कोरोना उपचार निःशुल्क गर्ने भन्दै झुटो प्रचारमा गल्याङ नगरप्रमुख अधिकारी (भिडियोसहित )

नेपालबहस संवाददाता
जेठ १८, २०७८ बुधबार ०:४५:३३

१८ जेठ, स्याङ्जा । गण्डकी प्रदेशमै कोभिडको दोस्रो भेरियण्टबाट मृत्यु हुनेको संख्या उच्च भएको गल्याङ नगरपालिकाले कोभिड बिरामीहरुको उपचारमा ध्यान दिनुको सट्टा झुटो प्रचारबाजीमा लागेको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाका नगरप्रमुख भूपराज अधिकारीले विभिन्न मिडियामा दिएको तथ्यहरुले नै उनको सफेद झुट सावित भएको हो ।
झुट नम्बर १ :- कोभिड बिरामी बोक्न नगरप्रमुखको गाडी प्रयोग गरिनेः
कोभिड बिरामी बोक्न उपलब्ध गराउने भन्दै विभिन्न मिडियामा छाएको नगर प्रमुखको गाडीमा भने नगरप्रमुख आफै सवार छन् । गण्डकी प्रदेशमै मृत्युदर अत्यधिक भएको नगरपालिकाले काम भन्दा झुट बोल्नमा धेरै समय खर्चेको नगरबासीको आरोप छ ।
कोभिड बिरामी बोक्न नगरमा केही दिन पहिले गाडी अभाव भएपछि नगरपालिकाको स्वास्थ्य शाखामा गाडीको जोहोको लागि बुझ्दा नगर प्रमुखको गाडी कोभिड बिरामी बोक्न प्रयोग नगरिएको जनाइएको थियो । बिरामी बोक्न गाडीलाई केही मोडिफाई गर्नुपर्छ र गाडीमा अक्सिजन जडान गर्नुपर्छ, त्यो केही नगरिएको हुँदा हाल नगर प्रमुखको गाडी उहाँले नै प्रयोग गरेको सो शाखाले जानकारी दिएको थियो ।
विभिन्न मिडियामा त नगर प्रमुखको गाडी कोभिड बिरामी बोक्न प्रयोग गरिने भनिएको छ नी ? भन्ने हाम्रो प्रश्नमा उनले नगरप्रमुखले कसरी भन्नुभयो, हामीलाई थाहा छैन भन्ने जवाफ आएको थियो । कोभिड बिरामीलाई नगरप्रमुखको गाडी उपलब्ध गराउने जानकारी नगरपालिकाको स्वास्थ्य शाखालाई थाहा नभएपनि मिडियामार्फत बाहिर भने व्यापक प्रचारप्रसार गरिएको थियो ।
झुट नम्बर २ः नगरबासीलाई कोभिड उपचार निशुल्क गराउने भनेपनि उपचारका नाममा मनग्ये पैसा लिनु:
गल्याङ नगरपालिकाले कोभिड बिरामी उपचारको नाममा मनग्ये पैसा लिने गरेको पाइएको छ । तर नगरप्रमुखले भने एक भिडियो सार्वजनिक गर्दै नगरबासीलाई कोभिड उपचारको निशुल्क व्यवस्था मिलाएको जनाएका छन् ।
नगरपालिकाको मातहतमा गल्याङ नगरपालिका – ३ बल्पुकमा रहेको गल्याङ सामुदायिक अस्पतालले कोभिड उपचारको नाममा ६० हजारसम्म लिने गरेको तथ्य बाहिर आएको छ । निजी क्षेत्रबाट संचालन गरिएको उक्त अस्पताल नगरले आफ्नो मातहतमा लिएर नागरिकको सेवा गर्ने बताएपछि नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । उक्त अस्पताललाई नगरपालिकाले हाल कोभिड अस्पतालको रूपमा संचालन गरेको छ ।
नगरपालिकाको एक मात्रै कोभिड अस्पतालमा पुगेर उपचार गराएका बिरामीले उच्च शुल्क तिर्न परेपछि गुनासो गरेका छन् । आसपासमा स्थानीय तहले कोभिड उपचार निः शुल्क गरिरहेका बेला गल्याङ नगरपालिकाको मातहतमा रहेको अस्पतालले रकम लिनु जनताप्रति स्थानीय सरकार जिम्मेवार बन्न नसकेको स्थानीयको आरोप छ ।
उक्त अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका गल्याङ नगरपालिका – घ, तल्लो गल्याङस्थित जगन्नाथ भुसालका आफन्तले दुई रात तीन दिनको १६ हजार रुपैयाँ तिरेको गुनासो गरेका छन् । त्यस्तै उपचारपछि घर फर्किएकी गल्याङ नगरपालिका ११ जिमुवाकी सावित्रा कंडेलले ४३ हजार ९ सय २५ तिरेको गुनासो गरेकी छन् । त्यस्तै गल्याङ नगरपालिका ११ जिमुवाका राजन अधिकारीले आमाको उपचार गर्दा ३४ हजार तिरेको नेपालबहसलाई बताए।
नगरपालिका आसपासका स्थानीय तहले एम्बुलेन्स समेत निः शुल्क उपलब्ध गराइरहेको बेला गल्याङ नगरपालिकाले कोभिड बिरामीको उपचारका नाममा यत्रो रकम लिन नहुने तर्क छ, उधोग बाणिज्य महासंघ गल्याङका अध्यक्ष यज्ञ अर्यालको । “विभिन्न संघ संस्थाले सहयोग गरेको सुनिएकै छ । श्रोत अभाव भए अझै जुटाउन तिर लागौं, यस्तो बिषम परिस्थितिमा व्यापार नगरौं ।” अर्यालको भनाइ छ ।
यसरी छताछुल्ल भयो झुटको पुलिन्दा:-
गल्याङ नगरपालिकासँग सीमाना जोडिएको वालिङ नगरपालिकाले कोभिड बिरामीको उपचार मात्रै नभएर एम्बुलेन्ससमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपालबहससँग कुरा गर्दै वालिङ नगरपालिका प्रमुख दीलिप प्रताप खाँडले बिरामी कुरुवालाई समेत ४ टाइम निःशुल्क खाना खुवाउने गरेको बताए । उनले भने,“ बिरामी अस्पताल आएदेखि निको भएर घर जाने समयसम्म एक रुपैयाँ पनि खर्च हुँदैन सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने गरेको छ ।”
त्यस्तै गल्याङ नगरपालिकासँग अर्को सीमाना जोडिएको कालीगण्डकी गाउँपालिकाले पनि कोभिडको सबै उपचार निःशुल्क गर्दै आएको छ । नेपालबहससँग कुरा गर्दै गाउँपालिका अध्यक्ष खिम थापाले कोभिड बिरामीको सम्पुर्ण उपचार खर्च पालिकाले बेहोर्ने गरेको बताए । “हामीले कोभिड अस्पतालको कुनै शुल्क लिएका छैनौ” थापाको भनाइ थियो ।
यसरी छताछुल्ल भयो झुटको पुलिन्दा:-
आसपासका अन्य स्थानीय तहले निःशुल्क उपचार गराइरहे पनि गल्याङ नगर अस्पतालले निःशुल्क उपचार गर्न नसकेको स्वीकार गर्छन गल्याङ नगर अस्पतालका प्रमुख थानापती न्यौपाने । उनले अस्पतालको खर्च धान्न नसकिने हुँदा कोभिड बिरामीबाट पैसा लिने गरेको बताए ।
तर जिल्लामा कोभिड बिरामीको उपचारमा पैसा लिएको भन्ने गुनासो अहिलेसम्म नआएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको भनाइ छ । “११ स्थानीय तह भएको जिल्लामा कोभिड उपचारको लागि पैसा लिएको भन्ने यो पहिलो गुनासो हो” नेपालको भनाइ थियो । उनले यसबारेमा आफुले बुझेर मात्रै अन्य प्रतिक्रिया दिने पनि बताए । हाल अस्पतालमा कोभिड र नर्मल दुबै सेवा संचालन हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार