट बहँदै आएका झरनाको दृष्यले मूटु छोयो । सबैले आ आफ्नो क्यामरामा कैद गरेर प्रकृतिलाई बन्दकमा राख्ने धृष्टता गरेर रमाउँदा कम्ति मजा आएन । फोटो कति खिचियो खिचियो । साच्चै आनन्द आएको थियो लेतेको एकक्षणको बसाई ।
जोमसोम पुग्नु अगाडी नै हामी रोमाञ्चित भयौ । हिमाल त नजिकै ! आहा कति दिव्य ! हामीले त एकक्षण कालीगण्डकीले कुंदेका फाँटहरुको मनोरम दृष्यलाई बिर्सिएछौ । त्यसरी नै प्रकृतिले श्रृंगार गरेर सुम्पिएका थुम्का ,बेसी, वनस्पतिक विविधता र बस्तका झुप्पाहरु । स्वर्ग त यहि रहेछ, ईश्वरको वासस्थान, त्यसैले भएको होला । मानमा उत्सुकता आयो के मुस्ताङ्गवासी सांच्चिकै रमाएका छन् ? के प्रकृतिले प्रदान गरेको अवसरको लाभभागी सबै होलान् ?के सबै कालीगण्डकीले प्रवाह गरेकी पवित्र जलका अंशियार हुन् ? कैलाशबाट प्रदत्त अमृतका सोपानीहरु !
कस्तो ठाउँ ! आगन्तुक हाँसेका छन्, प्रकृति हाँसेकी छन, देवताहरु हाँसेका छन्, नदीनाला खोला बजार डाँडाकाँडा सबै हाँसेका छन्, प्रेमभाव पस्केका छन् । पहाड र बस्ती, समाज र संस्कृतिले एकआपसमा आलिंगन गरेका छन । त्यहाँ कोही छुट्टै जातजाति छैनन् नत धर्म र वर्ण विभेद ! असमानता कर्ममा मात्र छ त्यहाँ । सबै खुशी छन् त्यहाँ । अतिथि खुशी । आतिथ्य गर्न पाएकोमा स्थानीय खुशी । सबैको घरमा लक्ष्मी पसेकी छिन् । लाग्दछ, तपस्वी पनि त्यहाँ पुगे हराउने छन् जस्तो लाग्छ । त्यही देवलोक होला ! हामी पनि सायद देवलोकमा थियौ ।
जोमसोममा हामी धेरै बस्न पाईएन । सदरमूकाम भएपनि ठूलो रहेनछ । सेवाग्राही कमै होलान् । सरकारी अड्डा धाउनेभन्दा आफ्नो व्यवसाय राम्रोसँगले चले त भै गयो नी । गरेकै छन् । लोडसेडिङ्ग रहेनछ । खुशी लाग्यो । ढिलो भैसकेको थियो, बेलुका राम्ररी बस्ने गरी मुक्तिनाथ लागियो ।
मुक्तिनाथ हाम्रो यात्राको उत्कर्ष । उत्तरतिरको हाम्रो यात्राको अन्तिम बिसौनी । अन्ततः हामी मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर । भगवान नारायणको बासस्थान । त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन, अत्यन्त सुन्दर । त्यसैले होला माहात्मा, साधुसन्त, भक्त प्रशासक, राजनीतिज्ञ, उद्योगी, व्यापारी, कलाकार, सर्वसाधारण सबैको आस्थाको पुञ्ज । मुक्तिनाथ की सेविका झुमाको भक्तिप्रति कसैको शंका छैन । न त उनको जातको पर्वाह छ । सबैको प्रशंसाकी पात्र हुन् झुमा ।
हास्य कलाकार हरिवंशले कुदेर १०८ धाराबाट स्नान आदि कार्य गरेको नेपाली फिल्म क्षेत्रको सानो पर्दामा हेरेको थिए । हामीले पनि दौडेर पुरा गर्यौे त्यो कार्य । टाउको खाने चिसो रहेछ । त्यसपछि कुण्डमा डुबुल्की मार्नु पर्ने अरे, चिसोको पर्वाह नगरी मारियो । पुजा कायर्, भक्ति र पे्रमभावले आ आफ्नो मूल्य, मान्यता र स्वधर्म अनुसार सम्पन्न गरियो । शालीग्राम खरिद गरेको थियौ । स्नान गराई मुक्तिनाथमा चढांई सुध्द गर्यौ । धेरै फोटो खिचियो । कति धेरै धेरै प्रकृतिलाई जिस्क्याउने भोक थियो ।
त्यो साच्चिकै अकल्पनिय यात्रा थियो । त्यसैले पनि रोमाञ्चित हुनु स्वभाविकै थियो । फेरी आइपुग्ने नपुग्ने संयोग मात्र भएकोले धितमरुन्जे भगवानको समीपमा बसियो । नारायणको मन्दिर माथी, तल कालीगण्डकीले अविच्छिन्न शालीग्राम पस्कँदै प्रवाहित हुनु संयोग मात्र कहाँ हुन्थ्यो र ? सत्य थियो, त्यो लिला हैन भक्तलाई कृपा थियो भगवानको । भित्र देखिनै आनन्द लागेर आयो । त्यही सेवा गरेर बस्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाही मनमा आउथ्यो । प्रकृतिको त्यो अनन्त स्वादपान गरेर । हामीले त्यहाँ भरपुर आनन्द अनुभूत गर्यौ ।
समयले नेटो काटीसकेको थियो । बेनीबाट हिडेको दिन नै हामीले मुक्तिनाथ दर्शन गरी जोमसोम आउने व्यवस्था गरेकोले अलिक व्यस्त त हुने नै भयो । विहान खाजा खाएकोले कागवेनीमा श्राद्ध गर्न पाईएन । पितृ भक्तिको त्यो मार्ग चै अधुरै रह्यो । ३८१० मीटरको उचाईमा भएकोले होला मौसम पविर्तन भैरहँदो रहेछ । हिउ फुस्फुसाउन थाल्यो । जाडो ह्वत्तै बढ्यो । त्यसैले गर्दा हामी पनि हतार हतार गरेर तल झर्यौ, गाडीको बन्दोबस्तो भयो । छोड्यौ मुक्तिनाथ बाबालाई । मन अमिलो भएर आयो ।
फर्कदा हाम्रो गाडीमध्ये अघिल्लो गाडीको पछाडी पट्टीको चक्का खुस्किएर कालीगण्डकीमा पुग्यो । डा्रईभरले भित्तामा गाडी जोते । धन्य धन्य बाँचियो एउटा भयंकर दूर्घटनाबाट । प्रभुको कृपा भएरमात्र हामीले जीवन पायौ । अन्यथा त्यो अकल्पनिय हुन्थ्यो । १३ जना साथीलाई हामीले कालीगण्डकीको गर्भमा छोड्नु पर्ने । ठूलै दूर्घटनाबाट मुक्ति पाईयो । जोमसोम आईपुगुन्जेलसम्म यो दृश्यले छोडेन । दोहोराई तेहराई आईरह्यो ।
जोमसोम फर्कदाको बासस्थान । रमाईलो गरी बिताईयो त्यो चैतको २६ गते रातलाई । बिहान बेनीतर्फ लागियो । मुक्तिनाथ दर्शनपछि युद्ध जितेको अनूभूति थियो । बेनीमा खाना खाएर लघु उद्यमीसँग छलफल गर्यौ । पेशामा रमाएका रहेछन् । बेनी बजारको परिक्रमापछि हामी बाग्लुङ्ग भगवतीको दर्शन गर्ने गरी हिड्यौ । बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो । बागलुङ भगवतीको दर्शनले मन आनन्दित बनायो । ठूलो आस्था रहेछ, त्यहाँकाा बासिन्दामा । मैले पहाडी क्षेत्रमा त्यत्रो व्यवस्थासहितको प्रबन्ध देखेको थिईन । भरपुर दर्शन गरियो । त्यो दिन हामी पर्वतमा बस्यौ ।
२७ गते हामी पोखरा लाग्यौ । लुम्ले कृषि फर्मको अवलोकन गरियो । कृषि विकासको लागी नेपालले गरेको अनुसन्धानको जानकारी प्राप्त भयो । खुशी लाग्यो । विन्ध्यावासिनी भगवतिको दर्शनपछि पोखरामा खाना खाईयो । त्यसपछि नगरपालिका गयौ । मेघनाथ जीले आतिथ्य गर्नु भयो । फेवालेकमा केहीबेर घुम्यौ । डुङ्गगा चढ्ने रहर मेटियो । देवीदर्शन गरेर हामी फर्कियौ । बेलुका मेघनाथ जीले डिनरको निम्ता दिनु भएको थियो । झुम्यौ केहीबेर दोहोरीमा । स्वादिष्ट खानासँगै बिताइयो पोखराको रात ।
भोलीपल्ट मनकामना दर्शनको चांजोमिलाई हिड्यौ । बाटोमा एउटा कविता फुर्यो । शब्द त थुपारे तर भाका मिलाउन सकिन । काठमाडाैं आएपछि ऋषिजी कार्यक्रम अधिकृतको सहयोगले यात्रीको पहिचानलाई कवितामा यसरी भरे ।
उत्सुकतासाथ प्रस्थान गन्तव्य मुक्तिनाथको
सहभागीहरु उन्तीस, कस्तो संयोग पर्यो अहो !
मनोवेगी भई आफ्ना भावनामा नअल्झिई
अन्ताक्षरी र दोहोरी स्वच्छन्दपनमा डुवी ।
चल्यो यात्रा गयौं हामी मन्त्रमुग्ध हुँदै हुँदै
चल्यो हावा पुग्यौं हामी नाच्दैं गाउँदै रमाउँदै ।
प्रकृति प्रेम धेरै छ, राष्ट्र प्रेम विशेष छ ।
विविध संस्कारको साथै हिमाली परिवेश छ ।
नेपाली भूमिमा टेकी नेपाल घुम्नु पदर्छ
यस्तो भयो भनेमात्र हाम्रो क्यै शान बढ्दछ ।
बाटाघाटा सहज छैनन अनकण्टार दुर्गम
सानो र साँघुरो मार्ग बस गुड्दा बिर्हगम ।
विकासकोे अभिभारा अविच्छिन्न कर्म जो थियो
नेतृत्व यात्राको भयो स्वीकार म दीलिपको ।
जनार्दनको स्वर प्रिय शान्ताले खाप्दा अहो !
कामना ज्योति उल्झन्छ श्रृगांर रसमा छ सो !
गोविन्दराज हुन हाम्रा आत्मीय प्रेमका घर
गर्छन आनन्दको बर्षा माया सवैमा बराबर ।
मीना माया पद्मा सँगै सरिता कल्पना आखिर
रितिका संरक्षा सबका प्रिय छन् सदावहार ।
अछामी केशव राम्रा उत्तम असल बेश छन् ।
श्री सिद्दिबहादुर आफ्नो उद्योगधन्दा चलाउछन् ।
श्री विष्णु उद्घव कृष्ण घनश्याम दिनेश र
रविन्द्र लोक रमेश दङ्ग पर्दै सरासर ।
राजेन्द्रको मीठो हाँसो चटनी नै यहाँ भयो
दिक्पाल हुन् कुशल चालक यात्रा जो रमाईलो भयो ।
सरिता शान्ता कल्पना प्रिय सबका जनार्दन
सवैको भक्ति एकै छ पुर्याई देउ मनकामना ।
दमौली आउनु अगाडि हो क्यार ! रोड होटलमा हामीले नास्ता खायौ । होटलको व्यवस्था र सरसफाईले मुग्द बनायो । हो, विकास यसरी नै हुने हो । देश दुनियाँले गरेको प्रयोग र व्यवसाय नौलो लागे पनि अन्ततः त्यसले निरन्तरता पाउँदछ । मजाले नास्ता खाईयो । बगैचामा धेरै फोटोहरु खिचिए । मनकामना निरहार दर्शन गर्नेले खाना खान मानेन् बाँकीले खायौं । यसपाली मनकामना गाडी लिएर गएको थियौ । अप्ठेरो बाटो रहेछ तर पुगियो । माताको आशिर्वाद लिएर आयौ ।
चार दिनको यात्रा थाहा नपाई बितेछ । छुट्टिनेभन्दा ज्यादै नरमाइलो लागेर आयो । सबैलाई भावुक बनायो । परिवारको सदस्यलाई बिदा गर्दाको पीडाबोध भयो । परेला भिजेर हाए । वाक्य फुटेन । मनले भन्छ, फेरी यस्तै यात्रा कहिले गर्न पाइएला ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिदाइरहेको सरकार र संसदलाई प्रेमप्रसादले छाडेका प्रश्न !
माघ ११, २०७९ बुधबार
यस्ता छन् प्रधानन्यायाधीश जबरामाथि लागेका २१ आरोप
फागुन १, २०७८ आइतबार
भारतपरस्त देउवाकाे नेतृत्व भएपनि नेपाल–चीन सबल सम्बन्ध
साउन ७, २०७८ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार