सम्पति शुद्धीकरणः पशुपति विकास कोषका एक सञ्चालकको कुल सम्पति १ अर्ब २५ करोड भेटियो
नेपालबहस संवाददाता
जेठ ९, २०७८ सोमबार २:३१:४५
९ जेठ, काठमाडौं । “कही नभएको जात्रा हाँडीगाउँ”मा भनेजस्तै पशुपति क्षेत्रभित्र पनि विभिन्न जात्राहरु हुने गर्छन्। अहिले पशुपति क्षेत्रमा सबैले देखिरहेको जात्रा चाहिँ नवनियुक्त पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य देवीप्रसाद बरालले देखाएको जात्रा हो ।
कुरा सुरु हुन्छ, उनको नियूक्तिबाट । कांग्रेसका केही नेताहरु साथै तत्कालीन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ठुलो आर्थिक प्रभावमा पारी योगेश भट्टराई पर्यटनमन्त्री हुँदा उनले सदस्यताको नियूक्ति लिन्छन । सतापक्ष एमालेभित्रबाट साथै स्थानीय तहबाट धेरै ठुलो विरोध भैसकेपछि नियूक्तिपत्र उनको गोजीमै थन्किन्छ साथै नियुक्ति हुने सपना तुहेर जान्छ । यस्तो रोग छ, बरालमा कि कुनै सरकारी संस्थाको राजनीतिक नियूक्ति हुने पद खाली देख्नै हुँदैन, बरालका त्रिनेत्र खुलिहाल्छन् ।
पशुपति क्षेत्र विकास कोषमा कमिशन र भागवण्डा खाेज्दै बराल
उता उदयपुर सिमेन्ट कारखानामा परिषद सदस्यको पद खाली देखेपछि लाहानका ठुलै हार्डवेर व्यवसायीको आर्थिक कसरतमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नियुक्ति लिएर देवीप्रसाद बराल उदयपुर पुग्छन । लहानका मित्तल थर भएका व्यवसायीसँगको साँठगाँठ भने बराल नेपाल आयल निगमको कर्मचारी रहँदादेखि नै थियो । तर उनको जात्रा यतिमै सकिदैन् ।
यता पर्यटन मन्त्री भानुभक्त ढकाल भएसँगै फेरी पशुपति क्षेत्र विकास कोषमा परिषद सदस्य हुने अधुरो सपना पुरा गर्नतर्फ लाग्छन । भानुभक्त ढकालसँग मेरो अपुरो नियूक्ति पुरा गरिदिनु भनि पाउ पर्छन । आर्थिक साँठगाँठमा खप्पिस खेलाडी बरालले आर्थिक मन्त्र प्रयोग गरि मन्त्री र सचिवलाई खुशी पारेर यसपटक सफलतापूर्वक नियूक्ति लिन्छन । अचम्मको कुरा के भने उदयपुर सिमेन्ट कारखानाको बोर्ड सदस्य हुँदाहुँदै पशुपति क्षेत्र विकास कोषमा सदस्य नियूक्ति गर्नु कानुन विपरित हुन्छ ।
दुई वा दुई भन्दा बढी सरकारी निकायको परिषद सदस्यमा एकैपटक नियुक्ति हुने प्रावधान कानुनमा छैन । सेवा, सुविधा, भत्ता लिएपनि, नलिएपनि एक भन्दा बढी निकायमा यसरी नियुक्ति दिनु कानुन् विपरित हो । यसको नियुक्तिसँगै मन्त्रालयभित्र आन्तरिक रुपमै ठुलो अन्तर विरोध भएको थियो । यसरी नियुक्ति भएको पाइएमा सबै निकायको नियुक्ति खारेजी हुने प्रावधान रहेको छ ।
वास्तविक जात्रा त बल्ल सुरु हुन्छ, उनको व्यक्तिगत छवि जतिनै नराम्रो भएपनि कोषका कर्मचारीहरुले स्वागत गर्न बाध्य हुन्छन । उनी नियूक्त भएको तेस्रो दिन कोषका अन्य सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममै बरालले प्रश्न र प्रस्तावको वर्षा गर्छन । सदस्यहरुले पाउने सेवा सुविधा थप गर्नुपर्ने, भत्ता बढाउनु पर्ने, हरेक सदस्यलाई महिन्द्राको स्कर्पियो गाडी किनिदिनु पर्ने, हरेक सदस्यले स्वकीय सचिव राख्ने र सो स्वकीय सचिवको सम्पूर्ण सेवा सुविधा कोषले गर्नुपर्ने, उदाहरणको रुपमा रास्ट्रिय योजना आयोगका सदस्यहरुको जतिकै सेवा सुविधा अनिवार्य रुपमा पाउनुपर्ने माग मन्त्रालयमा सम्पूर्ण सदस्यहरु मिलेर पेश गर्नुपर्ने प्रस्ताव गर्छन ।
साथै ठेक्काको कति प्रतिशत कमिशन आईरहेको छ । भागबन्डा कसरी हुन्छ ? आफुलाई ठेक्का कसरी पार्ने ? चलिरहेका ठुला परियोजाना के के छन् जस्ता प्रश्न पनि गर्छन ? यदि हामी सदस्यहरु एकढिक्का भएर काम गर्न सक्ने हो भने बार्षिक रुपमा धेरै ठुलो आर्थिक आम्दानी गर्न सकिने र हाम्रो सचिवालयलाई हाम्रै अनुकुलमा नचाउन सकिने भनि प्रलोभन देखाउछन । उनको कुरा सुनेर सबैजना अचम्मित पर्छन । मन्दिरमा सेवा गर्न आउनुभएको हो कि, ठेकदार बन्न ? जस्ता प्रश्न अर्का सदस्य ध्रुव उप्रेतीले गरेपछि दुई सदस्यहरु उप्रेती र बराल बीच ठुलो चर्काचर्की नै पर्छ ।
अख्तियारका मुद्दाहरु मिलाउने भन्दै कोषका कर्मचारीसँग ब्ल्याकमेलिङ
सो बैठकमा उनको कुराको प्रभावले सदस्यहरु मध्ये आशा पाण्डे र भगवतीप्रसाद देव निकट हुन पुग्छन र केही समयपश्चात नियूक्ति भएका उद्धवप्रसाद बडालले समेत बराललाई साथ दिन्छन् । ३ जना सदस्यलाई आफ्नो पकडमा पारिसकेका बराललाई अब कोषका कर्मचारीहरुलाई हातमा लिनु थियो । उनले विभिन्न ठुला प्रशासकदेखि मन्त्रीको नाम लिएर सरुवा बढुवा गराउन सक्ने, अख्तियारमा लागेका मुद्दाहरु समेत मिलाउन सक्ने भनि कर्मचारीहरुलाई प्रभावमा पार्ने काम सुरु हुन्छ ।
कोषका कर्मचारीहरु मध्ये मानव संसाधन महाशाखा प्रमुख निर्देशक भोलाप्रसाद सिटौला र योजना महाशाखा प्रमुख निर्देशक भरत मरासिनीलाई भने अनुसारको पैसा खर्च गर्न सकेमा पद खाली भएसँगै अथवा जस्तोसुकै साम, दाम, दण्डभेद लगाएर भएता पनि चाँडो भन्दा चाँडो कार्यकरी निर्देशक तथा कोषाध्यक्ष पद दिलाउने प्रलोभन देखाई आफ्नो हातमा लिन्छन, पद खाली कसरी गराउने र पदमा कसरी नियुक्ति दिने सबै पहुँच र क्षमता आफूसँग भएको दाबी समेत गर्छन ।
यतिसम्म पनि कि उक्त पदमा बसी काम गर्न सहज बनाउन सचिव समेत आफू निकटकै नियुक्ति गर्न जस्तोसुकै कसरत समेत गर्ने भन्छन् । बरालको निमन्त्रणामा विभिन्न ठुलाठुला व्यापारी तथा ठेक्केदारहरुसँग तारे होटेलको बन्द कोठामा भरत मरासिनी, भोलाप्रसाद सिटौलाहरुको उठबस चल्ने गरेको जानकारी विभिन्न श्रोतहरुबाट प्राप्त भएको छ ।
ठेक्काको कमिशन नमिलेमा आफ्नो शाखामा आएका फाइलहरु अगाडी बढ्न नदिने, अड्काउने, लुकाउने, अग्रिम रुपमा कमिशन पेश नगरेसम्म काम ठप्प पार्ने र, उता भोला सिटौला भने आफुले भने अनुसारको काम नगर्ने कर्मचारीलाई तुरुन्तै सरुवा गराउने धम्की दिने, करारमा भएका कर्मचारीहरुको करार अवधि थप नगर्ने भन्ने, आफ्नो मर्जीको कामहरु गर्दै आएको भनि नाम नखुलाउने शर्तमा कोषका एकजना कर्मचारीले बताए ।
भरत मरासिनीले अवैध रुपमा कमाएको ठुलो धनराशी साउथ ह्याम्टन लण्डनमा बस्ने आफ्ना भाई रमेश मरासिनीको नाममा राख्ने गरेको श्रोतले जनाएको छ । त्यस्तै कोषको योजना शाखाबाट हुने सम्पूर्ण परियोजना, ठेक्का लगायतको कमिशन, भागबन्डा, पैसा उठाउने कामहरु योजना प्रमुख मरासिनीकै दाईने हात मानिने कोषका प्रमुख सिभिल इन्जिनियर केदार थपलियाले गर्दै आएका छन् । ठेक्केदार र मरासिनी बीचको दुरी घटाउने र सम्बन्ध निकट बनाउनेमा उनी मायिर खेलाडी हुन ।
यसै आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने कोषकै एउटा परियोजना अन्तर्गत भवनको म्एच् को फाइल करिब छ महिनासम्म आफ्नो दराजमा थन्काएर राखेका थपलियाले कन्सल्टेन्सीको समुहले मन्त्री स्वयं भानुभक्त ढकाललाई दवाव दिएपछि कोषसम्म एउटा तरंग पैदा भएपछि मात्र थपलियाले भुक्तानीको लागि पेश गरेका थिए । कमिशन नमिल्दा काम रोक्ने खेलमा थपलिया कहिले दोश्रो हुँदैनन् ।
कोरोना कहरकै बीच केही महिना मात्रै अगाडी पेप्सीकोला टाउनप्लानिंगमा ६ आना घडेरी र गाडी समेत जोडेको गाइगुई हल्ला कोषकै सहकर्मीहरुबाट सुनिन्छ । यो सबै काम थपलियाले मरासिनीको आडमा गरेको देखिन्छ । छोटो समय सरकारी निकायमा काम गर्दा पनि धेरै ठुलो धनराशी जोड्ने मध्यमा थपलिया पनि एक हुन ।
पुर्व लेखा प्रमुख प्रेमहरि ढुंगानाको अवकाशसँगै हालसालै लेखा प्रमुख बनेका चन्द्र खनाल पनि पछिल्लो समयमा परिषद सदस्य बराललाई बेला बेला गोप्य रुपमा सम्पर्क गरेर नीतिगत, कार्यगत र योजनागत रुपमा कसरी कोषको मुद्दती खातामा रहेको अरबौ रुपैयाँबाट कमिशन प्राप्त गर्ने भनि आफु निकट बैकहरुसँग नियमित भेटघाट तथा छलफल गर्न जाने गरेको जानकारी प्राप्त भएको छ । प्रायः जसो खनाल कार्यालय भन्दापनि धेरै राजनीतिक भेलामा बिताउन रुचाउँछन ।
विचाराधीन मुद्दा मिलाउन करोडौंको चलखेल
पशुपति क्षेत्र विकास कोषसँगै रहेको अमालकोट कचहरीले कोष स्थापनासँगै कोषको सम्पूर्ण जग्गा सम्बन्धि काम गर्ने गर्छ । अमालकोट कचहरीका शाखा प्रमुख गौरीशंकर पराजुलीलाई समेत कमिशनको प्रलोभनमा पारी अति संवेदनशील जग्गा र मुद्दाका कागजातहरु बरालले हात पारिसकेका छन् । कोषको हजारौ बिगा जग्गा देशभरी छ । जग्गा सम्बन्धी रहेका विचाराधीन मुद्दा मिलाउन करोडौंको चलखेल हुने आंकलन सहजै गर्न सकिन्छ ।
बरालसँग निकट अर्का सदस्य भगवतीप्रसाद देव भने कोषमा आउनु पुर्व डिल्लीबजार नापीमा अधिकृतको रुपमा लामो समय काम गरेका तथा अनियमितता र भ्रस्टाचारका धेरै मुद्दा र आरोप खेप्दै आएका व्यक्ति छन् । नापीमा हुँदै करोडौं कुम्ल्याएका देव बारम्बार पशुपति गोठाटारको बालुवा प्रकरणमा मुछिदै आएका छन् । उनको अनुभव र आफ्नो कनेक्सनको फाइदा उठाउँदै कागजात हात परेका हुन । जुन चलखेलको जोड घटाऊमा देवीप्रसाद बराल रात दिन नभनी सम्बन्धित निकायमा अनवरत दौडिरहेका छन् ।
कोषका विभिन्न परियोजनामा काम गरिसकेका र गरिरहेका कम्पनीका डाइरेक्टरदेखि अध्यक्षसम्मलाई बरालले बारम्बार फोन गरेर पशुपतिको विकाश सम्बन्धि कुराकानी गर्नु छ भनि भेट्ने र भेटेपछि गोप्य कुरा गर्नु छ मोबाइल अफ गर्नुस भन्ने अनि कमिशन माग्ने, मिलेर काम गर्ने कि अख्तियार जाने लगायतका धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको गुनासो सेवाग्राहीहरुबाट सुन्नमा आउने गरेको छ । ठुला ठुला नेताहरु, मन्त्रीहरु, विभिन्न निकायका प्रमुखसँग भएको फोन कलको रेकडिंङ्ग सुनाउने र आफ्नो पहुँचको प्रदर्शन उनले गर्ने गर्छन ।
सुनको जलहरी राख्नेदेखि विभिन्न ठेक्का आफन्तलाई दिन दबाब
हालसालै पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राख्ने क्रममा सुनको जलहरी साथै विभिन्न ठेक्काहरु आफ्नो श्रीमान र देवर संलग्न भएको कम्पनीलाई नपारेको भन्दै परिषद सदस्य आशा पाण्डे र उनलाई हरकदम साथ् दिने सदस्य बरालले कोषका कोषाध्यक्षसँग धेरै ठुलो भनाभन समेत गरेका थिए । देवी बराल र आशा पाण्डेले आफ्नो मर्जीको अनावश्यक परियोजना सफल पार्न आफु निकट एनजीओलाई कोषबाट ५ करोड उपलब्ध गराउनु पर्ने भनि माग गरेकोमा कोषले ठाडै अस्वीकार गरेको थियो ।
स्थानीयबासीसमेत रहेकी आशा पाण्डेले बेला बेलामा स्थानीयकै आड लिएर सर्वजानिक खरिद शाखालाई धम्कीको भाषा प्रयोग गर्ने गरेको कर्मचारीहरु बताउँछन । पछिल्लो समय गुमनाम रहेकी आशा पाण्डे पशुपतिमा सदस्य नियुक्ति भएसँगै पशुपतिको चन्दन र रुद्राक्ष बोकेर नेता तथा मन्त्रीको घरघरमा प्रसाद पुर्याई, प्रसाद लगिदिएको दक्षिणा स्वरूप विभिन्न निकायमा भनसुन गराउन लगाउँदै आइरहेकी छिन भने भारतबाट पशुपति दर्शन गर्न आउने ठुला ठुला उद्योगपति तथा व्यापारिक घरानाहरुबाट सेवा, दान, सहयोग स्वरूप बागमती सरसफाइको नाममा करोडौं रकम लिने गरेको समाचार स्राेतकाे भनाइ छ । जसको कुनै लेखाजोखा छैन ।
उता उदयपुर सिमेन्ट कारखानाको कोइला खरिद प्रक्रियामा आफु निकट भएका आसाम गुहाटीका एक कोइला व्यवसायीलाई उदयपुर सिमेन्ट कारखानाका उच्च पदाधिकारीहरुसँग भेटघाट तथा सेटिंग भइरहेको कुरा सोही संस्थाका एक कर्मचारीले जानकारी दिएका छन् । बरालको योजना अनुसारका परियोजनाहरुले निरन्तरता पाएमा संस्थाले मात्र नभई देशले नै अरबौंको घाटा व्यहोर्नु पर्ने लेखा शाखाका एक कर्मचारी बताउँछन ।
उदयपुरको हरेक काममा बाधा पुर्याउने, अनावश्यक छलफल गराउने, विवाद निम्त्याउने र कर्मचारीहरुलाई प्रलोभन देखाउने कुरा समेत जानकारीमा आएको छ । स्रोतका अनुसार यता पशुपति क्षेत्र विकास कोषमा बारम्बार बरालले सिर्जना गरेको आन्तरिक झगडा र विवादले गर्दा बरालको भ्रष्ट कदमलाई साथ दिन्न भनेर केही दिन अगाडी मात्र परिषद सदस्य ध्रुव उप्रेतीले राजीनामा दिएका छन् भने, अन्य एकजना सदस्यले पनि राजीनामा दिन गईरहेका छन् ।
मन्त्री ढकाललाई सहपाठी भन्दै ब्रम्हलुट गर्ने बरालकाे खेल
मन्त्री भानुभक्त ढकाललाई आफ्नो सहपाठी भन्न रुचाउने देवीप्रसाद बरालले भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा उनीमाथि लागेको स्वास्थ्य सामाग्री खरिद अनियमितता प्रकरणलाई मिलाउने सम्पूर्ण जिम्मा आफैले पाएको र आफुसँग येस्ता केश मिलाउने टीम रहेको निकतवर्तीहरुसँग गर्ने गरेका छन् भने बरालको काठमाडौँ बालाजु बाइपास, बुढानीलकण्ठ, सातदोबाटो साथै दमक, चितवन र इलाम गरि ५ ओटा घर, १ ओटा व्यवसायिक भवन र बालाजुस्थित एउटा प्लस टु कलेजमा राम्रो पार्टनरसिप समेत रहेको छ ।
यस्तै क्रसर उद्योगमा पनि बरालको संग्लनता रहेको बताइनछ । उनको दमक इन्डस्ट्रियल पार्कसँगै धेरै ठुलो जग्गामा प्लाटिंगको व्यवसाय समेत संचालन भइरहेको जानकारी प्राप्त भएको छ । उनले बर्षौदेखि भ्रस्टाचार गरि आर्जन गरेको अकुद सम्पति श्रीमती तथा भाई-भदाहाहरुको नाममा रहेको श्रोतले जनाएको छ ।
अनियमितताको खेलमा अब्बल प्रस्तुति दिने बरालको कुल सम्पति १ अर्ब २५ करोड रहेको मुल्यांकन श्रोतले जनाएको छ । जडिबुटी उत्पादन प्रशोधन केन्द्र, नेपाल आयल निगम लगायत विभिन्न निकायमा उनले गरेको भष्ट्रचारको आधारमा रहेर सिनेमा बनाउने हो भने उच्चस्तरीय सिनेमा बन्ने मजाक समेत गर्छन सम्बन्धित निकायका कर्मचारीहरु । बरालमाथि सम्पति शुद्धिकरणमा परेका उजुरी, अख्तियारमा परेका, र विभिन्न निकायमा गरेका भष्ट्रचारका मुद्दाले आजसम्म निकाश पाउन सकेको छैन । या भनौं फाइल नै गायब गरेर राखेका छन् । अरब भन्दामाथि सम्पति भएका बराल आफुलाई सरल देखाउन सामान्य पोशाकमा ढाका टोपी लगाएर पुरानो मोडलको मारुती ८०० चढेर हिड्छन् ।
पछिल्लो समय पशुपतिमा चढाइने दान, पर्यटक आगमनबाट हुने आम्दानी साथै आर्थिक कारोबारहरु बैंकसँग सहकार्य गरि अनलाइन प्रणाली सुरु गरि १० देखि १५ करोडको वार्षिक अनियमिततामा रोक लागेको छ । पछिल्लो समयमा जनतालाई पारदर्शी हुने गरि कोषको सम्पूर्ण सम्पति पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ साथै पछिल्लो ४ वर्षको समयावधिमा कोषको सचिवालयले कोषको कुनै पनि जग्गा लिज वा कुनै प्रयोजनले कसैलाई पनि दिने सम्झौता गरेको छैन् ।
पशुपतिको सरसफाइमा आएको परिवर्तनले पनि आम भक्तजन एवं पर्यटकहरुले समेतअनुभूति गरिरहेको छन् । सुरक्षा क्षेत्रमा पनि उत्तिकै सुढृढ भएको छ । मानवसेवा आश्रमसँगको सहकार्यमा माग्नेरहित पशुपति बनेको छ । लागु औषध दुर्व्यसनीको प्रयोग गर्नेहरुलाई प्रयोग गर्न रोक लगाउने कार्यहरु पनि हुँदै आएका छन् । पशुपति क्षेत्र भित्र अव्यवस्थित रुपमा हुने पार्किंङ्गलाई पूर्ण व्यवस्थित गरि बाहिर पार्किंग क्षेत्र बनाइएको छ । भूकम्पले ढलेका सम्पदाहरु सचिवालयको दिनरातको मिहिनेतले उठिसकेका छन् । हरेक क्षेत्रमा हेर्दा सकारात्मक परिवर्तनको तीव्र बाटोमा छ पशुपति क्षेत्र विकास कोष ।
पहिलो लहरको कोरोना महामारीले विश्वनै आक्रान्त बनेको बेला नेपाल पनि अछुतो रहन सकेन । फलस्वरूप देश लकडाउनमा गयो । त्यसबखत पनि कोषले आफ्नो क्षेत्रमा रहेका बादरहरुलाई आहारा, परेवा पंक्षीलई चारो, पशु चौपायाहरुलाई आवश्यक आहारा निरन्तर व्यवस्था मात्र गरेन, काठमाडौँ उपत्यकाको सडकमा छरिएर रहेका गाई बस्तु तथा चौपायाहरुलाई उद्दार गरि गोठाटारमा रहेको जग्गामा उपचार तथा व्यवस्थापन गरि राखेको थियो ।
शवदहन रोक्ने षडयन्त्रमा तल्लीन, सीसीएमसीमै विवाद निकाले
अहिले दोश्रो लहरको कोरोना कहरमा भने कोषलाई संक्रमितको लास व्यवस्थापनमा जोड दिनु परेको छ । पक्कैपनि परिस्थिति जटिल छ, तर आवश्यक जनशक्तिको भरपुर प्रयोग गरि व्यवस्थापन चुस्तदुरुस्त बनाउन कोष सक्षम छ । यस सन्दर्भमा यता कोषकी सदस्य आशा पाण्डे भने पशुपतिमा लास जलाउँदा स्थानीयमा संक्रमण फैलिने र बागमती नदी फोहोर हुने जस्ता अफवाह फैलाउन लागिपरेकी छन् ।
अर्का सदस्य देवीप्रसाद बरालले चाहि सीसीएमसीका एक प्रतिनिधि, नेपाली सेनाहरु, सहयोगी संस्थाहरु, सचिवालय पदाधिकारीहरु बीचको संयुक्त बैठकमा कोरोना संक्रमितको लास व्यवस्थापन गर्नु कोषको हैन, राज्यको दायित्व हो । पशुपति क्षेत्र विकास कोषको कुनै टाउको दुखाइको विषय हैन । यदि कोषले व्यवस्थापन गर्नुपर्ने भए प्रतिलास रु.५० हजार बराबरको शुक्ल अनिवार्य लिनुपर्ने जस्ता प्रस्ताव राखेपछि सीसीएमसीका प्रतिनिधिले ठाडै अस्वीकार गरेर्का थिए ।
कोषका अन्य सदस्यहरुले समेत सो कुराको घोर विरोध गरेका थिए । उक्त विवादले बरालको र अन्य उपस्थित व्यक्तित्वबीच भनाभन नै परेपछि बैठक चल्दाचल्दै बीच मै बरालले बैठक छोडेर हिडेका थिए । आफुले काम गरेका कुनै पनि संस्थामा आफुलाई व्यक्तिगत लाभ हुने किसिमका कामलाई मात्र साथ दिने र अन्य कुनै पनि राम्रा काम हुन नदिने बरालका सबै क्रियाकलाप र कदमले यस्तो जनाउँछ कि देवीप्रसाद बराल बर्षौदेखी उनी सम्बन्धित निकायको आँखामा पट्टि लाएर रजाई गर्न सफल छन् । अब आउने दिनहरुमा बरालले उदयपुर सिमेन्ट कारखाना र पशुपति क्षेत्र विकास कोषमा कस्ता कस्ता नीतिगत भ्रस्टाचार गर्छन, हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार